छिन्चुमा ५० शैय्याको सरुवा रोग अस्पताल

सुर्खेत: भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चुमा ५० शैड्ढयाको सरुवा रोग अस्पताल बन्ने भएको छ । तीन वर्षअघिदेखि नै अस्पताल निर्माणको चर्चा सुरु भएपनि यो वर्षदेखि कामले पूर्णता पाउने भएको हो ।

जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भएसँगै काम अघि बढेको छ । यसै आर्थिक वर्षबाट सरुवा रोग अस्पताल निर्माणको काम थालिने जनाइएको छ । यसअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) सम्पन्न गरिसकेको छ । अर्थमन्त्रालयमा बजेटको स्रोत सुनिश्चितताका लागि फाइल पेस गरिएको भवन डिभिजन कार्यालय सुर्खेतका प्रमुख रामकृष्ण आचार्यले बताए । मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भए बहुवर्षिय ठेक्का प्रणालीबाट काम सुरु गरिने उनले जानकारी दिए । गत भदौमा अर्थमन्त्रालयमा बजेटको स्रोत सुनिश्चितताका लागि कार्यालयले फाइल पेस गरेको हो ।

सरकारले अस्पताल निर्माणका लागि तीनवर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा पाँच करोड बजेट विनियोजन गरेको थियो । उक्त वर्ष काम भएन । आर्थिक वर्ष २०७९÷०८० मा सरकारले पाँच करोड नै बजेट विनियोजन ग¥यो । तर जग्गा प्राप्ति र ईआइए स्वीकृत नहुँदा काम हुन नसकेको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । चालु आर्थिक वर्षमा समेत सरकारले पाँच करोड नै बजेट विनियोजन गरेको छ । जग्गा प्राप्ति र ईआइए स्वीकृत भएसँगै अस्पताल निर्माणको काम अघि बढेको प्रदेश सरकारले जनाएको छ । बजेटको सुनिश्चितता भए अस्पताल निर्माणको बहुवर्षिय ठेक्का प्रक्रिया थालिनेछ । डिपीआरअनुसार २० करोडको लागत अनुमान छ । सरकारले प्रत्येक आर्थिक वर्षमा पाँच÷पाँच करोड बजेट विनियोजन गर्ने गरेको छ ।

२०७९ असार २ गते बसेको मन्त्रीपरिषद्को बैठकले अस्पताल निर्माणका लागि जग्गा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम प्रदेशको सामाजिक विकास मन्त्रालय र वन विभागसँग २०७९ फागुन १५ गते सम्झौता भयो । सम्झौता अनुसार राष्ट्रिय वनको चार दशमलव नौ हेक्टर क्षेत्रफलमा अस्पताल बनाउन अनुमति दिइएको छ । उक्त वन क्षेत्रमा पर्ने एक सय ४१ रुख कटान गरिएको वन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । रुख कटान गरी स्थानीय सामुदायिक वन उपभोक्ता समितिको जिम्मा लगाइसकिएको कार्यालयका सूचना अधिकारी प्रशान्त श्रेष्ठले बताए । उनले भने, ‘प्रदेश सरकार र वन विभागको सम्झौताअनुसार सो क्षेत्रमा पर्ने एक सय ४१ रुख काटेका छौँ ।’

प्रादेशिक अस्पताल निर्माणका लागि चार दशमलव नौ हेक्टर क्षेत्रफल छुृट्टाइएको छ । अस्पतालका लागि प्रस्तावित क्षेत्र छिन्चु–जाजरकोट सडक खण्डसँग जोडिएको छ । सडकको सहज पहुँच भएका कारण प्रस्तावित क्षेत्र अस्पताल निर्माणका लागि उपयुक्त रहेको भेरीगंगा नगरपालिकाले जनाएको छ । अस्पताल निर्माण गर्ने स्थान ठूलो र सडकसँग जोडिएको नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए ।

प्रदेश सरकारले भने यो वर्ष नै काम थाल्नेगरी तयारी भएको जनाएको छ । सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले निर्माणपूर्वका सम्पूर्ण काम सकिएको जानकारी दिए । अस्पताल निर्माणका लागि यो वर्ष नै टेण्डर गरेर निर्माणको काम थालिने उनको भनाइ छ । ‘डिपीआर निर्माण, ईआईए स्वीकृत र जग्गा प्राप्ति लगाएतका काम सकेका छौँ’ मन्त्री पोखरेलले भने, ‘अर्थबाट बजेट सुनिश्चितता हुने बित्तिकै निर्माणको काम थाल्छौँ ।’ अहिलेलाई ५० शैड्ढयाको प्रादेशिक सरुवा रोग अस्पताल भनिएपनि यसको शैड्ढया थपघट हुनसक्ने उनले बताए ।

प्रकाशित मितिः   ९ पुष २०८०, सोमबार ०८:१०