पूर्वाधार विकासको तयारी
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो वर्ष कर्णाली प्रदेशमा आयोजना हुँदैछ । उक्त प्रतियोगिताका लागि अहिले आवश्यक तयारी भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बहुउद्देश्यीय रंगशालादेखि क्रिकेट मैदानसम्म निर्माण हुँदैछन् । रंगशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा प्राथमिकता दिइएपनि कर्णालीका अन्य जिल्लाहरूमा आवश्यक खेल पूर्वाधार निर्माणले पनि प्राथमिकता पाउन सकेको छैन । विशेष गरेर हिमाली जिल्लाहरू पूर्वाधारविहीन छन् ।
मुगु जिल्लामा कुनैपनि खेलपूर्वाधार छैनन् । नयाँ पूर्वाधार निर्माण गर्नुपर्नेछ । पूर्वाधार अभाव र तयारी विना नै त्यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेका छन् । आफ्नै प्रदेशमा आयोजना हुने खेलका लागि तयारी गर्ने खुला मैदानसमेत छैन । भौगोलिक रूपमा विकट रहेको मुगुमा सरकारले खेलपूर्वाधारमा ध्यान दिएको छैन । पूर्वाधार नहुँदा तयारी विना नै प्रतियोगितामा भाग लिने गरेको खेलाडीहरू बताउँछन् । राष्ट्रिय प्रतियोगिताका कुनै खेल जिल्लाहरूले आयोजना गर्नका लागि मात्रै होइन प्रदेशस्तरीय प्रतियोगितामा सहभागीताका लागि खेलाडी उत्पादन गर्ने पूर्वाधारको समेत अभाव छ । हुम्ला जिल्लामा दशौँ राष्ट्रिय प्रतियोगिता अन्र्तगतको हक्की खेल खेलाउने तयारी छ । तर अहिलेसम्म खेलमैदान निर्माण हुन सकेको छैन । सरकारले प्रदेशको रंगशाला निर्माणलाई मात्र प्राथमिकतामा राख्दा जिल्लाका खेलपूर्वाधार ओझेलमा परेका छन् । पूर्वाधारविना खेलकुद प्रतियोगिता सञ्चालन गर्न सम्भव छैन । तर अहिलेसम्मको अवस्था हेर्दा वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा बाहेक अन्य पूर्वाधारमा उल्लेख्य प्रगति भएको छैन । दैलेख जिल्लामा रहेको कभर्ड हलको स्तरोन्नति गर्नका लागि सरकारले चासो दिएको छैन । दैलेखमा कुनैपनि पुर्वाधार खेल खेल्नका लागि योग्य नरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । तीन वर्षअघि मात्र निर्माण सम्पन्न गरिएको कभर्ड हलसमेत मर्मत गर्नुपर्ने देखिएको छ ।
जुम्लामा समेत नयाँ खेलपूर्वाधार निर्माण र स्तरोन्नति लगायतका कुनैपनि काम भएका छैनन् । तीन वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कालीकोटस्थित कभर्ड हल निर्माणको कामसमेत सुरु भएको छैन । जाजरकोटमा प्रस्तावित कभर्ड हल निर्माणको काम पनि सुरु भएको छैन । रुकुमपश्चिममा पनि नयाँ खेलपूर्वाधार निर्माणका काम सुरु भएका छैनन् । जाजरकोट र कालिकोटमा नयाँ कभर्ड हल निर्माणका लागि बहुवर्षीय स्वीकृति नआउँदा काम अघि बढ्न नसकेको हो । अन्य जिल्लामा स्तरोन्नतिका काम अघि बढाउनका लागि लागत अनुमान राष्ट्रिय खेलकुद परिषद्मा पठाइएको छ । राष्ट्रियस्तरको प्रतियोगिता आयोजनाका लागि अब धेरै समय छैन । तर जिल्लातहमा पूर्वाधार विकास नहुँदा प्रतियोगिता आयोजनाका साथसाथै खेलाडीहरू उत्पादनका लागि अवसर खुम्चिदै गएको छ ।
प्रकाशित मितिः ४ पुष २०८०, बुधबार ११:००
सम्पादकीय ।