६ वर्षदेखि अस्पतालको भवन अलपत्र

सुर्खेत: पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शैय्याको मेहलकुना अस्पताल भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिँदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण ६ वर्षसम्म भवनको आधा मात्रै काम भएको छ ।

भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले बताए । ‘५० शैय्या क्षमता भएपनि १५ शैय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ’ सापकोटाले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’ अहिले २४ बेडबाट सेवा दिइरहेको भन्दै उनले २६ बेड अझै अभाव रहेको जानकारी दिए ।

५० शैय्या विस्तारसँगै संरचना अभाव भएपछि ६ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७४ पुस २७ गते ठेक्का सम्झौता भएको हो । २८ करोड लागत अनुमान गरिए पनि २१ करोड ७९ लाख रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि म्याद थप गरिएको छ । पहिलो सम्झौताअनुसार २०७७ असार २५ गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तोकिएको समयमा काम नसकिएपछि २०७७ असोजमा पहिलो पटक ६ महिना म्याद थप भयो । २०७७ असोज २५ गतेदेखि पुस २५ गतेसम्म म्याद थप गरिएको थियो । त्यसयता विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले पटकपटक म्याद थप गरिरहेको छ । २०८० जेठ समान्तसम्म अन्तिम म्याद रहेको थियो । म्याद सकिएसँगै सात महिनादेखि काम ठप्प छ । डेकुरेसन, रंगरोगन र एउटा भवनको ढलानको कामसमेत बाँकी छ ।

भवन निर्माण थालिएको ६ वर्ष भएपनि हालसम्म भवनको ६५ प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार ६ वर्षअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको अस्पतालको भवन निर्माणकार्य भने अलपत्र अवस्थामै छ । धेरै पटक म्याद थपिएपनि ठेकेदारको लापरबाहीले काम हुन सकेको छैन ।

निर्माणाधिन अस्पताल भवनमा पाँच वटा ब्लक छन् । समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको अस्पतालले जनाएको छ । समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पतालका प्रमुख डा. सापकोटा बताउँछन् । उनले पटक–पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माण कार्य अलपत्र परेको जानकारी दिए । सापकोटाले भने, ‘ठेकेदारले पर्याप्त मात्रामा मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको छ, करोडौँको योजनामा झारा टार्ने शैलीमा काम भइरहेको छ ।’ ५० शैय्या क्षमता भएपनि २४ शैय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको डा. सापकोटा बताउँछन् । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ २०७३ मा १५ शैय्याबाट ५० शैय्यामा विस्तार गरेको थियो ।

लामो समयदेखि निर्माण हुन नसकेको अस्पताल भवनको यसै आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न नभएमा ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रामकृष्ण आचार्यले बताए । तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्तिसमेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने आचार्यले जानकारी दिए । उनका अनुसार पुनः म्याद थपका लागि कम्पनीले माग गरेको छ । उनले भने, ‘२०८० जेठमा म्याद सकिएको छ । अहिले म्याद थपका लागि कम्पनीले केन्द्रमा निवेदन दिएको छ । अन्तिम पटक म्याद थपेर यसै वर्षमा काम गर्न कार्यालयले ताकेता दिएको छ ।’

प्रकाशित मितिः   २२ पुष २०८०, आईतवार ०५:०५