२५ वटा अस्पताल निर्माण योजना अलपत्र

सुर्खेत: सरकारले आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पुर्‍याउनका लागि सुरु गरेको अभियानमा कर्णालीका २५ स्थानीय तह सहभागी भएका छैनन् । जग्गाको टुँगो नलाग्दा अस्पताल निर्माणको प्रक्रिया नै अगाडि बढ्न नसकेका हुन् ।

संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण गर्ने लक्ष्य अनुसार कर्णालीमा तीन वर्षअघि शिलान्यास गरिएका अधिकांश भवन अझै अपुरै छन् । कतिपय पालिकामा भवन निर्माण पूर्वका प्रक्रियागत काम नै हुन सकेका छैनन् ।

पहिलो चरणमा आर्थिक वर्ष २०७७/०७८ मा पाँचदेखि १५ शैय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट भएका थिए । त्यस्तै, दोस्रो चरणमा आर्थिक वर्ष २०७८/०७९ मा सोही क्षमताका थप २७ स्थानीय तहमा अस्पताल निर्माणको योजना अघि बढाइएको थियो । प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६९ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म ४४ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार तीमध्ये धेरैजसो भवनको निर्माण कार्य प्रगति पनि सुस्त छ ।

डिपीआर निर्माण र जग्गाको समस्याका कारणले २५ आधारभूत तहका अस्पताल निर्माणको काम सुरु हुन नसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए । अस्पताल निर्माण गर्ने योजना अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको उनको भनाइ छ । निर्माण थालिएका ४४ वटा अस्पतालको काममा समेत ढिलासुस्ती भइरहेको उनले बताए । निर्माण भइरहेका आधारभूत अस्पताल निर्माणको प्रगति सन्तोषजनक नरहेको डा. खड्का बताउँछन् ।

अस्पताल भवन निर्माणका लागि जग्गाको मापदण्ड संघीय सरकारले तोकिदिएको छ । केही पालिकाले उक्त मापदण्डअनुसारको जग्गा नै पाउन सकेका छैनन् । भवन निर्माण स्थलको टुँगो लागेका कतिपय ठाउँमा अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण भएको छैन । कैयन् निर्माणाधीन भवनको जग हालेर त्यतिकै छाडिएको अवस्थामा रहेको खड्काले बताए । स्थानीय सरकारको प्राथमिकतामा आधारभूत अस्पताल निर्माण कार्य नपरेको उनको भनाइ छ ।

संघीय सरकारले तीन वर्ष पहिले देशभर एकैसाथ तीन सय ९६ अस्पताल निर्माणको योजना सुरुवात गरेको थियो । तर पालिकाहरूले समयमै अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन नसक्दा उपलब्ध बजेटसमेत फ्रिज गएको छ । कर्णालीमा आधारभूत अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि पहिलो चरणमै संघीय सरकारले ५२ करोड ७६ लाख २० हजार बजेट विनियोजन गरेको थियो । जसअन्तर्गत पाँच शैय्याका लागि ७० लाख, १० शैय्याका लागि ८५ लाख र १५ शैय्याका अस्पताल भवन निर्माण गर्न सम्बन्धित पालिकामा एक करोड बजेट पठाइएको थियो । दोस्रो चरणमा छनोट भएका स्थानीय तहमा पनि सोही आधारमा रकम पठाइएको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दैलेखका ११ मध्ये नौ वटा स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट गरिएका थिए । दुई चरणमा गरी नौ स्थानीय तह छनोट गरिएको हो । ती मध्ये भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाले भवन निर्माणको काम सुरुसमेत गरेका छैनन् । अहिले भैरवी, नौमुले, ठाँटीकाध, महाबु, गुराँस गाउँपालिका र चामुन्डा बिन्द्रासैनी तथा आठबीस नगरपालिकामा अस्पताल निर्माणको काम थालिए पनि सुस्त गतिमा काम भइरहेको छ ।

हिमाली जिल्ला डोल्पाका आठ स्थानीय तहमध्ये सात स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छानिए । तर, कुनै पनि स्थानीय तहमा काम सुरु नै भएको छैन । जग्गा प्राप्ति नहुँदा काम सुरु हुननसकेको निमित्त निर्देशक डा. खड्काले जानकारी दिए । मुगुमा पनि तीन वटा आभारभूत अस्पताल निर्माणको काम थालिएको छैन । यसैगरी, हुम्ला जिल्लामा ६ वटा आधारभूत अस्पताल निर्माण गर्नुपर्नेमा तीन वटा स्थानीय तहमा काम सुरु भएको छैन । अन्य तीन वटाको कामसमेत सुस्त गतिमा छ ।

दुई चरणमा गरी आधारभूत अस्पताल निर्माणका लागि जुम्ला जिल्लामा सात वटा स्थानीय तह छनोट भएका थिए । तीन वटामा अस्पताल निर्माणको काम थालिएपनि चार वटामा सुरु भएको छैन । कालीकोटका आठ स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भएका थिए । ती मध्ये पाँच वटामा काम सुरु नै भएको छैन । तीन वटाको काम कछुवा गतिमा भइरहेको छ ।

यस्तै सुर्खेतमा आठ वटा आधारभूत अस्पताल निर्माण गर्नुपर्नेमा ६ वटा मात्र निर्माणाधीन छन् । अस्पताल निर्माणको काम थालिएको तीन वर्षमा एउटा पनि आधारभूत अस्पताल निर्माण सम्पन्न हुन नसकेको निर्देशक खड्का बताउँछन् । उनले भने, ‘स्थानीय सरकारले चासोका साथ नलिँदा र जग्गा प्राप्ति नहुँदा काम सोचे अनुरूप भएको छैन ।’

प्रकाशित मितिः   २६ पुष २०८०, बिहीबार ०५:०५