राष्ट्रिय भलिबल: विभागीय टोलीको बलियो प्रदर्शन

सुर्खेत: सुर्खेतमा सञ्चालित ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आइतवार चार खेल भएका छन् । समूह ‘बी’मा रहेको त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा हराएको छ ।

पहिलो सेट आर्मीले २५–१५ अंकको अन्तरले जितेको थियो भने दोस्रो सेटमा पुनरागमन गर्दै सुदूरपश्चिमले २५–२१ ले आफ्नो पक्षमा पा¥यो । तर तेस्रो र चौथो सेटमा सहज जित हात पार्दै आर्मीले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

आइतवार नै भएको अर्को खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा हराएको छ । समूह ‘ए’मा रहेको एपीएफले पहिलो सेट २५–२२ ले जितेको थियो भने दोस्रो सेट २३–२५ ले गुमाउन पुग्यो । तर तेस्रो सेट २५–२२ र चौथो सेट २५–१५ जित्दै आफ्नो खातामा तीन अंक जोड्न सफल भएको हो ।

समूह ‘ए’ मै रहेको पुलिस क्लबले बागमती प्रदेशलाई २५–१०, २५–१३ र २५–१७ को सोझो सेटमा हराउँदै प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ । समूह ‘बी’मा रहेको गण्डकीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमै हराएको छ ।

प्रतियोगिताको तेस्रो दिन सकिदा समान दुई खेल खेलेका आर्मी, एपिएफ, पुलिस र गण्डकीले सतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेर समान ६ अंक जोड्न सफल भएका छन् । तीन खेल खेलेका लुम्बिनी र मधेशको समान दुई अंक छ भने तीन खेलमा पराजित भएपछि सुदूरपश्चिम र बागमती समूह चरणबाटै बाहिरिएका छन् ।

सोमवार(आज) पनि चार वटा खेल हुँदैछन् । बिहान साढ आठ बजे हुने पहिलो खेलमा कोशी र लुम्बिनी प्रदेश भिड्ने छन् भने साढे दश बजे हुने दोस्रो खेलमा घरेलु टोली कर्णालीले र सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी साढे १२ बजे हुने तेस्रो खेलमा दुई विभागीय टोली एपीएफ र पुलिस तथा चौथो खेलमा आर्मी र गण्डकी प्रदेश आमने–सामने हुने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः   २३ पुष २०८०, सोमबार ०५:०१