राष्ट्रिय भलिबल प्रतियोगिता: एपीएफ र पुलिस फाइनलमा
सुर्खेत: ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र नेपाल पुलिस क्लबीच प्रतिस्पर्धा हुने भएको छ । सेमीफाइनलमा सहज जीत हात पार्दै दुई विभागीय टोली उपाधि नजिक पुगेका हुन् ।
बुधवार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० ले हराँउदै एपिएफ लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । एपिएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको थियो । समूह चरणदेखि नै अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको थियो ।
एपीएफले उपाधिका लागि बिहीवार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । बुधवार नै भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै पुलिसले उपाधिका लागि एपीएफसँगको भेट पक्का गरेको हो ।
बलियो प्रतिस्पर्धी आर्मीमाथि पुलिसले २५–२१, २५–२३ र २५–१९ को सहज जित हात पारेको हो । पुलिस क्लब समूह ‘ए’ बाट उपविजेता बनेर सेमीपफाइनल पुगेको थियो । उसले समूह ए कै विजेता एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै एपिएफले उपाधि जितेको थियो ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा सुर्खेतमा सञ्चालन भइरहेको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका टिम सहभागी थिए । गण्डकी प्रदेश सेमीफाइनलसम्म पुगेपनि प्रदेशहरूको प्रदर्शन कमजोर नै रह्यो । यसपटक पनि उपाधि विभागीय टोलीकै हुने भएको छ ।
प्रकाशित मितिः २६ पुष २०८०, बिहीबार ०५:०१
साझा बिसौनी ।