विद्युत विस्तारमा ढिलाइ

कर्णाली प्रदेशमा पर्याप्त मात्रामा विद्युतको पहुँच पुग्न सकेको छैन । कोहलपुर–सुर्खेत ३३ केभिए प्रसारण लाइनले प्रदेशको विद्युत आपूर्ति धानेको छ । यो यहाँको आवश्यकता र मागको तुलनामा निकै न्यून हो । त्यसैले विद्युत विस्तार भएका क्षेत्रमा पनि लोडसेडिङ भइरहन्छ । पानी परेको बेला र सानातिनो हावा चल्दा पनि विद्युत प्रसारण अवरुद्ध हुन्छ । यसले आम नागरिकका साथसाथै उद्योग–व्यवसाय क्षेत्र निकै प्रभावित हुँदै आएको छ । वर्षौदेखि यस्तो समस्या भइरहे पनि समाधान हुन सकेको छैन । विद्युत समस्या समाधानका लागि भनेर एक सय ३२ केभीए विद्युत प्रसारण लाइन विस्तारको योजना अघि बढाइएको छ । तर उक्त आयोजना निर्माणको काम पटक–पटक अवरुद्ध हुने गरेको छ ।

मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो । निकुञ्ज क्षेत्रभित्रका रुख कटानको आदेश नहुँदा र स्थानीयको अवरोधका कारण काम रोकिएको छ । विवादरहित क्षेत्रमा काम सकिएको छ । अहिलेसम्म २२ किलोमिटरसम्म तार तान्ने काम भइसकेको छ । ९५ वटा फाउन्डेसन निर्माण गरिएको छ भने ६० वटा टावरसमेत तयार भइसकेका छन् । ८० वटा पोल पनि गाडिएको छ । अब बाँकी रहेका काम अघि बढाउन मुआब्जा विवाद र रुख कटानको समस्या समाधान गर्नुपर्ने हुन्छ । तर निकुञ्जले रुख कटान अनुमति दिएको छैन । रुख कटानको अनुमतिको फाइल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा थन्किएको छ । विभागबाट अनुमति प्राप्त नहुँदा निकुञ्ज क्षेत्रमा काम अघि बढ्न सकेको छैन । आयोजनाका अनुसार निकुञ्ज क्षेत्रभित्रका करिब ६ हजार रुख कटानका लागि अनुमति मागिएको छ । अर्कोतर्फ विद्युत विस्तार क्षेत्रमा पर्ने व्यक्तिको स्वामित्वमा रहेका जग्गा पनि समस्या बनेका छन् । मुआब्जाको विषय नटुँगिएकाले उक्त जग्गा आयोजनाको नाममा बनाउन समस्या भइरहेको छ । आयोजनाको ठेक्का सम्झौता भएसँगै कानुनी प्रक्रियामै झन्झट व्यहोर्नु परिरहेको देखिन्छ । कानुनी उल्झन र विभिन्न अवरोधहरूका कारण आयोजनाको काम रोकिएको आएको छ ।

सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद कायमै रहेको छ । विवाद नै विवादका कारण आयोजना निर्माणको काम ठप्प भएको हो । बैजनाथमा विवाद समाधान नहुँदा तीन वर्षदेखि लाइन विस्तार कार्यमा अवरोध भइरहेको छ । तयसमा सुब्बाकुनाको विवाद पनि थपिएको छ । विद्युत लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । देखिएका समस्या सरकारी पहलमा समाधान हुनुपर्ने हो । तर बेवास्ताले गर्दा ढिलाइ भइरहेको छ ।

प्रकाशित मितिः   ३ पुष २०८०, मंगलवार ०५:०३