विमानस्थल विस्तार अघि बढाउन पहल

विस्तारका लागि सरोकारवाला एकमत, सर्वपक्षीय बैठकबाट ६ बुँदे निर्णय

सुर्खेत: सुर्खेत विमानस्थल विस्तारका लागि सर्वपक्षीय सहमति जुटेको छ । जिल्लाका राजनीतिक दलसहित सरोकारवालाहरूले विमानस्थलको धावनमार्ग विस्तार गर्न अपरिहार्य रहेको भन्दै आवश्यक पहलका लागि वीरेन्द्रनगर नगरपालिकालाई सुझाव दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले मंगलवार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागीहरूले दीर्घकालका लागि सुर्खेत विमानस्थल विस्तार गर्नुपर्ने जनाएका हुन् । प्रभावित क्षेत्रका बासिन्दा पूर्णप्रसाद पौडेलले आफूहरूको भावनामा खेलबाड नर्गन आग्रह गरे । ‘पटकपटक विमानस्थल विस्तार गरिँदा प्रभावित क्षेत्रका बासिन्दा ठूलो मर्कामा परेका छौँ’ उनले भने, ‘अन्तिम पटकका लागि हो भने हामी सहयोग गर्न तयार छौँ, सरकारले उचित मुआब्जा दिनुपर्छ ।’ सरकारले मनोमानी तरिकाले निर्णय गर्दा स्थानीयहरूलाई समस्या भइरहेको उनको भनाइ छ । ‘यसअघि जग्गा फुकुवा भयो । पुनः विस्तार गर्ने भनिँदैछ’ उनले भने, ‘हामी सरकारलाई साथ दिन्छौँ तर सरकारले सोचेर निर्णय गर्नुपर्छ ।’ आफूहरू विकासको विरोधि नभएको भन्दै सरकारले नागरिकको हितमा निर्णय गर्नुपर्ने उनले बताए ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णाली प्रदेशकै आर्थिक समृद्धिका लागि सुर्खेत विमानस्थलको विस्तार अपरिहार्य रहेको औंल्याए । मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पिताम्वर ढकालले गुरुयोजना अनुसार विमानस्थल नबन्दा समस्या आएको बताए । उनले अबको विकल्पमा प्राविधिक अध्ययनमा रहेर धावनमार्ग विस्तार गर्नुपर्नेमा जोड दिए । जनतालाई चित्तबुझ्दो मुआब्जा दिएर विस्तारको काम अघि बढाउनुपर्ने उनको भनाइ छ । ‘तीन सय बढी विद्यार्थी अध्ययनरत विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनका विषयमा मुआब्जा अघि नै टुँगो लगाएर अन्य काम गर्नुपर्छ’ ढकालले भने ।

यस्तै पूर्व नगरप्रमुख देवकुमार सुवेदीले तत्कालका लागि अर्को विमानस्थल बनाउन कठिन भएकोले सुर्खेत विमानस्थल विस्तारतर्फ कदम चाल्नुपर्ने बताए । केही कठिन परिस्थितिका कारण यो निर्णयबाट आफ्नो कार्यकालमा पछि हट्नुपरेको उनले स्पष्ट पारे । तर, अब विमानस्थल विस्तारबारे ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य हृदयराम थानीले विमानस्थल विस्तार गर्नुको विकल्प अहिले नरहेको जिकिर गरे । उनले भने, ‘विमानस्थल विस्तारको काम कसैले हात हल्लाएर क्लोज र ओपनको कुरा गर्न पाइँदैन ।’ विमानस्थलको धावनमार्ग तीन सय मिटर विस्तारका लागि एक सय २० कठ्ठा जग्गा अधिग्रहण हुन आवश्यक रहेको उनले बताए ।

नेकपा (एमाले) नेता यामलाल कँडेलले सुर्खेत विमानस्थल विस्तारका विषयमा सबैमा एकरूपता देखिएको बताए । उनले भने, ‘जनतालाई अन्यायमा राखेर विकास गर्न सकिन्न तर कहीँ न कहीँ प्रभावित हुन्छ नै, यो कुरा सरकारले समाधान गर्नुपर्छ ।’ कर्णालीको गहनाको रूपमा रहेको विमानस्थल विस्तारका लागि सबैले एक स्वरले माग राख्नु पर्ने उनले बताए । जनतालाई अन्याय हुन नदिइने भन्दै उनले प्रभावित क्षेत्रका नागरिकको समस्याबारे जनप्रतिनिधिहरू विमुख नभएको प्रतिक्रिया दिएका छन् । भइरहेकै संरचनाबाट जनतालाई थप व्यवस्थित गरी सेवा दिनुपर्ने उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगरपालिकाको तर्फबाट छलफलका लागि प्रस्ताव पेस गरिएकी थिइन् । मंगलवार बसेको सर्वदलिय तथा सर्वपक्षीय बैठकले उनको प्रस्तावको समर्थन गरेको छ । विमानस्थल विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारमार्फत् संघीय सरकारसँग माग गर्ने, अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको उचित मुआब्जा तथा चलनचल्तीको मूल्यमा स्थानीयवासीहरूलाई उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत संघीय सरकारलाई माग गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी अमरज्योति नमुना विद्यालयलाई स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने समेत निर्णय अघि सारिएको छ । विस्तारका क्रममा सुर्खेत विमानस्थलको सेवा अन्य विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग माग गर्ने, अन्य भौतिक संरचना निर्माण गर्न नेपाल उड्डयन प्राधिकरणसँग माग गर्ने निर्णय बैठकमा प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित मितिः   २५ पुष २०८०, बुधबार १०:१८