कर्णालीदेखि काठमाडौंसम्म
कर्णालीको भूगोलमा जन्मे–हुर्केर काठमाडौंसम्मको यात्रा तय गर्नेको कथा कस्तो होला ? सम्झँदा पनि कहाली लाग्ने सुदूरदेखि शक्तिशाली केन्द्रसम्मको संघर्ष कति रोमाञ्चक अनि सनसनीपूर्ण होला ? कर्णालीका सन्तान जसले केन्द्रसम्मै पहुँच राखे उनीहरुको कथा वृत्तान्त हो– कर्णालीदेखि काठमाडौंसम्म । कर्णाली उत्सवको चौथो संस्करणको अन्तिम सत्रको रूपमा यही विषयमा छलफल गरिएको थियो । छलफलमा डोल्पाका सत्य पहाडी, जुम्लाका नरेश भण्डारी, दैलेखका विष्णु रिजाल र कालिकोटका भूपेन्द्रजंग शाहीले भाग लिएका थिए । कथाकार महेशविक्रम शाहले छलफलको सहजीकरण गरेका थिए ।
सानैदेखि राजनीतिमा बढी चासो भएको हुनाले कालीकोटको गाँउबाट राजधानीमै पुगेर पनि राजनीतिमा संलग्न छु । म नेविसंघको केन्द्रीय सदस्य बन्दा प्रतिस्पर्धा गर्न त्यति जटिल थिएन । किनभने कर्णालीको एउटा कोटा हुन्थ्यो त्यसमा म सदस्य भएँ । तर केन्द्रीय उपाध्यक्ष हुनलाई मैले धेरै संघर्ष गरेँ ।
कतिसम्म भने घर कालीकोट हो भन्दा यो कुन जिल्लामा पर्छ भन्नेपनि हुन्थे । कर्णालीका धेरै ठाउँ अझै गुमनाम नै छन् । नेतृत्वले त्यसलाई चिनाउने हो । तर हामीकहाँ नेतृत्वकै अभाव छ । हामीले उच्च नेतृत्व विकास गर्नु जरुरी छ ।
अर्कोतर्फ कर्णालीमा खाद्यान्न संकट हुन्छ । चामल हुँदैन त्यसैले कसैले पनि भात खान पाएको छैन भन्ने हुन्थ्यो । साथीहरूले भात खान नपाएपनि तिमी मोटो देखिन्छौँ भन्दा मन खिन्न हुन्थ्यो । गौरवशाली इतिहास बोकेको कर्णालीलाई हेर्ने नजर अब बदलिनु जरुरी छ । र त्यसलाई बदल्ने हाम्रै जिम्मा हुनुपर्छ । कर्णालीले अब उपेक्षा सहनु हुँदैन । अभाव र दुर्गमको पर्याय मात्रै बन्नुहुँदैन । अब कर्णालीले सम्भावनाको ढोका खोल्नुपर्छ । यसका लागि कर्णालीका नागरिक, यहाँका युवा पुस्ता, वौद्धिक जमात सबै लाग्नुपर्छ ।
अर्कोतर्फ कर्णालीको विकास गर्ने दायित्व कर्णालीको मात्र पनि होइन । मुलुकको समविकासका लागि कर्णालीको विकास केन्द्रमा पनि उत्तिकै महŒवको विषय बन्नुपर्छ । हामीले विकास माग्ने र कसैले विकास दिने परिपाटीको अन्त्य गर्नुपर्छ ।
अब कर्णालीको गलत परिचय बदल्नुपर्छ । र हामी सबैमा त्यो आत्मविश्वासको विकास गर्नुपर्छ । हामी केही गर्न सक्दैनौँ कि भनेर सोच्नु नै हाम्रो कमजोरी हो । हामी सधैं पिछडिएर बस्नु हुँदैन ।
कर्णालीको मनोविज्ञान बुझ्न र स्वीकार गर्न काठमाडौंलाई निकै गार्हो छ । तर कर्णालीको विभेद, कर्णालीको धैर्यता, कर्णालीको उत्साह, कर्णालीको साहस, कर्णालीको वीरता, र केही गर्नैपर्छ भन्ने सकरात्मक हुटहुटी देखेपछि काठमाडौं नतमस्तक भएकै होला ।
हाम्रो इतिहास खुला किताबको पाना जस्तै छ । कर्णालीको मुक्तिका लागि राजनीति धेरै महŒवपूर्ण छ भन्ने लाग्छ । कुनैपनि ठाउँको विकास त्यहाँ हुने राजनीतिले प्रभावित हुन्छ । किनभने राजनीति विचारले निर्देशित हुन्छ । र त्यो विचार मानिसलेनै निर्माण र विकास गरेको हुन्छ । त्यसकारण पहिला हामी त्यसपछि पार्टी हो भन्ने लाग्छ । हामीभन्दा माथि पार्टी हुँदै होइन ।
हामीले कर्णालीलाई नै आधार मानेर एकात्मक विभेदकारी राज्यव्यवस्थाको विरोध गरेका हौँ । कर्णालीको मुक्तिलाई ध्यानमा राखेर समानुपातिक समावेशिताको नारा लगाएका हौँ । दुर्गम क्षेत्रलाई राज्यले फरक ढङ्गले हेर्नुपर्छ भन्ने माग राखेका हौँ ।
अहिलेजस्तो समानुपातिक, समावेशी र संघीय राज्य नबनेको भए हामीले कर्णालीका आवाज केन्द्रलाई सजिलै सुनाउन सक्दैनथ्यौँ । हामीले माग्ने र केन्द्रले दिने परिपाटीको अन्त्य हुँदैनथ्यो होला । काठमाडौंले दिएकोमा चित्त बुझाउने र तौलिएर खानुपर्ने अवस्था कायमै हुन्थ्यो होला ।
हामीले एक दशक लामो जनयुद्ध गर्यौं । जनआन्दोलन गर्यौं । विभिन्न क्षेत्रमा क्षेत्रीय आन्दोलन भए । त्यसपश्चात् प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रमा महिलाहरूको ३३ प्रतिशत सहभागिता संविधानमै सुनिश्चित गरिएको छ । संविधान बमोजिम नै स्थानीय तहहरूमा ६० प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ । प्रदेशमा ४० प्रतिशत महिलाको उपस्थिति छ । संघमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता छ । यसका साथै महिला हिंसाको अन्त्य र सामाजिक न्याय सहितको आर्थिक सामाजिक रूपान्तरणका विषयहरू पनि सरकारका प्रमुख कार्यक्रमका रूपमा रहेका छन् । महिला सहभागिता विस्तार भएको छ र महिला मुक्तिको एउटा आधार तयार भएको छ ।
म त्यो श्रेणीमा पर्छु जसले कर्णालीलाई चाँदीको घेरा देखेको छ । कर्णालीले सुन खानीमा नुन खोजी रहेको छ । कर्णाली विगतको खस साम्राज्यको केन्द्र हो र कर्णालीले बाँकी मुलुकलाई समृद्धिको सन्देश मात्र होइन विकासको खाका समेत प्रस्तुत गर्न सक्छ ।
कर्णाली सम्भावनाको सरोवर हो । कर्णालीलाई बदल्न सकिन्छ । यो मुलुकको विकास र समृद्धिको सूर्योदय कर्णालीबाटै हुन्छ हुनुपर्छ । कर्णालीमा केवल दुःखका कुराहरू लेखिंदैनन् । केवल पीडाका गीतहरू गाइँदैनन् । आँशुको धारा मात्रै कर्णाली होइन । र शे फोक्सुन्डोमा डुबेर कर्णालीका सपनाको अन्त्य भएको छैन ।
समय बदलिंदै गएको छ । कर्णालीका साधन श्रोतहरू कर्णाली बासीका लागि हो भन्ने बुझ्न लागिएको छ । प्राकृतिक साधन श्रोतमाथि रैथानेहरूको अधिकार संविधानमै सुनिश्चित गरिएको छ । संघीय व्यवस्था अवलम्वन गरेपश्चात् कर्णालीको प्रचुर सम्भावनालाई कर्णालीका जनताको जीवनमा उपयोग गर्ने प्रयास गर्नु जरुरी छ । खासगरी संघीयताको सर्वोत्तम अभ्यास हामीले कर्णालीबाट गर्नुपर्छ । विकास कसैको बक्सिस होइन बरु नागरिकको सार्थक प्रयास हो । अब कर्णालीको विकासका लाग विशेष नीति तथा कार्यक्रम तय गर्नुपर्छ । हामीले कर्णालीलाई विशेष प्रदेशका रुपमा स्थापित गर्नु जरुरी छ । सरकारलाई धारे हात मात्र लगाउने होइन जनता विकासका साझेदार बन्नुपर्छ ।
कर्णालीमा केही पनि नभएको भने पक्कै होइन । यहाँ धेरै कुरा भएको छ । यद्यपि, हामीले सोचे जस्तो कर्णाली बनिसकेको छैन । कर्णालीका सम्भावनाहरूलाई वास्तविकतामा बदल्ने अभियान भने जारी नै छ ।
कर्णालीमा केही पनि हुँदैन भन्ने जो भाष्य बनेको छ त्यो गलत हो । दुर्गम कर्णालीले पहिले अन्यत्र शहरमा बिरामी पठाउँथ्यो अहिले डाक्टर पठाउछ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै अहिले सय भन्दा बढी डाक्टर कार्यरत छन् । कर्णालीमा जे गर्न पनि सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्छ । ‘गरे हुन्छ, हिंडे पुगिन्छ’ भन्ने एउटा दृष्टान्त हो– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान । काठमाडौंले कर्णालीलाई स्वीकार नगरेसम्म देश नै गरिबीको दलदलमा फस्ने निश्चित छ ।
हामी बहुदलीय लोकतन्त्रमा छौँ । दलीय व्यवस्थामा दलविना कुनै पनि क्षेत्रको राजनीतिक प्रतिनिधित्व हुँदैन, गर्न सकिँदैन । कर्णालीको पहिचान वा कर्णालीको व्यक्तित्व पनि राजनीतिक नै हो । हामीले निर्दलीय वा गैरदलीय वा स्वतन्त्र शासन प्रणालीको कल्पना गरेका छैनौँ । त्यसैले हामीपनि कुनै न कुनै पार्टीको प्रतिनिधित्व गर्छौं र जिम्मेवारी प्राप्त भएमा कर्णालीका जनताको सेवा गर्छौं । तर कर्णालीले किन उच्च नेतृत्व विकास गर्न सकेको छैन भन्ने कुरा धेरैनै महŒवपूर्ण छ । हामीले त्यतातर्फ ध्यान दिनुपर्छ । किनभने नीतिनिर्माण तहमा जब हाम्रो पहुँच हुँदैन तब हामी किनारामा पर्ने कुरा निश्चित छ ।
यहाँको पवित्र पञ्चकोशी क्षेत्रको ऐतिहासिकता र धार्मिक महŒव बारे विभिन्न ग्रन्थमा वर्णन गरिएको छ । त्यसलाई हामीले चिनाउन सक्नुपर्छ । हाल दैलेखमा तेल उत्खननको काम पनि सुरु भएको छ । यसबाट आर्थिक सम्भावनाको खोजी सुरु भएको छ । सन् २०१६ मा चीनसँग भएको सम्झौता बमोजिम कर्णाली करिडोरको विकास एउटा महŒवपूर्ण परियोजना हो । त्यसको विकासले मात्रै हामी कर्णालीलाई धेरैमाथि लैजान सक्छौँ ।
प्रकाशित मितिः ११ पुष २०८०, बुधबार ११:०४
कुडा कर्णालीका ।