सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता

सुर्खेत: सुर्खेतमा राष्ट्रियस्तरको भलियोल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पुस २० देखि २६ गतेसम्म ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वीरेन्द्रनगरमा हुन लागेको हो ।

मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर दिइएको जानकारी अनुसार प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी हुनेछन् । एक टिमबाट १५ जना गरेर १० टिमबाट कर्णालीमा एक सय ५० जना खेलाडीहरू आउनेछन् । प्रतियोगिता समापन गर्न ५६ लाख बढी रकम लाग्ने जनाइएको छ ।

नेपाल भलिबल संघको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो । कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यो खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुने जनाइएको छ । प्रदेशमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नु गौरवको कुरा भएको उनले बताए ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी भइरहेको छ । प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापक कर्णाली प्रदेश भलिबल संघ रहेको छ । प्रतियोगिताले कर्णालीको भलिबल खेल प्रवद्र्धनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

दुई दशकपछि सुर्खेतमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुन लागेको हो । यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो । कर्णाली भलिबल खेलको उर्वरभूमि भएपनि प्रतियोगिता र प्रशिक्षक नहुँदा पछाडि परेको नेपालका लागि पहिलो भलिबल क्याप्टेन रेशम गुरुङले बताए ।

प्रकाशित मितिः   १८ पुष २०८०, बुधबार १०:४३