पेट्रोलियम पदार्थ अन्वेषण: ‘ड्रिलिङ’को तयारी अन्तिम चरणमा

सुर्खेत: पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङको तयारी अन्तिम चरणमा पुगेको छ । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम उपलब्धि नजिक पुगेको हो । भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा अन्तिम ड्रिलिङको तयारी थालिएको हो ।

ड्रिलिङका लागि खुला स्थान तयार पर्ने काम भइरहेको छ । मेसिन जडान गर्ने स्थानमा फिल्ड निर्माण भइरहेको छ । फिल्ड निर्माण, माटो कटिङ, जग्गा सम्माउने लगायका काम अन्तिम चरणमा पुगेका छन् । मुआब्जा वितरण गरेसँगै निर्माणको काम धमाधम रूपमा भइरहेको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले बताए । उनले ४५ रोपनी जग्गा, तीन वटा घर र टहरा गरेर ९६ लाख रूपैयाँ मुआब्जा वितरण गरिएको जानकारी दिए ।

आयोजनाको क्याम्प राख्ने ठाउँ छुट्टाएको र क्याम्प निर्माणको प्रक्रिया अघि बढेको छ । करिब ६० जना अट्ने खालको एउटा क्याम्प निर्माण गरिँदै छ । जसमा चिनियाँ कामदार र नेपाली कामदार एकै ठाउँमा बस्नेछन् । अबको डेढ महिनाभित्र मेसिन जडान गर्न सकिए करिब चार किलोमिटर ड्रिलिङ गर्न सकिने नापितले बताए । उनले भने, ‘तोकिएकै समयमा सडक पूर्वाधार तयार भइ उपकरण जडान गर्न सकिए चार महिनाभित्र ड्रिलिङ कार्य सम्पन्न हुनेछ ।’

यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिएको थियो । अब तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । करिब तीन सय किलोमिटरको हाराहारीमा तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाई गरिने अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निक्र्योल गरी ड्रिलिङका लागि स्थान तय गरिएको हो । सोहीबमोजिम जलजलेमा काम चलिरहेको छ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ ।

 

म्याद थप्ने तयारी

नेपाल सरकार खानी तथा भूगर्व विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच अन्तिम चरणको काम सम्पन्न गर्नका लागि म्याद थप गर्ने तयारी भएको छ । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता यही फागुनमा सकिदै छ ।

तोकएकै समयमा काम सम्पन्न नहुँने भएपछि म्याद थपको तयारी गरिएको हो । चिनियाँ टोलीसमेत म्याद थप गर्न सकारात्मक देखिएको परियोजनाका प्रमुख नापितले जानकारी दिए । उनले भने, ‘चिनियाँ टोलीले पछिल्लो समयमा भइरहेको कामको स्थलगत रूपमा समेत जानकारी लिएको छ । पुनः ६ महिना म्याद थप हुनेछ ।’ नेपाल सरकारबाट गरिने सम्पूर्ण प्रक्रिया पूरा गरेपछि चीन सरकारको अन्वेषणात्मक टोली दैलेख आएर अन्वेषणात्क ड्रिलिङको काम सुरु गर्नेछ । त्यसको लागि अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ । अझै ६ महिना म्याद थप गरिने जनाइएको छ ।

मोड सुधारको ४६ प्रतिशत भौतिक प्रगति

अन्वेषण आयोजनालाई नै लक्षित गरेर कर्णाली राजमार्गमा रहेका साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम धमाधम भइरहेको छ । सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाउने काम धमाधम भइरहेको हो । पेट्रोलियम पदार्थ अन्वेषणका लागि ठूला उपकरण ल्याउनुपर्ने भएपछि मोड सुधार गर्न लागिएको हो ।

सडक फराकिलो बनाउने काम ४६ प्रतिशत सकिएको छ । सडक साँघुरो हुँदा उपकरणसहितका ठूला गाडी ल्याउन समस्या हुनेभएकाले सडक फराकिलो पार्न लागिएको जनाइएको हो । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले मोड सुधारको काम गरिरहेको छ । मोड सुधारका लागि कार्यालयले गंगामाला बडिमालिका एम.एम. जेभिसँग ठेक्का सम्झौता गरेको छ । ठेक्का सम्झौता गरेको डेढ महिनामा नै ४६ प्रतिशत भौतिक प्रगति हासिल भएको हो । अहिले सडक कटिङ्गको काम सकिएको कार्यालयका इन्जिनियर अशोक चौधरीले जानकारी दिए । उनका अनुसार १७ स्थानमा मोड फराकिलो बनाउने भनिएपनि एक÷दुई स्थान थप भएका छन् । पर्खाल निर्माणको काम धमाधम भइरहेको छ । सडक कालोपत्रे गर्ने काम भने फागुनमा मात्र गरिनेछ । चिसोका कारण अहिले गर्न नसकिएको इन्जिनियर चौधरीले बताए ।

प्रकाशित मितिः   १७ पुष २०८०, मंगलवार ०५:०५