देउसी खेलेको रकमबाट अक्षयकोष
सुर्खेत: देउसी–भैलो खेलेर संकलन भएको रकमबाट अक्षयकोष स्थापना गरिने भएको छ । काँक्रेविहार मिडिया प्रा.लि. र मोन्टाज मिडिया प्रा.लि.द्वारा तिहारमा देउसी–भैलो खेलेर जम्मा भएको रकम अक्षयकोष स्थापनाका लागि नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई हस्तान्तरण गरिएको छ ।
दुई कम्पनीका सञ्चालकबीच सोमवार बसेको संयुक्त बैठकले पत्रकारिता पुरस्कारका लागि अक्षयकोष बनाउन महासंघलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो । बैठकमा काँक्रेविहार मिडिया प्रालिका तर्फबाट सञ्चालक सुशीलराज शर्मा र मोन्टाज मिडिया प्रालिका तर्फबाट सञ्चालकद्वय उपेन्द्र खड्का र वुद्धिसिंह ठकुरीको उपस्थिति रहेको थियो ।
बैठकपश्चात् सोमवार नै पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेललाई एक लाख २५ हजार रूपैयाँ हस्तान्तरण गरिएको छ । देउसीबाट संकलन भएको एक लाख दुई हजारमा काँक्रेविहारका सञ्चालक शर्माले व्यक्तिगत रूपमा २३ हजार रूपैयाँ थप गरेर एक लाख २५ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त रकमबाट महासंघले कोष स्थापना गरेर हरेक वर्ष जिल्लामा क्रियाशील पत्रकारहरूलाई पुरस्कार प्रदान गर्ने जनाइएको छ । त्यसका लागि महासंघको आगामी कार्यसमिति बैठकले थप निर्णय गर्नेछ ।
प्रकाशित मितिः ३ पुष २०८०, मंगलवार ०५:०१
साझा बिसौनी ।