विमानस्थलको धावनमार्गमा राजनैतिक उडान

‘फेरि विमानस्थल विस्तार गर्ने चर्चा चलेको छ नि हजुर !’ कोही आफन्तले पंक्तिकारलाई जिज्ञासा राखे । चाकरीवाजहरूको मन्त्रणामा मक्खिएर राज्यले सत्ताको दुरूपयोग ग¥यो भने विस्तार हुनसक्ला तर लालचलाई लत्याएर राज्यले विवेक पु¥यायो भने हुँदैन विस्तार । मनमा जो दृढ विश्वास थियो त्यही विचार जिज्ञासाको उत्तर बन्यो । यो विमानस्थलको भूगोल बुझ्न नपाएका पाठकका मनमा विस्तार नहुनु पर्ने कारण के रहेछ भनी प्रश्न उभिनु अस्वभाविक होइन, तर भूगोल बुझेका पाठकलाई यो औचित्यपूर्ण छैन भन्ने पनि प्रष्ट भइसकेको छ ।

सुर्खेत विमानस्थल विस्तारको फन्डा फेरि चर्चामा आएको छ र विमानस्थल गिजोल्ने नेताहरू मिडियामा मुखरित हुन थालेका छन् । हाल ८० सिट क्षमताको श्रीएयरको जहाजले कुनै कठिनाइबिना सहजरूपमा सुर्खेत–काठमाडौं एक उडान र वर्षदिन पहिलादेखि बुद्ध एयरको ७० सिट क्षमताको जहाजले दुई उडान गरी दैनिक तीन उडान सेवा सन्चालन गरिरहेका छन् । तर पनि धावनमार्ग विस्तार नगरी हुन्न भन्ने लफडाको अन्त्य भएको छैन र हुँदैन पनि किनकि धावमार्ग जहाजको लागि नभएर राजनीतिको लागि मात्र विस्तार गर्नुपर्ने भएको छ  । हिजोका अनावश्यक अत्तो र अडान फुक्दै र भत्कँदै गएपछि राजनीतिले फेरि नयाँ फन्डा अगाडि सारेको छ सुर्खेतबाट रात्रीकालीन सेवा सञ्चालन गर्ने ।

विगतमा ४७ सिटको बुद्धएयरको जहाजले एकाधिकार कायम गरी सुर्खेत–काठमाडौंका लागि मनपरि भाडा असुल गर्दा ७२ सिटको ठूलो जहाज उड्ने भएपछि मात्र भाडा घट्छ, त्यसको लागि धावनमार्ग विस्तार गर्नै पर्छ भन्ने मानसिकताबाट ठूलो भ्रम फैलाइयो । विकासको मायाले हो कि कुनै गहिरो स्वार्थले हो केही कर्मचारी, व्यापारी र वुद्धिजिवीहरू पनि भ्रमको पछाडि खुब दौडिए । २०७८÷११÷२२ गते कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्रीको उपस्थितिमा भएको परिणाममुखी छलफलबाट विमानस्थल विस्तारको अध्याय समाप्त गरिएपछि विकल्पको रूपमा मदानेचौरको सम्भावना अलि बलियो हुँदैजाँदा बुद्ध एयरको ७२ सिटको जहाजले हतारमा परिक्षण उडान गरेर दैनिक दुई उडान गरेर अटुट रूपमा सेवा दिइरहेका छन् । यद्यपि, कतै एक इन्चसम्म पनि विमानस्थल विस्तार भएको छैन, तर पनि सहज अवतरण ग¥यो राजनीतिको इशारा पर्खेको जहाजले ।

जहाजको तापक्रम तौल र सिट संख्यामा बाध्यात्मक सन्तुलन गरी चलाउन पर्ने भएकोले विमानस्थल विस्तार अनिवार्य गर्नु पर्छ भन्दै फेरि उम्लियो दूषित राजनीति । हो मा हो मिसाए लम्पटदास हनुमान र सुग्रीवहरूले । दुई वर्ष अगाडि परिक्षण उडान गरिसकेको श्रीएयरले हालै मात्र अनुमति पाएर होलो र सस्तो भाडामा काठमाडौं–सुर्खेत उडान सञ्चालन गरेपछि विमानस्थल विस्तारको मुद्दा अर्थहीन मात्रै रहेछ भन्ने सबैमा छर्लङ्ग बुझिन आयो । तर केही जिल्लामा धमाधम विमानस्थल निर्माण भइरहेका छन् । विमानस्थल निर्माण हुनु र जहाज पनि चल्नुलाई अन्यथा भन्नै मिल्दैन तर जहाज नबस्ने विमानस्थल निर्माण र धावनमार्ग पर्याप्त पुग्दापुग्दै पनि विस्तार नगरी नहुने कारण के रहेछ ? यो प्रश्नको सिधा उत्तर हो बजेट ।

काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको अत्यधिक चाप बढ्दै गएकोले विकल्पको रूपमा नजिकै निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु जरुरी पनि थियो किनकि निर्माणाधीन द्रुतमार्ग तयार भएको खण्डमा निजगढ–काठमाडौं ७२÷७३ किलोमीटरका लागि अधिकतम् डेढ घण्टाको समय लाग्ने हो । तर देशमा एकैचोटी दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरियो, आवश्यकता महशुस भएको निजगढमा होइन, पर्यटन प्रवद्र्धनका लागि भनेर पोखरामा र बौद्धमार्गीलाई पनि लक्षित गरेर भैरहवामा । २८ अर्बमा पोखराको विमानस्थल र नौ दशमलव ५० अर्बमा भैरहवाको विमानस्थलसमेत चिनियाँ ऋणबाट निर्माण सम्पन्न भएपनि जहाजको उडान अवतरण नहुँदा ती अन्तर्राष्ट्रिय विमानस्थल घाममा सुकिरहेका छन् । यी दुई वटा विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार भएको भनेर स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मात्र निरन्तर बोलेका छैनन्, पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन भनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि गत साल चैत १० गते सार्वजनिक रूपमा अभिव्यक्ति दिएका छन् । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलले सय वर्षमा पनि लगानी उठाउन सक्दैन भनिरहेका छन् चिन्तनशील विद्वानहरू । अब यहाँ ठूला जहाज कहिले आउँछन् भनी पोखरेली जनताले सोधेको प्रश्नमा नाजवाफ भएका थिए बोलेर सित्ती नथाक्ने पर्यटनमन्त्री सुदन किराँती । जहाज चलाउने प्रबन्धको माग राखेर होटल व्यवसायी र जनताले भैरहवामा आन्दोलन गर्नु परिरहेको छ । तर उडानका लागि आकाश मार्ग नदिएको भनी छिमेकीलाई दोष दिएर पानीमाथिको ओभानो हुन खोजिरहेको छ गणतन्त्र नेपालको सरकार ।

ऋण काढेर योजना निर्माण गर्ने तर योजनाले कहिल्यै पनि प्रतिफल नदिने हो भने कसरी हुन्छ आर्थिक उन्नति ? यस्तो हचुवाको भरमा किन गरियो ऋणको दुरूपयोग ? यी प्रश्नले अनन्तसम्म मागिरहने छन् जवाफ । आवरणमा विमानस्थल निर्माण भएको गजबको विकास देखिने भयो, यस्तो विकासले जनसाधारणको ध्यान पनि तान्ने नै भयो । यही कमजोरीमा टेकेर वा केन्द्रको समेत सिको गरेर केही जिल्लाहरूमा धमाधम निर्माण भइरहेका छन्, विमानस्थल । गुल्मी रेसुंगामा निर्मित विमानस्थलमा गत वर्ष पहिलो पटक जहाज अवतरण गर्ने दिन सम्बन्धित नगरपालिकाले सार्वजनिक बिदा दिएको विषय पाठक वर्गमा समेत अवगतै होला । त्यसपछि जहाज त्यहाँ फर्केर आएको छैन । त्यसैगरी बाग्लुङको बलेवा विमानस्थल पनि जहाज विना उदास भएको छ । कालीकोट कोटबाडाको सुनथराली विमानस्थलले जहाजको छायासम्म पाएको छैन । विमानस्थल हुने तर विमान नचल्ने के यही हो त विकास ? अवश्य होइन, यो विनाश नै हो ।

कुनै पनि योजना तथा आयोजनाको प्रारम्भिक अध्ययन र विस्तृत अध्ययनका लागि खर्च भएको मोटो रकम न्यायीक निकायले छानबिन गर्न नपाइने कानुनी व्यवस्था रहेछ । यही छिद्र प्रयोग गरेर बन्दै नबन्ने योजनाका लागि पनि प्रारम्भिक अध्ययन र विस्तृत अध्ययन गरिन्छन् भन्ने जनगुनासोले पनि ठाउँ पाएकै छ हाम्रो समाजमा । विमानस्थल निर्माण सम्पन्न भइसकेपछि पनि जनताले हवाई यात्रा गर्न पाएनन् भने त्यसको के औचित्य रहन्छ ? विमानस्थल निर्माणलाई विकास होइन भन्न खोजेको पनि पटक्कै होइन तर आवश्यकताको पहिचान नगरी जथाभावी विमानस्थल निर्माण गर्नु र बस्ती मासेर विमानस्थल विस्तार गर्न खोज्नु भनेको न विकास हो न बुद्धिमत्तापूर्ण काम हो । यो खेती त बरु भ्रष्टाचारको नयाँ जुक्ति हो भन्दा अत्युक्ति हुँदैन ।

विमानस्थल निर्माण तथा विस्तारमा भौगोलिक बनोटको पनि कारण रहन्छ । पर्यटकीय क्षेत्र जोमसोममा हवाई उडानको ठूलो चाप हुन्छ । त्यहाँ ८० सिट र ७२ सिट क्षमताका ठूला जहाजले सेवा प्रदान गर्नुपर्ने हो तर त्यो सम्भावना छैन किन कि विमानस्थल ७/८ सय मिटर भन्दा लामो छैन र विस्तार गरेर ठूलो पार्ने पनि पर्याप्त ठाउँ छैन । त्यसकारण साना जहाजहरूले मात्र उडान भर्नुपर्ने बाध्यता छ । त्यति मात्र होइन हरेक दिन त्यहाँ १२ बजे पछि ठूलो हावा चल्छ, १२ बजे अगावै उडान सक्नुपर्ने अर्को बाध्यता पनि छ । अन्य पहाडी जिल्लामा पनि छन् यस्ता बाध्यता । प्रसंग जोड्न खोजेको के भने सुर्खेतमा त्यस्तो बाध्यात्मक परिस्थिति त छैन तर अब विस्तार गर्नमा भूगोल अनुकूल हुँदैन । पुग्दोसम्म विस्तार पनि भएकै छ तब त आन्तरिक उडानका सबैभन्दा ठूला–ठूला जहाज सहज रूपमा चलिरहेका छन् । विमानस्थल पर्याप्त पुग्दापुग्दै पनि विद्याको मन्दिर मासेर अरु विस्तार गर्नैपर्छ भन्ने ढंगको दूषित सोचलाई उचित मान्न सकिँदैन । सत्ताको तुजुक देखाएर बलपूर्वक विस्तार गरियो भने पनि पछुतो बाहेक केही हुने छैन र त्यसपछि धिक्कारको भागिदार हुनुपर्ने छ फोहरी राजनीतिका खेलाडीहरू ।

हिजो रामघाट मदानेचौरमा विमानस्थल निर्माणको अध्ययन अनुसन्धान हुँदा राज्यको करोडौं रूपैयाँ लगानी भइसकेको छ । जुँगामा ताउ लगाउने र आफ्नो भाउ बढाउने नेताहरूले पुरानो विमानस्थल सार्न पाइँदैन भनेर किन नभनेको ? किनकि हिजो सबैसँग स्वार्थ मिलेको थियो । नयाँ विमानस्थलको सम्भावना खोजेर राष्ट्रको बजेट हिनामिना नपार भनेर हिजो दह्रो अडान राखेको भए प्रारम्भिक अध्ययन र विस्तृत अध्ययनका नाममा राज्यकोषको फजुल खर्च जोगिन सक्थ्यो नि । आज परिस्थिति फरक परेको छ, राजनीतिक गुट सञ्चालन गर्नुपरेको छ, एकले अर्कोलाई उछिनेर शिखरमा पुग्नु परेको छ । तब विमानस्थल विस्तारको कुरा उधिनेर माहोल आफ्नो पक्षमा पार्नु परेको छ ।

सुर्खेत विमानस्थल उत्तरतर्फ तीन सय मीटर विस्तार गरेर सुविधा सम्पन्न बनाउने कथा सुनाइएको छ, त्यसको यथार्थ विश्लेषण गरौँ । उत्तरमा नजिकै सिद्धपाइलाको ठूलो डाँडा भएकोले दोहोरो उडान अवतरण बिल्कुल सम्भावना छैन । विस्तार गर्दा त्यहाँ नेवारेको आधा गाउँ मात्र जाँदैन, करिब तीन हजार विद्यार्थीले पठनपाठन गर्ने विद्यालय पनि भत्काउनु पर्ने हुन्छ । गाउँ र विद्यालय अधिग्रहण बापतको मुआब्जामा नै अर्बौं रकम लगानी हुन्छ । विगतको परिणाममुखी छलफलमा नागरिक उड्डयन कार्यलय सुर्खेतका तत्कालीन कार्यालय प्रमुख तथा प्राविधिक कर्मचारीले विमानस्थल विस्तारको लागि साढे नौ अर्ब रकम खर्च हुने र निर्माण सम्पन्न हुन आठ वर्ष समय लाग्ने भनि जानकारी दिएको पनि हामीले सम्झिरहेका छौँ । यति ठूलो लगानीमा यसरी विस्तार गरे पनि यो विमानस्थलले १०/१२ वर्षभन्दा धेरै थेग्दैन विकल्पमा अर्को विमानस्थल त चाहिन्छ नै चाहिन्छ । यो प्राविधिकले मात्रै बोलेका कुरा होइन, मन्त्री, मुख्यमन्त्री, उपप्रधानमन्त्रीलगायतका साना ठूला नेता हरूले पटकपटक सार्वजनिक रूपमा भनेका छन् । यहाँ यो विमानस्थल विस्तार भएपछि भोलि सुर्खेत जिल्लामा अर्को विमानस्थलको आवश्यकता पर्दैन भनेर प्रत्याभूत कसले गर्न सक्छ ? विकल्पमा भोलि अर्को विमानस्थल अनिवार्य चाहिने हो भने आजैदेखि खोजौं र त्यतै तयारी गरौँ भन्ने हाम्रो भनाइ किमार्थ नाजायज हुन सक्दैन । ठूला जहाज सजिलै बस्न सक्ने यो विमानस्थल फेरि विस्तार गरेर विद्यालय मासेर ‘हलो काटी मुङ्ग्रो’ नबनाउँ । विस्तार गरे पनि भौगोलिक कारणले यो विमानस्थल काम चलाउ मात्रै हुने हो । काम त यसै पनि सहज रूपमा चलिरहेकै छ भने यसलाई लफडा बनाउनुको औचित्य छैन ।

विमानस्थलमा अनावश्यक राजनीतिक रिसइवी साँधेर ‘राँगाको लडाइँ पाडाको मिचाइँ’ गर्नुको सट्टा सुर्खेत–नेपालगञ्ज सडक ठाउँठाउँमा फाटेको छ, त्यसलाई टालेर चारलेन बनाउनेतर्फ ध्यान दृष्टि लगाएमा अत्यन्त ठूलो उपलब्धि हुन्छ । वास्तवमा यो क्षेत्रका लागि विकासको मुलद्वार भनेकै नेपालगञ्ज–सुर्खेत सडक हो । यसले जहाज चढ्ने सामथ्र्य भएका र नभएका सबै जनतालाई प्रभाव पार्छ । चीरकालसम्म सबैले निर्विवाद रूपमा सम्झने विकासको फलदायी प्रेरणा हुन्छ ।

 

प्रकाशित मितिः   ९ पुष २०८०, सोमबार ०८:३०