अवैध सामग्रीको ओसार–पसार बढ्दै

सुर्खेत: पछिल्लो समय सुर्खेतमा अवैध सामग्रीहरूको ओसार–पसार बढिरहेको छ । तीन दिनमा मात्रै तीन वटा अवैध सामग्री बोकेका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष गरी नेपालगञ्ज हुँदै सुर्खेत भित्रिने सवारी साधनहरूमा भन्सार छलिका सामग्रीहरू भित्रिने गरेका हुन् ।

सोमवार मात्रै कोहलपुर–सुर्खेत रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–१० तोलिखोलाबाट अवैध रूपमा ओसारपसार भइ आएको सुपरपावर सुर्ती आठ बोरा, एक बोरा मिठा सुपारी, दुई बोरा चकलेट प्रहरीले नियन्त्रणमा लियो । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको ना ७ ख ६०५६ नं. को बसमा उक्त अवैध सामग्री ल्याइएको थियो । व्यापारीहरूले भन्सार छलेर मालबहाक गाडीबाहेकका सवारी साधनबाट पनि ओसारपसार गर्ने गरेका छन् ।

बिहीवार पुनः सोही ठाउँबाट अवैध सामग्री बोकेको अर्को बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको चार जनाको प्रहरी टोलीले नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख २६५४ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा ६० प्याकेट मिठासुपारी, तीन सय पाकेट सुपर पावर सुर्ती, २५ प्याकेट पान मसला, २७ पिस रेडिमेट कुर्ता सुरुवाल, आठ पिस उलन कुर्ता सुरुवाल, एक सय ६० पिस पातलो कुर्ता सुरुवाल गरी दुई लाख ३० हजार बराबरको सामान बरामद भएको सुर्खेत प्रहरीले जनाएको छ ।

बिहीवार राति नै वीरेन्द्रनगरबाट प्रहरीले अवैध सामाग्री ल्याएको फोर्स गाडी नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरस्थित एरिचोकबाट प्रहरीको घुमुवा टोलीले नियन्त्रणमा लिएको हो । क प्र ०२–००१ ख ०६९६ नम्बरको फोर्स गाडीमा आठ बोरा चिनी, चार बोरा चकलेट, एक सय पोका महेश र चार बोरा मिठासुपारी बरामद गरिएको हो ।

प्रकाशित मितिः   ७ पुष २०८०, शनिबार ०५:०१