काल्पनिक समाजवादको अवधारणा

काल्पनिक समाजवादी धाराको प्रादूर्भाव प्राचीन ग्रीसबाट भएको हो । यद्यपि, यससम्बन्धी विचार इशापूर्व ५६३ वर्षअघि पूर्वीय समाज (नेपालको लुम्बिनी अञ्चलको तिलौराकोट)मा सिद्वार्थ गौतम (इ.पू.५६३–४८३)को जन्मसँगसँगै भएको हो । बुद्वम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामीको नारा दिएर बुद्धले सबैलाई संघमा आवद्ध गर्ने र सामुहिक जीवनपद्वति अवलम्बन गर्ने प्रयास नगरेका भने हैनन् तर त्यसप्रकारका विचारहरू परिणामतः धार्मिक सम्प्रदायभन्दा माथि उठ्न सकेनन् र अन्ततः बुद्वको परिनिर्वाणपछि उनका चेलाहरूले आफ्ना गुरुलाई ईश्वरको अवतारका रूपमा स्थापित गरे र शनैःशनैः त्यो विचार धार्मिक अन्धविश्वासको कर्मकाण्डीय जालोमा फस्दै गयो ।

अब उनीहरूका लागि समाज परिवर्तनको विषय ‘नजाने गाउँको बाटो नसोध्नु’ भनेझैं भयो । अहिलेसम्म पनि बुद्व धर्मका कतिपय सूत्रहरू काल्पनिक समाजवादका बीजका रूपमा छन् तर अब ती सूत्रहरू पनि जडसूत्रवादीहरूले अपव्याख्या गरेर विकृत बनाइसकेका छन् । बुद्धको परिनिर्वाणको ९३ वर्षपछि ग्रीसेली महान् दार्शनिक सुकरात (इ.पू. ४७०–३९९) को उदय भयो र सुकरातले नैतिक आदर्शका रूपमा आफ्नो जीवनदर्शनलाई लागू गर्ने प्रयास गरे । सुकरातले सूफि सम्प्रदायजस्तै मौलिक शिक्षा र आचार व्यवहारमा सदाचारको पद्धतिमा विशेष जोड दिए । उनले नैतिक शिक्षाको जग बसाल्नुुको पछाडिको एउटा महŒवपूर्ण कारण के थियोे भने आउने दिनमा कोही पनि राजनीतिज्ञ सदाचारी होस्, नैतिकवान् र सादगी होस् भन्ने अभिप्राय लुकेको थियोे । यहीँ विषयले तत्कालीन भ्रष्ट सत्ताधारीहरूलाई समस्या पैदा गरेको थियोे र उनीमाथि युवाहरूलाई पथभ्रान्त गरेको, देवनिन्दा गरेको तथा नास्तिक बनेको जस्ता तीन वटा आरोपहरू लगाइयो र अदालतमा मुद्दा चलाइयो ।

अदालतमा सुकरातले हाम्रो दिमागमा जुन कुरा उत्पन्न हुन्छ, त्यसलाई तत्सम्बन्धी परिघटनाहरूमा जाँच तथा परख गर्नुपर्ने हुन्छ, अनि मात्र सत्य निरूपण हुन्छ भन्ने तर्कलाई अगाडि सार्दै आफ्नो बचाउमा विचार प्रस्तुत गरे । साथसाथै रुढीवादी मान्यताको विरोधमा बोले । यसरी बोल्दै जाने क्रममा अझ अगाडि बढेर उनले सत्यको वकालत गरेको र यसलाई निरन्तरता दिने उद्घोष गरेपछि क्रुद्ध अदालतले सुकरातलाई दोषी करार ग¥यो र मृत्युुदण्डको फैसला सुनायो । तत्पश्चात् केही महिनाको कारावासपछि ७१ वर्षको वृद्ध उमेरमा सुकरातलाई हेमलक नामको विष ख्वाएर मारियो । आफ्ना गुरु एवम् दर्शनशास्त्रका पिताको यस्तो दुःखान्त घटनालाई नजिकैबाट नियालिरहेका प्लेटोले अदालतको सुनुवाइदेखि मृत्युपर्यन्तसम्मको इतिवृतान्त ‘संवाद’ शीर्षकको पुस्तकमा उल्लेख गरेका छन् ।

सुकरातको स्कुलिङकै उपादानका रूपमा प्लेटो (इ.पू.४२८–३४८) को उदय भयो र ग्रीसेली समाज जसलाई प्राचीन युनान पनि भनिन्छ, त्यहाँ प्रजातान्त्रिक चिन्तनको व्यापक अनुसन्धान सुरु भयो । वास्तवमा प्लेटोलाई काल्पनिक समाजवादी भन्न मिल्दैन अपितु उनी यथार्थवादका जनक थिए र पनि समाजवादका अनेकौं धाराहरूको विकाससँगसँगै सबैमा उनको ज्ञानको प्रतिबिम्बले पछिल्ला युगहरूमा केही प्रभाती किरण अवश्य पारेको हामी पाउँछौँ । उनले आफ्नो ज्ञान फैलाउने क्रममा एकेडेमी नामको संस्था स्थापना गरे र दर्शनशास्त्र, गणित, राजनीति, तर्कशास्त्र, कला, साहित्य, ज्ञानमीमांसा, न्याय, शिक्षा, परिवार र सैन्यवादजस्ता विषयहरूमा कक्षा सञ्चालन गर्न थाले । टाढाटाढाबाट राजा, रजौटाहरू उनी कहाँ शिक्षा–दीक्षा लिन ओइरिन थाले ।

प्लेटोले रिपब्लिकन नामको पुस्तकमा राज्य सञ्चालनका अनेकौं विधिहरूबारे आफ्नो अमूल्य विचार प्रस्तुत गरेका छन् । आजको प्रजातान्त्रिक विचारधाराको जुन स्रोत हो त्यो सबै प्लेटोकै विचारको गंगा हो भन्ने कुरामा कसैको दुईमत नहोला । उनका अनेकौं चेलाहरूमध्ये अरस्तु पनि एक थिए । अरस्तु (इ.पू.३८४–३२२) ले आफ्ना गुरु प्लेटोको विचारलाई अझै व्यापक गर्ने काममा पूरै जीवन लगाए । जहाँसम्म काल्पनिक समाजवादको सन्दर्भ छ, प्लेटोको समाजवादको चिन्तनसँग त्यसको केवल सैद्धान्तिक जग मात्रै मिलेको छ अरु सबै नयाँ विचारधारा हो भन्ने कुरामा कुनै शंका छैन । अरस्तुको कालमा साहित्य र कलासम्बन्धी केही नवीन चिन्तन भएको पाइन्छ । पेरिपोयटिक्स नामको कृतिमा अरस्तुले साहित्य समाजको दर्पण हो, समाजको प्रतिबिम्ब हो भन्ने आधार प्रस्तुत गर्दै आफ्ना गुरुका कतिपय भ्रान्तिपूर्ण विचारहरूको खण्डन पनि गरेका छन् । उनले दुःखान्त कृतिको जन्म, विरेचनको माध्यमबाट हुन्छ भन्दै विरेचनको सिद्धान्त प्रतिपादन गरे । यसले दुःखान्त साहित्य निर्माणमा एउटा महŒवपूर्ण सैद्धान्तिक आधारस्तम्भ निर्माण गरिदियो । अरस्तुको यस्तो विचार निर्माणमा प्राचीन ग्रीसेली दुःखान्त नाटकका पिता सोफोक्लिजको राजा इडिपस नाटक र होमरका महाकाव्यहरूको अध्ययन नै मुख्य कारण हुन् भनिन्छ ।

पाश्चात्य समाजमा अनेकौं उतारचढावपछि लामो समयसम्म धर्मका नाममा अन्धकारमय युग चल्यो । इशाको चौधौँ शताब्दीको अन्त्यतिर कन्टेन्टिनोपोलको विगठनपश्चात् नयाँ युगीन चेतनाको पुनर्जागरण काल प्रारम्भ भयो । यस कालका प्रथम उद्घोषक थिए इटालीका महाकवि दाँते । दाँतेले आफ्नो कवितामा पादरी, धर्मगुरु तथा राजामहाराजाहरू सबै मरेपछि स्वर्ग जाने क्रममा यमराजले नर्कको बाटो जान आदेश दिएको र आफूले राति यो नराम्रो सपना देखेको प्रसंगबाट कविता सुरु गर्छन् र धर्ममाथि सूक्ष्म ढंगले मार्ताेल हिर्काउँछन् । यसपछि बेलायतका महान् विचारक थोमस मोर (७ फरवरी,१४७८–६ जुलाई १५३५) ले मानवतावादी विचारलाई लिएर अगाडि आए । ‘आदर्शलोक’ नामक उनको यस कृतिमा मानवतावादको पक्षमा वकालत गरिएकाले यी विचारमाथि पनि सत्ताको कडा नजर पर्छ र उनलाई ६ जुलाई १५३५ का दिन लण्डनस्थित टावरहिलमा झुन्ड्याएर मारियो । उनको मृत्युपश्चात् कैयौं दिनसम्म त्यहीँ टावरहिलमा टाउको झुन्ड्याएर राखियो । उनले मर्नु अगाडि भनेका अनुसार उनलाई पाल्ने एकमात्र छोरी मार्गरेट क्लेमेन्टलाई उनको टाउको विनाको मृत शरीर अन्त्येष्टिका लागि दिइयो र सेन्ट पिटर एण्ड विनकुलाको चैपलस्थित मसानघाटमा समाधिस्थ गरियो । यसपश्चात् क्लाउदे हेनरी द सेन्ट–साइमन (सन् १७६०–१८२५) को उदय हुन्छ । सेन्ट साइमन नै वास्तविकरूपमा काल्पनिक समाजवादका प्रणेता हुन् ।

उनी एउटा सम्भ्रान्त रजौटाको परिवारमा जन्मेर पनि फ्रान्सेली समाजको विपन्नता र दुरावस्थामाथि निकै चिन्तन गर्ने महान् चिन्तक हुन् भन्दा अत्युक्ति नहोला । उनी समस्त राजनीतिक परिवर्तन आर्थिक या उत्पादनमूलक साधनहरूमा हुने परिवर्तनलाई नै मुख्य कारण मान्दछन् र यसलाई उनले राजनीतिको विज्ञान मान्दछन् । यसैक्रममा उनी बेलायतका आफ्ना साथी एवं वैचारिक सहयात्री रोबर्ट ओवेन (सन् १७७१–१८५८) सँग मिलेर आफ्नो सम्पूर्ण सम्पत्ति गरिबलाई बाँडेर कम्युन स्थापना गर्छन् र आफूहरू पनि त्यहीँ कम्युनको सदस्यका रूपमा बस्छन् । उनीहरूले त्यहाँ एउटा आदर्श समाजको परिकल्पना गर्दै मानिस–मानिसका बीचको भेदभावलाई यसरी नै घटाउनुपर्छ भन्ने महान् विचारलाई उदाहरणका रूपमा प्रस्तुत गर्दछन् । साइमनले सधैंभरि विश्व संसदको परिकल्पना गरे, उनी जनताको तानाशाहीको पक्षमा सधैंभरि खडा भएर उभिए । फ्रान्समा साइमनको निधनपश्चात् उनका अनुयायीहरूले एउटा क्रान्तिकारी संस्थाको निर्माण गरे तथापि तत्कालीन फ्रान्सेली सरकारले सन् १८३१ मा त्यसलाई भंग गरिदियो र यो अभियान छिन्नभिन्न हुनपुग्यो । यहीँ विचारलाई अलि फरक शैलीमा फ्रान्सका अर्का महान् चिन्तक फ्रा स्वां मेरी चार्ल्स फ्युरेर (सन् १७७२–१८३७) ले अगाडि लिएर आउँछन् । फ्युरेर सम्पन्न व्यापारी घरानामा जन्मेका व्यक्ति हुँदाहुँदै पनि यिनले समाजको अन्यथा, थिचोमिचो, धनी, गरिबको खाडललाई पुर्नुपर्छ भनेर चिन्तन गर्न थाले । सानै उमेरदेखि आफ्ना पिताको व्यापार, व्यवसायलाई सघाउँदै व्यापारसम्बन्धी गहिरो ज्ञान हासिल गरेका कारणले यिनमा कसरी व्यापारीहरूले नाफा कमाउँछन्, कसरी गरिबलाई ठग्छन् भन्ने कुराका ज्ञान हासिल भएको थियोे ।

यिनले व्यापारीहरूका कुकृत्यहरूका बारेमा आफ्नो असन्तुष्टि भाषणमार्फत ग्राहकहरूलाई सुनाएपश्चात् बाबुुुबाट नराम्ररी दण्डित हुनुप¥यो । यिनले मूल्यमा उत्पन्न कमीलाई रोक्न खाद्यान्न मालिकले मर्सिलिज बन्दरगाहको समुन्द्रमा चामलका बोरा फाल्न लगाएको दृश्यलाई नजिकैबाट देखेका थिए र त्यसको कडा विरोध गरेका थिए । उनी यस्ता घटनाबाट निकै दुखित हुन्थे र भावुक बन्थे । यसरी परिस्थितिवश यिनी समाज परिवर्तनसम्बन्धी गहिरो ढंगले सोच्न बाध्य भए । यिनले आदर्श समाजको रचना नामक कृतिमा यी विषयलाई सूक्ष्मरूपले विश्लेषण गरेका छन् । यसका साथै कृषिको उपयोगितासम्बन्धी पनि यिनको महत्वपूर्ण कृतिले उत्पादनमा गर्न सकिने परिवर्तनको पक्षमा आफ्नो महत्वपूर्ण विचार प्रस्तुत गरेका छन् ।

फ्युरेर र सेन्ट साइमनभन्दा रबर्ट ओवेन धेरै नै प्रगतिशील थिए । ओवेनले बेलायतको महंगी, जुवा, रक्सी, चोरी र भ्रष्टाचारको कडा विरोध गरे । उनले बालश्रमको विरोध मात्रै गरेनन्, उनीहरूलाई उचित शिक्षा–दीक्षाका लागि स्कुलको व्यवस्था गरे । आफ्नै कपडा कारखाना खोलेर मजदुरहरूलाई राम्रो तलब, सुविधाको व्यवस्था गरे । बेलायतमा व्यापारको मन्दी भएपछि आफ्नो कारखाना बन्द गरेर कठिन परिस्थितिको निदानका लागि अमेरिकातर्फ लागे । अमेरिकामा यिनले सोसल सिष्टम नामक पुस्तक लेखेर साम्यवादी समाजको आवश्यकतामाथि प्रकाश पारे । निजी सम्पत्तिको विरोधमा समाजवादको पक्षपोषण गर्दै अमेरिकामा इण्डियाना भन्ने ठाउँमा केही हजार एकड जमिन खरिद गरेर साम्यवादी सिद्धान्तका आधारमा न्यु हार्मनी नामक वस्ती बसाउने प्रयास गरे । ओवेन त्यहाँ बसुन्जेल वस्ती राम्रोसँग सञ्चालन भयो तथापि उनी त्यहाँबाट बेलायत फिर्ता भएलगत्तै आपसी झगडा उत्पन्न भयो । उनीहरू बीच विचार र धार्मिक विश्वासका बीचको मतभिन्नताका कारण वस्ती बसाल्ने ओवेनको सपना चकनाचुर भयो र वस्ती असफल भयो । त्यसपछि उनले अन्य केही ठाउँमा पनि वस्ती बसाल्ने प्रयत्न गरे तापनि सफलता कतै मिलेन । यसक्रममा रुसका महान् विचारक, उपन्यासकार तथा सौन्दर्यशास्त्री निकोलाई चेर्निसेब्स्की, जेम्स रसेल लोवेल, हेनरी जेम्सको पनि महत्वपूर्ण योगदान रहेको छ ।

माक्र्सले यसकारण रबर्ट ओवेन, सेन्ट साइमन र चाल्र्स फुरेरलाई काल्पनिक समाजवादका महान प्रणेता भन्दै उनीहरूले गरेका महान् योगदानका लागि अतुलनीय व्यक्तित्वका रूपमा मूल्यांकन गरेका छन् । वास्तवमा क्रान्तिकारी सिद्धान्तका बलमा समाजको आमूल परिवर्तन विना कुनै पनि परिवर्तन असम्भव छ भन्ने कुरालाई यिनीहरूकै अनुभवबाट सिकेको पाठका रूपमा अध्ययन गरेर माक्र्सले वैज्ञानिक समाजवादको सिद्धान्त अगाडि सारेका हुन् भन्ने कुरा केही हदसम्म सत्य पनि हो ।

प्रकाशित मितिः   ७ पुष २०८०, शनिबार ०५:०४