सरकार र मृतकका आफन्तबीच सहमति
सुर्खेत: सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारका बीच चार बुँदे सहमति भएको छ । सोमवार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच छलफलपछि चार बुँदे सहमति भएको हो ।
गत शुक्रवार ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप भएको थियो । प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो । दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको हो ।
मृतक परिवारलाई सरकारले १०–१० लाख रूपैयाँ दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरिसकेको थियो । त्यसबाहेक मृतक परिवारका सदस्य एक–एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो । सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ ।
दुवै मृतकलाई शहिद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने पनि सहमति भएको हो । शव सम्बन्धित जिल्लामा पु¥याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्रका बुवा टेकबादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालको उपस्थिति रहेको थियो । उक्त सहमति अछाम क्षेत्र नम्बर एकका सांसद शेरबहादुर कुँवर, दैलेख–२ का सांसद दिक्पाल कुमार शाही, दैलेक १ का अम्मरबहादुर शाही, अछाम २ का सांसद पुष्पबहादुर शाह र दीपा कुमारी शर्माको रोहवरमा गरिएको हो ।
मृतकका आफन्तहरूले गृहमन्त्रीको राजीनामा, मृतकलाई सहिद घोषणालगायतका माग राखेर केही दिनयता लगातार आन्दोलन गरिरहेका छन् । सुर्खेत, दैलेख, मुगुलगायतका जिल्लामा प्रदर्शन गरिएको हो ।
प्रकाशित मितिः १७ पुष २०८०, मंगलवार ०५:०१
साझा बिसौनी ।