स्वास्थ्य सेवामा विस्तार

भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चुमा ५० शैय्याको सरुवा रोग अस्पताल बन्ने भएको छ । तीन वर्षअघिदेखि नै अस्पताल निर्माणको चर्चा सुरु भएपनि यो वर्षदेखि कामले पूर्णता पाउने भएको हो । जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृत भएसँगै काम अघि बढेको छ । यसै आर्थिक वर्षबाट सरुवा रोग अस्पताल निर्माणको काम थालिने जनाइएको छ । यसअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) सम्पन्न गरिसकेको छ । अर्थमन्त्रालयमा बजेटको स्रोत सुनिश्चितताका लागि फाइल पेस गरिएको छ । मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भए बहुवर्षिय ठेक्का प्रणालीबाट काम सुरु गरिने छ ।

सरकारले अस्पताल निर्माणका लागि तीनवर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । आर्थिक वर्ष २०७८र०७९ मा पाँच करोड बजेट विनियोजन गरेको थियो । उक्त वर्ष काम भएन । आर्थिक वर्ष २०७९र०८० मा सरकारले पाँच करोड नै बजेट विनियोजन ग¥यो । तर जग्गा प्राप्ति र ईआइए स्वीकृत नहुँदा काम हुन नसकेको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । चालु आर्थिक वर्षमा समेत सरकारले पाँच करोड नै बजेट विनियोजन गरेको छ । जग्गा प्राप्ति र ईआइए स्वीकृत भएसँगै अस्पताल निर्माणको काम अघि बढेको प्रदेश सरकारले जनाएको छ । बजेटको सुनिश्चितता भए अस्पताल निर्माणको बहुवर्षिय ठेक्का प्रक्रिया थालिनेछ । डिपीआरअनुसार २० करोडको लागत अनुमान छ । सरकारले प्रत्येक आर्थिक वर्षमा पाँच÷पाँच करोड बजेट विनियोजन गर्ने गरेको छ । २०७९ असार २ गते बसेको मन्त्रीपरिषद्को बैठकले अस्पताल निर्माणका लागि जग्गा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम प्रदेशको सामाजिक विकास मन्त्रालय र वन विभागसँग २०७९ फागुन १५ गते सम्झौता भयो । सम्झौता अनुसार राष्ट्रिय वनको चार दशमलव नौ हेक्टर क्षेत्रफलमा अस्पताल बनाउन अनुमति दिइएको छ । उक्त वन क्षेत्रमा पर्ने एक सय ४१ रुख कटान गरिएको छ ।

डिपीआर निर्माण, ईआईए स्वीकृत र जग्गा प्राप्ति लगाएतका काम भइसकेकाले निर्माणको काम समयमै अघि बढ्ने अपेक्षा गरिएको छ । खासगरी भौतिक पूर्वाधार निर्माणमा ढिलाइ हुने गरेको छ । अस्पतालजस्तो संवेदनशील स्वास्थ्य संस्थाको संरचना निर्माणमा ढिलाइ नगरी समयमै काम सम्पन्न गर्नेगरी अघि बढाउन जरुरी छ । समय समयमा सरुवा रोगको ठूलो संक्रमण फैलिने गरेको कर्णाली प्रदेशमा यो अस्पताल स्वास्थ्य सेवाका दृष्टिले महत्वपूर्ण सावित हुनसक्दछ ।

प्रकाशित मितिः   १० पुष २०८०, मंगलवार ०५:०३