ब्रेल लिपिको प्रवर्द्धनमा उदासीनता

दृष्टिसम्बन्धी अपाङ्गता भएकाहरूलाई शिक्षाको मूल प्रवाहमा एकसाथ सामेल गराउन प्रयोगमा रहेको ६ वटा थोप्लाहरूमा आधारित अक्षर संरचनाको प्रणाली ब्रेल लिपि हो । अर्को शब्दमा आँखाको सहायताले र कुनै उपकरणको प्रयोग गरेर समेत लेख–पढ गर्न नसक्ने व्यक्तिहरूले हातका औँलाले स्पर्श गरेर पढ्न सक्ने ‘लुइ ब्रेल’द्वारा आविस्कार गरिएको लिपि नै ब्रेल लिपि हो । लक्ष्मणप्रसाद ज्ञावालीको शब्दमा ‘यो लिपि एक अनौठो प्रकृतिको छ । एउटा विशेष प्रकारको मेशिन (स्लेट)मा बाक्लो कागज राखी सो कागजको एकापट्टिबाट सियो जस्तो वस्तु (स्टाइलस)ले खोपेर कागजको अर्कोपट्टि स्पर्शयोग्य थोप्ला निकालेर ती थोप्लाहरू छामेर पहिचान गरिने लिपि हो ब्रेल लिपि ।’

यसमा तीन दायाँ र तीन बायाँ गरी ६ वटा मात्रै थोप्ला हुन्छन् । अर्थात् वर्ण÷अक्षर निर्माणका लागि एक समूहमा बढिमा ६ वटा मात्रै थोप्ला÷सदस्यहरू हुन्छन् । समूहको नियमानुसार ६४ वटा आपसमा फरक संकेत÷समूह निर्माण गर्न सकिन्छ । तर ब्रेल लिपिमा खालि स्थानको कुनै अर्थ हुँदैन । त्यसैले यी थोप्लाहरूको माध्यमबाट बढिमा ६३ ओटा अक्षर बनाउन सकिन्छ । यसप्रकार ब्रेल लिपि ६३ वटा अक्षर भएको थोप्लामा आधारित लेख्य अभिव्यक्तिको प्रणाली हो ।

सुनाइ र दृष्टिसम्बन्धी अपाङ्गता भएकाहरूको शिक्षामा पहुँचका लागि यो आधारस्तम्भ÷मेरुदण्ड जस्तै छ । तर पनि नेपालको हकमा कक्षा १० र त्यो भन्दा माथिका निर्णायक परीक्षाहरूमा मान्यता नदिइएकोले यसको प्रयोग तल्ला कक्षाका दृष्टिविहीनहरू र अनौपचारिक उद्देश्यमा सिमित छ । आधारभूत तहमै ब्रेल लिपिको सहायताले अध्ययन गर्ने–गराउनेलाई पर्याप्त पाठ्यपुस्तकसमेत नछापिने स्थितिमा माथिल्ला कक्षाका लागि रुचि अनुरूपका सन्दर्भ सामग्रीहरू ब्रेलमा प्रकाशित नहुनु स्वभाविक विडम्बना हो । अर्कोतिर श्रव्य पुस्तक र अन्य सफ्टवेरको साथै आधुनिक ब्रेल पाटीको प्रयोग पनि तुलनात्मक रूपमा बढेको छ । यसले ज्ञान हासिल गर्ने रफ्तार तेज हुनुपर्ने हो तर त्यसको ठीक विपरित अनिवार्य आवश्यकतामा बाहेक प्रयोजनमा खासै प्रोत्साहन दिएको देखिँदैन । विद्युतीय पुस्तकहरू पढ्ने प्रवृति बढेपनि र प्रवद्र्धनको लागि खास योजना छैन । एकातिर विकसित राष्ट्रहरूले बनाएको प्रविधि नेपाल र नेपाली माटोमैत्री छैन भने अर्कोतिर ब्रेल लिपि सबैको साझा बन्न सकेको छैन । यसले दृष्टिविहीनहरूको आधुनिक शिक्षामा गुणस्तरीय पहुँच पुग्न सकेको छैन र शुद्ध लेखन क्षमता तथा अध्ययनको दायरामा अपेक्षित सुधार समेत हुन सकेको छैन ।

सैनिकले अन्धकारमा पनि निर्देशन सहि तरिकाले पालना गर्न सक्ने गरी बनाइएका संकेत ब्रेल लिपिको विकासका उद्गम बिन्दु मान्न सकिन्छ । किन कि जब लुइ ब्रेल (४ जनावरी, १८०९–६ जनावरी, १८५२) ले सन् १८१९ मा क्याप्टेन चार्लस बार्बरको सैनिकलाई अन्धकारमा दुख कम गराउने उद्देश्यले प्रयोगमा आएको उक्त कुट लिपिबारे थाहा पाए तब उनले पादरी समक्ष क्याप्टेन बार्बरलाई भेट्ने इच्छा जाहेर गरेपछि नै दृष्टिविहीनहरूले पनि पढ्न सक्ने सम्भावनाको खोजी सुरु भएको हो । भलै त्यसभन्दा अगाडि दृष्टिविहीनहरूको शिक्षाको माध्यम सुनाइमा सिमित थियो । त्यसपछि लुइ ब्रेलले सैनिक बार्बरको उक्त लिपिमा केही परिवर्तन गर्न प्रस्ताव गरे । दृष्टिविहीन वयस्क लुइको आत्मविश्वासबाट प्रभावित बार्बरले उनलाई त्यसको लागि हुन्छ भनेपछि सन् १८२१–१८२९ मा उनले सैनिकको कुटलिपिमा धेरै परिवर्तन गरी ६ वटा थोप्लामा आधारित लिपिको विकास गरे । ब्रेल लिपिको आधिकारिक आविस्कार सन् १८२९ मा भएको मानिन्छ तथापि लुइ ब्रेलले सन् १८२४ मा नै यसको विकास गरेका थिए । तर ब्रेलमा सामग्री पहिलो पटक प्रकाशन भएको समयलाई आधार मानिएको पाइन्छ । लुइ ब्रेलले विकास गरेकोले उक्त लिपिलाई ब्रेल लिपि भनिएको हो । विभिन्न स्रोतहरूमा उल्लेख भएअनुसार सुरुमा यसको फ्रान्सका शिक्षाविदले पनि मजाक उडाएका थिए ।

तीन वर्षमै दृष्टिविहीन भएका ब्रेलको त्यो काम उनका साथीहरू माझ लोकप्रिय भइसकेको थियो । विस्तारै आम दृष्टिविहीनहरू माझ यसको स्वीकार्यता बढ्दै गयो । तर सन् १८५४ मा मात्रै पेरिसका विद्यालयमा यसलाई आधिकारिकता प्रदान गरियो । यसलाई थप परिस्कृत गर्न र सजिलो बनाउन ब्रेलका शैलीमा महत्वपूर्ण परिवर्तनहरू गरिएका छन् । जसअनुसार ब्रेल लिपिलाई सुरुमा १२ थोप्लामा आधारित रहेर विकास गरियो । तर त्यो प्रयोग गर्न कठीन र व्यावहारिक नभएपछि ९, ५ र ६ थोप्लाहरूमा आधारित रहेर ब्रेल लिपिमा विभिन्न प्रयोग गरिए । अन्तमा ६ थोप्लामा आधारित पद्दतिलाई आधिकारिक ब्रेल लिपिका रूपमा सर्वमान्य घोषित गरी स्वीकार गरियो ।

लुइ ब्रेलको संघर्ष मरेपछि पनि सकिएन । ब्रिटानिका डटकममा आलिक्जा जेलाज्को लेख्छन्ः फ्रान्समा ब्रेल लिपिले आधिकारिकता पाएपनि अंग्रेजीलगायतका भाषामा सन् १९३२ सम्ममा यसको प्रयोग उपेक्षित नै थियो । दृष्टिविहिनहरूका लागि इलोनोइ विद्यालयका सुपरिटेन्डेन फ्रान्क हलले सन् १९९२ मा ब्रेल लिपिमा लेख्ने स्टाइलस र सिलेटका अतिरिक्त ब्रेल अक्षर लेख्न सक्ने विशेष यन्त्र आविस्कार गरे । सन् १९३२ मा तत्कालिन महान बेलायत र अमेरिकाका दृष्टिविहीनका लागि कार्यरत संस्थाहरूले लन्डनमा भेट गरी अंग्रेजी भाषामा ब्रेलको प्रयोग गर्न एउटा मापदण्डमा सहमत भए । यस समझदारीलाई ‘स्तरीय अंग्रेजी ब्रेल तह–दुई’ भनि चिनिन्छ । सन् १९५७ मा यसमा बेलायती मूलका विशेषज्ञले थप सुधार गरे । १९६५ मा ब्रेल लिपिलाई अझ सम्पन्न बनाउन ब्रेल गणितका वैज्ञानिक संकेतहरू र सङ्गित लगायतका चिन्हहरू समेत प्रचलनमा ल्याइयो । मानव अधिकारको पूर्ण प्रत्याभूति तथा आधारभूत स्वतन्त्रता र समावेशी लेखन प्रवर्धन गर्न सन् २०१८ नोभेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले जनावरी ४ लाई विश्व ब्रेल दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । हाल ब्रेल लिपिमा लेख्न सिलेट र स्टाइलसका साथै टाइपराइटर, विद्युतीय कम्प्युटरमा आधारित किबोर्डहरू र स्पर्ष÷देखाउनका लागि ब्रेल प्रदर्शन पाटी समेत विकास भएका छन् ।

ब्रेल लिपिको प्रयोगका लागि कलमको रूपमा स्टाइलस (सियो जस्तो तर केही बुच्चो किला) र अक्षर बनाउन दुइ पाताबाट बनेको सिलेट आवश्यक पर्दछ । स्टाइलस फलामबाट बनाइन्छ जसको टुप्पो लगभग कलमको टुप्पोसँग मिल्दोजुल्दो हुन्छ । सिलेट भने फलाम वा प्लास्टिकबाट बनाइन्छ । पछिल्लो समय हलुका र सहज भएकै कारण प्लास्टिकको सिलेट बढि प्रयोगमा रहेको देखिन्छ । स्टाइलसको माथिल्लो भागमा काठ वा प्लास्टिक राखिन्छ जहाँ सामान्य कलमको बिर्को खोलेर लगाइन्छ । अर्को शब्दमा थोप्ला पार्ने भाग केही तिखो र समात्ने भाग मोटो हुन्छ । यसले थोप्ला बनाउँदा हातमा चाप कम र सिलेटको बीचमा राखिएको कागजमा धेरै चाप पर्दछ र सजिलै थोप्ला पार्न सकिन्छ । स्टाइलसको आयु नसकिञ्जेल र थोप्ला पार्दै जाँदा अति नै तिखो नहुञ्जेल यसको प्रयोग गर्न सकिन्छ । सिलेट भने आकारमा ठूलो हुने हुँदा टुटफुट हुने, बाङ्गिने आदि कारण हिफाजतको बढि जरुरत पर्दछ । ब्रेल लिपिमा लेख्दा उर्दु भाषामा जस्तो दायाँबाट बायाँतिर लेखिन्छ । तर पढ्दा भने देवनागरिक लिपिकै जस्तो पढिन्छ । यसमा सिलेटका प्वालहरू थोप्ला पार्न पहिले नै निश्चित गरिएका हुन्छन् । अर्थात् एउटा सिलेटमा एक पटकमा ननिकालिकन कतिसम्म लेख्न सकिन्छ भन्ने कुरा पूर्वनिर्धारित हुन्छ । किन कि त्यो सिलेटको बनोटमा निर्भर हुन्छ । त्यसैले ब्रेल लिपिमा सबै अक्षरहरू जस्तो भएपनि लेखिने क्षेत्र बराबर हुन्छ । हरेक प्वालमा तीन दायाँ र तीन बायाँ पट्टि थोप्ला पार्न संरचना बनाइएको हुन्छ । दायाँको सुरुको थोप्लालाई एक र बायाँको सुरुको थोप्लालाई चार मानिन्छ । सिलेटको एउटा प्वालका सबै ६ वटै थोप्लाहरू बनाउँदा नेपाली अक्षर ‘ढ’ बन्छ जसले अंग्रेजी भाषामा ब्रेल संक्षेपिकरणमा ‘ायच’ को काम पनि गर्छ ।

सामान्यतया नेपालमा ४, ९ र २७ लहरका सिलेटहरू प्रयोगमा रहेका छन् । यसमा ४ लहरे सिलेटको एक लाइनमा बढिमा ३७ अक्षर लेख्न सकिन्छ र ९ तथा २७ लाइनका सिलेटमा बढिमा ३० अक्षर लेख्न सकिन्छ । यसर्थ ४ लहरेमा १४८ अक्षर, ९ लहरेमा २७० अक्षर र २९ लहरेमा ८१० सम्म अक्षरहरू रचना गर्न सकिन्छ । तर उल्लिखित तथ्यको प्रयोगमा खाली ठाउँ समावेश गर्दा त्यो सोही अनुपातमा घटेर जान्छ ।

ब्रेल लिपिको प्रयोग दृष्टिसम्बन्धी, पूर्ण दृष्टिविहीन बालबालिका लगायतका अन्य दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई वर्ण, अक्षर र शब्दको आधारभूत ज्ञान दिन गरिन्छ । यसका साथै सामान्य व्यक्ति सरह मौन पठन गर्न र सस्वर वाचन कलाको विकासका लागि पनि ब्रेल लिपि उत्तिकै जरुरी छ । सुरुमा लुइ ब्रेलले विकास गरेपनि त्यसपछि भाषा र क्षेत्रगत रूपमा यसमा महŒवपूर्ण परिवर्तन भएका छन् । ब्रेलको मूल ढाँचा भने उनले विकास गरेकै ६ थोप्लाहरूमा आधारित छ । जसअनुसार विभिन्न भाषाका लागि छुट्टाछुट्टै संकेतहरू तोकिएका छन्; गणित लगायतका प्राविधिक विषयहरूका लागि पनि यिनै ६ थोप्लाको सहायताले विभिन्न चिन्हहरूको विकास गरिएको छ । अंग्रेजी भाषामा ब्रेल संक्षेपिकरण विकास गरिएका छन् । यि परिवर्तनहरूले दृष्टिविहीन विद्यार्थीहरूको विषयगत क्षमता बलियो हुन्छ र आत्मविश्वास समेत वृद्धि हुन्छ । ब्रेल संकुचन÷संक्षेपिकरणले दृष्टिविहीनहरूको पठन गति थप छिटो र स्तरीय बनाउन मद्यत गर्दछ ।

नेपालमा ब्रेल लिपि भित्र्याउने बझाङका जङ्गबहादुर बोगटी हुन् । उनले तत्कालीन समयमा भारतमा गएर ब्रेल लिपिबारे आवश्यक ज्ञान र सीप हासिल गरेपछि नेपालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र राजा महेन्द्रसँग अनुरोध गरी दृष्टिविहीनहरूको शिक्षामा पहुँचका लागि महŒवपूर्ण कदम उठाए । यद्यपि, भर्खरै पञ्चायत सुरु भएको र देशको साक्षरता दर न्युन भएको भन्दै सुरुमा योजना आयोगका सदस्यहरूले नै यसलाई नजरअन्दाजकै भरमा नकारिदिए । तर, पछि २०२१ सालमा यसलाई काठ्माडौं जिल्लाको किर्तिपुरस्थित ल्याब्रोटरी विद्यालयमा शुभारम्भ गरिएको थियो । त्यसको ठिक ५० वर्षपछि यो लिपि संविधानले समेत चिनेको छ; धारा–३१ ले दृष्टिविहीन नागरिकलाई ब्रेलमा शिक्षा पाउने हक सुनिश्चित गरेको छ । नेपालको शिक्षा नीति २०७६ ले समेत यसलाई आधारको रूपमा प्रयोग गर्दै गुणस्तरीय शिक्षा प्रदानका निम्ति अन्य माध्यमको समेत अवलम्बन गर्न जोड दिएको छ । नेपालमा ब्रेल लिपिमा पठनपाठन सुरु गराउन गरेको अतुलनीय योगदानकै कारण जङ्गबहादुर बोगटीलाई ‘नेपालका लुइ ब्रेल’ पनि भन्ने गरिएको छ ।

सम्मानित सर्वोच्च अदालतले नेपालको संविधान एक–एक प्रति हरेकलाई निशुल्क बाँड्नु भनि सरकारका नाममा परमादेश जारि गरेको छ । पूर्ण दृष्टिविहीन तथा न्युन दृष्टियुक्त व्यक्तिको हकमा मानव अधिकारका लागि पूर्ण अनुभवसहितको सञ्चारको साधनका रूपमा ब्रेल लिपिको महŒव बारे जनचेतना फैलाउन सन् २०१९ देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक जनावरी ४ तारिकमा विश्व ब्रेल दिवस मनाइन्छ । जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको साक्षरता करिब ७६.२% छ । त्यसमा पनि करिब दुई हजार पाँच सयको संख्यामा दृष्टिविहीनहरू सुर्खेतमा रहेको तथ्याङ्कले देखाउँछ । यद्यपि हजारौँ दृष्टिविहीनहरू ब्रेल लिपिको जानकारीबाट बिमूख रहेका छन् । तथापि लुइ ब्रेलले आफ्नो जीवनकालमा नदेखेपनि विश्वका दृष्टिविहीनहरूका लागि यो बरदान सावित भएको छ । यसर्थ लुइ ब्रेलले ब्रेल लिपि विकासमा पुर्याएको योगदान अतुलनीय छ । साथै दिगो विकास लक्ष्य–४ अन्तरगत गुणस्तरीय शिक्षा सहितको साक्षर देश बनाउन ब्रेल लिपि प्रवद्र्धन गर्नुको विकल्प देखिँदैन । यसका लागि सरकारी तवरबाट पर्याप्त ब्रेल सामग्रीहरू प्रकाशित गर्ने र आधुनिक ब्रेल उपकरणको विकास र आयातमा सहजीकरण गर्ने नीति लिइनु आवश्यक देखिन्छ । हरेक प्रदेशमा ब्रेल पुस्तकहरूको प्रकाशन गर्ने गरी आवश्यक पूर्वाधार विकास गर्नु पर्छ । यसका अतिरिक्त ब्रेलमा परिक्षाको प्रश्नपत्र उपलब्ध गराउने र सबैका लागि अनिवार्य गरिएका सन्दर्भ सामग्रीहरू ब्रेलमा पनि विकास गरी सबै दृष्टिविहीनहरूसम्म पुर्याउनु पर्छ । दृष्टिविहीनहरूले मसिमा कोरिएका संकेत नचिन्न सक्छन् । तर ब्रेल लिपिको ज्ञान भएका सबैले शिक्षाको पहुँचभन्दा बाहिर रहेका दृष्टिविहीनहरूलाई ब्रेलबारे बताउने र स्थानीय वस्तुहरूको प्रयोग गरी ब्रेल बारे धारणा दिन सक्नुको साथै सबैले पढ्न सक्छन् भन्ने आत्मविश्वास दिलाउन सक्छन् । ब्रेल भाषा नभइ लिपि हो । त्यसैले यसको सम्वद्र्धन गर्न सबैले हातेमालो गर्न सक्छन् । तसर्थ ब्रेल लिपि सिक्ने र गाउँ–गाउँमा रहेका दृष्टिविहीनहरूलाई शिक्षाको उज्यालो ज्योति देखाउने कार्य गर्नु हामी सबैको नैतिक कर्तव्य हो ।

प्रकाशित मितिः   १८ पुष २०८०, बुधबार १०:४०