राष्ट्रिय भलिबल: कर्णालीको पहिलो जित

सुर्खेत: वीरेन्द्रनगरमा भइरहेको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । शनिवार मधेश प्रदेशलाई लगातार तीन सेटमा पराजित गर्दै कर्णालीले तीन अंक जोडेको हो ।

पहिलो सेट २५–२० ले जितेको कर्णालीले दोस्रो सेटमा २५–२१ र तेस्रो सेट २५–१७ ले जितेको छ । प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा कर्णाली आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

शनिवार नै भएका खेलमा कोशीले वागमतीलाई र नेपाल पुलिस क्लबले लुम्बिनीलाई पराजित गरेका छन् भने गण्डकी प्रदेशले पनि सुदूरपश्चिमलाई ४–१ को सेटमा पराजित गरेर विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा दुई÷दुई खेल खेलेका कर्णाली, लुम्बिनीले र मधेशले एक खेल जित्दा एक खेल हारेका छन् भने वागमती र सुदूरपश्चिमले लगातार दुई खेलमा पराजय बेहोरेका छन् । त्यसैगरी एक÷एक खेल खेलेका गण्डकी, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबले पनि जित निकालेका छन् ।

आज(आइतवार) चार खेल हुने जनाइएको छ । बिहान साढे आठ बजे हुने पहिलो खेलमा वागमती प्रदेशले विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा साढे १० बजे गण्डकी र मधेश प्रदेश भिड्ने छन् भने तेस्रो खेलमा विभागीय टोली एपिएफ र लुम्बिनी प्रदेश खेल्नेछन् । आइतवार नै सुदूरपश्चिम प्रदेशले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

दश टिम सहभागी प्रतियोगितामा समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, वागमती र कोशी छन् भने समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुस २६ सम्म सुर्खेतमा चल्नेछ ।

प्रकाशित मितिः   २२ पुष २०८०, आईतवार ०५:०६