हचुवामा शिलान्यास

२०७७ मंसिर १२ गते नेपाल सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले पश्चिम सुर्खेतको बराहतालमा तामझामका साथ अस्पताल भवनको शिलान्यास गरे । तर तीन वर्ष बितिसक्दा समेत उक्त भवन निर्माणको सुरसारसम्म भएको छैन । देशैभरका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्यअनुसार पहिलो चरणमा अस्पताल निर्माणको लागि बराहतालमा भवन शिलान्यास गरिएको थियोे । १५ शैय्याको अस्पताल निर्माण गर्न पहिलो वर्ष एक करोड बजेटसमेत विनियोजन भएको थियो । तर न बजेट खर्च हुन सक्यो न भवन निर्माणको योजना कार्यान्वयनमा आयो । बरु जहाँ भवन निर्माणका लागि भनेर शिलान्यास गरिएको थियो, उक्त क्षेत्र सामुदायिक वनको भएको भन्दै जग्गामै विवाद सिर्जना भयो । हालसम्म पनि अस्पताल भवनका लागि जग्गाको टुँगो लाग्न सकेको छैन । जसले गर्दा योजना नै अलपत्र अवस्थामा पुगेको छ ।

त्यसयताका दुई आर्थिक वर्षमा सरकारले बजेट नै विनियोजन गरेन । चालु आर्थिक वर्षमा दायित्व भुक्तानी शीर्षकमा संघीय सरकारले २० लाख मात्रै पठाएको छ । आवश्यकताका आधारमा अस्पताल निर्माण छनोटमा परेपनि जग्गा प्राप्ति नहुँदा काम सुरु हुन नसकेको गाउँपालिकाले जनाएको छ । बराहताल गाउँपालिका वडा नं. ५ को तिलकाखाल महिला सामुदायिक वन क्षेत्रमा अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हचुवाका भरमा स्थान छनोट गर्दा अस्पताल निर्माणको काम अघि बढ्न सकेन । प्रस्तावित क्षेत्र सामुदायिक वनको भएको भन्दै अनुमति पाएको छैन । वनको स्वीकृति नपाउँदा काम रोकिएको छ । अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृत हुन सकेको छैन । फाइल वन मन्त्रालयमा पुगेको छ ।

सुविधा सम्पन्न अस्पतालको अभावमा सामान्य रोगको उपचारको लागि पनि वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा आउनुपर्ने बाध्यता छ, पश्चिम सुर्खेतका नागरिकको । बराहतालमै १५ शैय्याको अस्पताल निर्माण हुने खबरले सर्वसाधारणमा खुसियाली छाएको थियो । गाउँमै अस्पताल बन्ने भएपछि खुसी भएका नागरिक अस्पताल निर्माण योजना नै अलपत्र परेपछि भने निराश भएका छन् । योजना नै अलपत्र परेपछि हचुवामा योजना अघि सारिएको पुष्टि भएको छ । कतिसम्म भने निर्माणस्थलको समेत टुँगो नलगाएर शिलान्यास गरिएको थियो । जसले गर्दा अस्पाल भवन निर्माण कार्य अघि बढ्न सकेको छैन । नागरिकलाई दिइने सेवाका लागि राज्यले हेलचक्य्राइँ गर्नु हुँदैन । यसैपनि पूर्वाधार विकासमा पछि परेको पश्चिम सुर्खेतमा १५ शैय्याको अस्पताल निर्माण गर्ने योजनामै भएको यस्तो लापरबाही लाजमर्दो हुनजान्छ । तीनै तहका सरकारले अस्पताल निर्माण कार्यका अवरोध हटाएर योजना अघि बढाउन आवश्यक देखिन्छ ।

प्रकाशित मितिः   २५ पुष २०८०, बुधबार ०५:०३