भूकम्प प्रभावितको संख्या वृद्धि

सुर्खेत: कर्णाली प्रदेशमा भूकम्पबाट प्रभावितहरूको संख्यामा वृद्धि भएको छ । प्रारम्भिक विवरणभन्दा अहिले संकलन भइरहेको विस्तृत विवरणमा संख्या बढेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमवारसम्म प्रभावितको संख्या ६७ हजार सात सय ८० पुगेको छ । विवरण संकलन भइरहेकाले यो संख्या अझै थपिनसक्ने जनाइएको छ ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट यसअघि करिब ६० हजार नागरिक प्रभावित भएको तथ्यांक सार्वजनिक गरिएको थियो । पछिल्लो अध्यावधिक तथ्याङ्कमा झन्डै नौ हजार थपिएका हुन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले संख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए । सुरुमा २८ हजार लाभग्राही कायम भएको थियो । त्यसपछि चार हजार थपिएर ३२ हजार हुनपुग्यो । बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो । प्राप्त विवरणअनुसार अहिलेसम्म जिल्लामा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ लाभग्राही कायम भएको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए ।
लाभग्राहीको संख्या बढिरहेसँगै उनीहरूका लागि पुनःस्थापन तथा अस्थायी आवास निर्माणको लागत पनि बढ्नेछ । अहिलेसम्म ती लाभग्राहीको अस्थायी आवास निर्माणका लागि रू. दुई अर्ब २६ करोड भन्दाबढी केन्द्रबाट जिल्लामा रकम पढाइ सकिएको छ । अझै लाभग्राही बढ्नसक्ने हुँदा अनुमानित लाभग्राहीका आधारमा रू. चार अर्ब ७५ करोड आवश्यक हुने देखिएकाले थप रकम मागका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पु¥याएको थियो । अहिले सो क्षेत्रका पीडितको अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।

प्रकाशित मितिः   १० पुष २०८०, मंगलवार ०५:२०