विमानस्थल विस्तारको औचित्य
विगतमा ‘च्याप्टर क्लोज’ गरिएको सुर्खेत विमानस्थल विस्तारको चर्चा फेरि चुलिएको छ । वीरेन्द्रनगर नगरपालिकासहित यहाँका सरोकारवालाहरू विस्तारको पहलमा जुटेका छन् । मंगलवार सर्वदलीय÷सर्वपक्षीय बैठकमार्फत विमानस्थल विस्तारका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरिएको छ । यसले विगतमा बन्द गरिएको विमानस्थल विस्तार योजनाको ढोला फेरि खुलेको छ । यद्यपि यो वीरेन्द्रनगरस्थित सरोकारवालाहरूको पहलको कुरा हो, योजना अघि बढ्ने कुराको टुँगो अहिले छैन । यसका लागि संघीय सरकार तयार हुनुपर्दछ । विमानस्थल निर्माण वा विस्तारको विषय संघीय सरकारको अधिकारक्षेत्रभित्रको कुरा हो । स्थानीय वा प्रदेश सरकारले आवश्यक समन्वय तथा पहल गर्न सक्दछन् । सर्वपक्षीय छलफलमार्फत वीरेन्द्रनगर नगरपालिकाले त्यही पहल थालेको छ ।
सुर्खेत विमानस्थलबाट अहिले बुद्ध एयर र श्री एयरका ७० देखि ८० सिट क्षमताका जहाज नियमित सञ्चालनमा छन् । सुर्खेत–काठमाडौं उडान गरिरहेका छन् । यद्यपि प्राविधिक रूपमा धावनमार्ग साँघुरो भएको भन्दै यसलाई अझै तीन सय मिटर विस्तार गर्नुपर्ने जनाइएको छ । ठूला जहाज अवतरण गराउन धावनमार्ग विस्तारको कुरा विगतदेखि नै उठ्दै आएको विषय हो । जसअनुसार उत्तरतर्फ तीन सय मिटर विस्तार गर्ने योजना कार्यान्वयनको चरणमा पुगेको थियो । तर प्रभावित क्षेत्रका नागरिकले विरोध गरेपछि कार्यान्वयन हुन सकेन । वीरेन्द्रनगर नगरपालिकाले अहिले धावनमार्ग विस्तार गर्न नसकिने भन्दै अन्यत्र विकल्प खोज्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्यो । स्थानीय तहबाटै विस्तार गर्न नखोजिएको भन्दै प्रदेश सरकारले विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदियो । त्यसपछि केही समययता यो विषय सेलाएको थियो । यद्यपि पछिल्लो समय पुनः तातिएको छ । खासगरी पूर्वी सुर्खेतको भेरीगंगामा प्रस्तावित विमानस्थल निर्माको योजना अघि बढेपछि र उक्त विमानस्थल बनिसकेपछि अहिलेको सुर्खेत विमानस्थललाई के गर्ने भन्ने विषयको अन्योलताले सुर्खेत विमानस्थललाई नै विस्तार गर्नुपर्ने आवाज उठेको देखिन्छ । यसैका लागि विमानस्थल विस्तारको विकल्प नभएको भन्दै सरोकारवालाहरू एकमत भएका छन् ।
कुनै पनि विकास वा पूर्वाधारको निर्माण नागरिकका लागि हो । प्रभावित क्षेत्रका नागरिकहरूलाई आस्वस्त त विश्वस्त नबनाइकन सुर्खेत विमानस्थल विस्तारको योजना अघि बढ्न सक्दैन । बढाइनु हुँदैन । तीन सय मिटर धावनमार्ग विस्तार गर्दा प्रभावित हुने सयौं परिवारलाई पहिले यो विस्तार योजनाको औचित्य बुझाउनु अपरिहार्य छ । विगतमा ७०÷७२ सिटे जहाज सञ्चालनका लागि गर्ने भनिएको विस्तार नहुँदै सोही क्षमताका जहाज सञ्चालन भइरहेको अवस्थामा विस्तारको यो योजना केका लागि र किन आवश्यक छ भन्ने आम नागरिकको प्रश्नको प्रष्ट जवाफ दिनु पहलकर्ताहरूका साथै राज्यको दायित्व हो ।
प्रकाशित मितिः २६ पुष २०८०, बिहीबार ०५:०३
सम्पादकीय ।