अन्वेषण उपलब्धिनजिक

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण योजना कार्यान्वयनको चरणमा छ । अन्वेषणको काम उपलब्धि नजिक पुगेको हो । दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । अब तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । करिब तीन सय किलोमिटरको हाराहारीमा तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाई गरिने अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निक्र्योल गरी ड्रिलिङका लागि स्थान तय गरिएको हो । सोहीबमोजिम काम चलिरहेको छ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ ।

अहिले ड्रिलिङको तयारी अन्तिम चरणमा पुगेको छ । ड्रिलिङका लागि खुला स्थान तयार पर्ने काम भइरहेको छ । मेसिन जडान गर्ने स्थानमा फिल्ड निर्माण भइरहेको छ । फिल्ड निर्माण, माटो कटिङ, जग्गा सम्माउने लगायका काम अन्तिम चरणमा पुगेका छन् । मुआब्जा वितरण गरेसँगै निर्माणको काम धमाधम रूपमा भइरहेको छ । आयोजनाको क्याम्प राख्ने ठाउँ छुट्टाएको र क्याम्प निर्माणको प्रक्रिया अघि बढेको छ । करिब ६० जना अट्ने खालको एउटा क्याम्प निर्माण गरिँदै छ । जसमा चिनियाँ कामदार र नेपाली कामदार एकै ठाउँमा बस्नेछन् । अबको डेढ महिनाभित्र मेसिन जडान गर्न सकिए करिब चार किलोमिटर ड्रिलिङ गर्न सकिने छ । तोकिएकै समयमा सडक पूर्वाधार तयार भइ उपकरण जडान गर्न सकिए चार महिनाभित्र ड्रिलिङ कार्य सम्पन्न हुनेछ ।

यसैबीच नेपाल सरकार खानी तथा भूगर्व विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच अन्तिम चरणको काम सम्पन्न गर्नका लागि म्याद थप गर्ने तयारी भएको छ । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता यही फागुनमा सकिदै छ । तोकएकै समयमा काम सम्पन्न नहुँने भएपछि म्याद थपको तयारी गरिएको हो । अन्वेषण आयोजनालाई नै लक्षित गरेर कर्णाली राजमार्गमा रहेका साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम धमाधम भइरहेको छ । सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाउने काम धमाधम भइरहेको हो । पेट्रोलियम पदार्थ अन्वेषणका लागि ठूला उपकरण ल्याउनुपर्ने भएपछि मोड सुधार गर्न लागिएको हो । यसले पेट्रोलियम अन्वेषण योजनाले तीव्रता पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   १८ पुष २०८०, बुधबार १०:४१