‘संविधानमा लेखिएका अधिकार नै कार्यान्वयन भएन’
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपालको संविधानले महिला–पुरुषको विभेद अन्त्यको व्यवस्था गरेपनि पूर्ण कार्यान्वयनमा आउन नसकेको बताएकी छन् । सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) को सोमवार वीरेन्द्रनगरमा आयोजित २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले संविधानमा उल्लेखित महिला हकलाई व्यवहारमा लागू गर्न अझैं संघर्ष गर्नुपर्ने बताएकी हुन् ।
नगर प्रमुख ढकालले कानुन, नीति र नियमन बन्दा महिला र पुरुषबीच कतिपय सन्दर्भमा विभेद कायमै रहेको बताइन् । पारिवारिक जिम्मेवारीजस्तै सामाजिक, प्रशासनिक र राजनीतिक जिम्मेवारी पूरा गर्न महिला सक्षम रहेको उनको भनाइ थियो । ‘अहिलेसम्म महिलाले सम्हालेको नेतृत्व उदाहरणीय छ,’ उनले भनिन्, ‘न्यायिक समिति, योजनानिर्माणको जिम्मेवारी विभेदरहित तरिकाले सम्पन्न भएका छन्, जिम्मेवारी पाएपछि सबैले पूरा गर्न सक्छन्, तर अझैं मिहेनत गर्नुपर्ने अवस्था छ ।’
संविधान निर्माणमा हामी सबैको योगदान र लगानीभएकै कारण महिला हक र अधिकार सुनिश्चित भएको बताउँदै भनिन्, ‘आज देशभरका पालिकामा प्रमुख र उपप्रमुखमध्ये एक महिला, वडामा दलितमहिला र महिला हुनुहुन्छ, कानुन महत्वपूर्ण कुरा हो ।’ वीरेन्द्रनगर–१२ का वडाध्यक्ष चुडामणी चपाईंले वामले समाजमा उदाहरणीय कार्य गरेको भन्दै वडा कार्यालय सहकार्य गर्न तत्पर रहेको बताए ।
संस्थाका अध्यक्ष देवी पौडेलको अध्यक्षता र सचिव यामकुमारी लामिछानेले सञ्चालन गरेको समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष मञ्जु राना क्षेत्री र महासचिव अमृताकुमारी आचार्यले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष माया नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा संस्थामा महŒवपूर्ण योगदान निर्वाह गरेका कर्मचारी र पूर्व कर्मचारीलाई प्रसंशापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसका साथै साधारणसभामा संस्थाद्वारा सञ्चालित सामुदायिक सुरक्षा जालो परियोजनाको सहयोगमा वीरेन्द्रनगर–१२ स्थित हस्तबीर आधारभूत विद्यालयका १६ र अमरज्योति माविका तीन जना गरी १९ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । साधारणसभाले संस्थाको प्रगति छ ।
प्रकाशित मितिः १० पुष २०८०, मंगलवार ०५:०२
साझा बिसौनी ।