बजेट कटौतीले योजना अन्योलमा
सुर्खेत: संघीय सरकारको सघन सहरी विकास कार्यक्रम अन्योलमा रहेको छ । गत वर्षबाट सुरु भएको कार्यक्रम बजेट कटौती भएपछि कार्यान्वयनमा अन्योलता देखिएको छ ।
झुण्डझुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने भन्दै सरकारले सघन सहरी विकासको योजना बनाएको थियो । सोही योजनाअनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १३ सम्म एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम बनाएर सडक स्तरोन्नति र कालोपत्रेसम्मको काम थालिएको छ । १३ वटा वडाका ४७ वटा टुक्रे सडकका योजनालाई एकै ठाउँमा राखेर काम थालिएको हो । तर अहिले बजेट अभावले सडक स्तरोन्नति तथा कालोपत्रेको काम अन्योलमा परेको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । बजेट कटौती भएपछि आयोजनाको काम अघि बढाउन समस्या भएको कार्यालय प्रमुख रामकृष्ण आचार्यले बताए । उनका अनुसार थप काम अघि बढाउन सकिएको छैन ।
४७ वटै सडकको स्तरोन्नतिका लागि सम्झौता भएको छ । २०७९ माघ १० गते खड्का के. एस बाँकेले सघन सहरी विकास कार्यक्रम अन्र्तगतको एकीकृत सहरी पूर्वाधार विकासका सडक निर्माणको जिम्मा लिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले खड्का के. एस बाँकेसँग ३० करोडमा साना–ठूला गरी ४७ योजनाको ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार २०८१ भदौ ७ गते ४७ योजना निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, काम सुरु भएको दोस्रो वर्षमै बजेट कटौती भएपछि काम अघि बढाउन समस्या भएको हो ।
एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमका लागि गत आर्थिक वर्ष २०७९/०८० मा सरकारले १८ करोड बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा तीन करोड मात्र बजेट छुट्याइएको छ । बजेट न्यून हुँदा सघन सहरी विकास कार्यक्रमअन्र्तगत एकीकृत सहरी पूर्वाधार विकासका काम अघि बढाउन नसकिएको कार्यालय प्रमुख आचार्यले बताए । उनले भने, ‘सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ सडकको बजेट कटौती ग¥यो । यो वर्ष थप नयाँ काम सुरु हुन सकेका छैनन् ।’
एकीकृत ढंगको सडक पूर्वाधार निर्माण गर्न देशैभरका ५४ पालिकामा गतवर्षदेखि संघीय सरकारले कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमअन्र्तगत वीरेन्द्रनगर नगरपालिका पनि छनोटमा परेको हो । ४७ सडक योजना निर्माणको आधाभन्दा धेरै काम बाँकी छ । कतिपय ठाउँमा काम सुरु भएको छैन । विवादरहित ठाउँ, तत्काल निर्माण गर्नुपर्ने ठाउँहरुमा काम सुरु गरिएको जनाइएको छ । सडकको अवस्था हेरेर निर्माणका काम थालिएको हो । टुक्रे योजनासहित १६ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिनेछ । यो वर्ष पूर्वाधार विकास कार्यक्रम अन्र्तगत सहिद पार्क र बुलबुले पार्क निर्माणको काम समेत गर्नुपर्नेछ । तर, बजेट नहुँदा कुनैपनि नयाँ काम अघि बढ्न सकेका छैनन् ।
अर्थ मन्त्रालयसँग बजेट माग
एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको छ । थप १२ करोड बजेट माग गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । धेरै जसो काम अधुरै रहेको भन्दै आयोजना निरन्तरताका लागि बजेट माग गरिएको कार्यालय प्रमुख रामकृष्ण आचार्यले बताए ।
हरेक कार्यक्रममा सरकारले बजेट कटौती गरेकाले काम गर्न निकै समस्या भएको उनको भनाइ छ । आचार्यले भने, ‘कार्यालयमा आउने अधिकांश बजेट कटौती भएका छन् । यो वर्ष सघन सहरी विकास कार्यक्रमको बजेट कटौती हुँदा काम ठप्प हुने अवस्थामा पुगेको छ ।’ गत वर्ष सम्पन्न भएका कामको समेत भुक्तानी दिन बजेट अभाव भएको उनले बताए । उनले अहिलेसम्म निर्माण कम्पनीले काम गरिरहेको भएपनि अब काम रोक्ने अवस्थामा पुगेको जनाए ।
प्रकाशित मितिः १९ पुष २०८०, बिहीबार ११:२९
रजनी याेगी ।