अघि बढ्दै विद्युत आयोजना

विद्युत विकास विभागले डोल्पा जिल्लामा निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भएको छ । ईआईए स्वीकृत भएसँगै आयोजना निर्माणको काम अघि बढेको छ । एक सय ६ मेगावाटको अर्धजलाशययुक्त जलविद्युत आयोजनाले अबको एक हप्तामा उत्पादन अनुमतिपत्र पाउनेछ । विभागले आयोजनाको प्रबन्धक जगदुल्ला हाइड्रोपावर कम्पनीको नाममा उत्पादन अनुमतिपत्र दिन लागेको हो । विद्युत ऐन २०४९ को दफा ४ तथा विद्युत नियमावली–२०५० को नियम १५ बमोजिम आवश्यक जाँचबुझ गरी नियम १६ मा भएको व्यवस्थाबमोजिम प्रबन्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिइनेछ । अबको एकहप्तामा उत्पादन अनुमतिपत्र उपलब्ध हुने छ ।

अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा आवासगृह निर्माणको काम भइरहेको छ । अब आयोजनाको संरचना निर्माणको काम सुरु गरी २०८६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०७८ सालमा नै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सम्पन्न भएको थियो । डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका हुँदै बग्ने जगदुल्ला नदीमा निर्माण हुने आयोजनाबाट एक सय ६ मेगावाट विद्युत उत्पादन हुने जनाइएको छ । आयोजनाको विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिका–७ इलमा निर्माण हुनेछ । जगदुल्ला गाउँपालिका वडा नं. १ हुरीकोटमा २० मिटरको जलाशययुक्त बाँध निर्माण गरी सुरुङमार्गमार्फत् विद्युत गृहमा पानी खसालिने छ । सुरुङ ६ दशमलव एक किलोमिटर लामो हुनेछ । यसका साथै तीन सय मिटर जमिनमुनि भूमिगत विद्युत उत्पादन गृह निर्माणसमेत गरिनछ । विद्युतगृह सडक खण्डमा डेढ किलोमिटर ब्लास्टिङ कार्य सुरु भएको आयोजनाले जनाएको छ । जलविद्युत आयोजना निर्माण कार्यलाई लक्षित गरी त्रिवेणीदेखि हार्डकटिङको काम सुरु गरिएको हो । त्रिवेणीदेखि हाइड्रोको पावर स्टेसन रहने ईल गाउँसम्म बीचबीच भागमा सडक निर्माण यस अघिनै भइसकेको छ । त्रिवेणीदेखि ईलसम्म विभिन्न स्थानमा कडा चटान भएका कारण ब्लास्टिङको लागि विभिन्न प्रक्रिया पूरा गरी गत मंगलवारदेखि काम सुरु भएको छ ।

आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट स्वीकृत र विद्युत खरिद बिक्री सम्झौता (पिपिए) को काम सम्पन्न गरेको छ । अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ । २० अर्ब लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक एक करोड २० लाख आम्दानी हुने कम्पनीले जनाएको छ । आयोजना निर्माणपछि राज्यलाई वार्षिक झण्डै २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ । कर्णालीको पानी सदुपयोग गरी ऊर्जा उत्पादनमा यो आयोजनाले अर्को एक इट्टा थप्नेछ ।

प्रकाशित मितिः   ९ पुष २०८०, सोमबार ०८:११