हाजिरीजवाफमा अमरज्योति प्रथम

सुर्खेत: अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा अमरज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । वीरेन्द्रनगर–८ मा रहेको विद्याज्योति निकेतनले आयोजना गरेको प्रतियोगितामा अमरज्योतिले प्रथम स्थान हासिल गरेको हो ।

यस्तै आयोजक विद्याज्योति निकेतन द्वितीय भएको छ भने ह्युरिस्टिक स्कुल तथा रिसर्च सेन्टर तृतीय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा सरकारी विद्यालयका तीन, संस्थागत प्याब्सनतर्फ दुई र नेशनल प्याब्सनका पाँच गरी १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

विद्यालयकातर्फबाट सहभागी विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । विद्यालयका प्रधानाध्यापक ध्रुव सिंहको अध्यक्षता एमव् वडा नम्बर ८ का अध्यक्ष टिकाराम शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेशनल प्याब्सन कर्णाली प्रदेश सचिव दिपेन्द्रराज खनाल, जिल्ला अध्यक्ष गायत्री राना, विद्याज्योति सहकारी संस्थाका अध्यक्ष रेशम खत्री, विद्याज्योति निकेतनका अध्यक्ष विष्णुप्रसाद शर्मालगाएतको उपस्थिति रहेको थियो । विभिन्न विद्यालयहरूसँगको सम्बन्ध बढाउँदै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   ७ पुष २०८०, शनिबार ०५:०२