जलवायु परिवर्तनको प्रभाव

हिमपात हुने मुख्य सिजन भनेकै पुस र माघ महिना हुन् । तर केही वर्षयता जुम्लामा हिमपात नै कम भइरहेको छ । यो वर्षसमेत पुस दोस्रो सातासम्म हिउँ परेको छैन । हिउँदे याममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रुखा र सुख्खा देखिन थालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । हिमालको शोभा घटेको छ । पहिले चाँदी झैँ टल्कने हिमाल अहिले उराठलाग्दा देखिन थालेका छन् । सामान्यतया चिसो मौसममा हिमपात हुन्छ । पुस र माघ महिनामा बढी हिमपात हुन्छ । विगतको जस्तो पुस–माघमा हिउँ नपर्नु, पानी नपर्नु, असोज–कार्तिकमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयहरू बताउँछन् । पहिले बाक्लो हिउँ पथ्र्यो, बालीनाली पनि सप्रन्थ्यो । यतिबेलासम्म त बापाखा र खेतबारी हिउँले सेताम्य हुन्थे । अहिले त हिउँ नै पर्न छाड्यो, परेपनि अलिअलि मात्रै पर्छ ।

बाह्रै महिना सेताम्मे हुने हिमालमा हिउँ छैन । जुम्लाका पातारासी हिमाल, भुरिचुला, चिमारा मालिका, डाँफेलेकजस्ता क्षेत्रमा समेत हिउँ देखिन्न । हिमालमा हिउँ नभएका कारण हिमालहरूको सौन्दर्य हराउँदै गएको बताउँछन् । हिमालै हिमालको देशमा हिमपातमा व्यापक बदलाव हुनु पर्यटनका लागि दुर्भाग्यको कुरा हो । अन्नबालीसहित जडिबुटी उत्पादनमा समेत असर हुने देखिन्छ । वैशाखदेखि असार पहिलो सातासम्म यार्सागुम्बा संंकलन गरी जीविका चलाउने स्थानीयलाई हिउँ नपर्दा चिन्ता बढेको छ । पर्याप्त हिउँ नपरे यार्सासमेत कम पाइने स्थानीयहरू बताउँछन् । जुम्लामा लगाइएका हिउँदेबाली सुक्न थालेका छन् । हिउँदेबालीका लागि सिँचाइ नभएको ठाउँमा हिउँको विकल्प छैन । स्याउ र ओखरका लागि समेत हिउँ अत्यावश्यक हुन्छ । हिमपात नहुँदा स्याउलाई माइनस तापक्रममा माटोमा पानीको मात्रा पुग्दैन । जाडो मौसममा स्याउका विरुवा एक हजार घण्टा सुसुप्त अवस्थामा पुग्नुपर्छ, हिमपात नहुँदा पछि फूल तथा दाना झर्ने समस्या हुन्छ । उत्पादनमा गिरावट आउने खतरा हुन्छ । त्यसैले हिमालय क्षेत्रका जलवायु परिवर्तनको असरका बारेमा गम्भिर हुनुपर्ने बेला आएको छ ।

जलवायु परिवर्तनको असर विभिन्न क्षेत्रमा देखिन थाले पनि सरकारी तहबाट त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम भने चालेको पाइँदैन । जलवायु परिवर्तनले हिमालमै हिउँ नपर्नु, उत्पादनमा ह्रास, रोजगारी गुम्नु, बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी र भोकमरी लगायतका समस्या देखा पर्दै जाने संकेत विज्ञहरूले गरेका छन् । तर सम्बन्धित निकाय भने गम्भिर बनेको छैन । जलवायु परिवर्तनका असर र यसका असरलाई कम गर्न समुदायमा सचेतनाका कार्यक्रम आवश्यक रहेको छ ।

प्रकाशित मितिः   १७ पुष २०८०, मंगलवार ०५:०३