दशौँ राष्ट्रिय खेलकुदको तयारी: जिल्लाका खेल पूर्वाधारमा बेवास्ता
सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो वर्ष कर्णाली प्रदेशमा आयोजना हुँदैछ । उक्त प्रतियोगिताका लागि अहिले आवश्यक तयारी भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बहुउद्देश्यीय रंगशालादेखि क्रिकेट मैदानसम्म निर्माण हुँदैछन् ।
रंगशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा प्राथमिकता दिइएपनि कर्णालीका अन्य जिल्लाहरूमा आवश्यक खेल पूर्वाधार निर्माणले पनि प्राथमिकता पाउन सकेको छैन । विशेष गरेर हिमाली जिल्लाहरू पूर्वाधारविहीन छन् । मुगु जिल्लामा कुनैपनि खेलपूर्वाधार छैनन् । नयाँ पूर्वाधार निर्माण गर्नुपर्नेछ । जिल्ला खेलकुद विकास समितिले गत साउनमा पूर्वाधार निर्माणका लागि बजेट माग गर्दै जिल्ला प्रशासनमार्फत् सरकारलाई पत्रसमेत पठाएको थियो । तर, सुनुवाई नभएको खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्र मल्लले बताए । ‘एक वर्षभित्र दशौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार तयार पारिसक्नुपर्ने हो,’ उनले भने, ‘जिल्लामा कुनै पनि पूर्वाधार बनेका छैनन् । हामीले कसरी प्रतियोगितामा भाग लिने ? तयारी खेल खेल्नका लागि मैदान छैनन् ।’
पूर्वाधार निर्माणका लागि स्थानीयदेखि संघीय सरकारलाई बेलाबेला भन्ने गरेको भएपनि सुनुवाई नभएको उनले बताए । पूर्वाधार अभाव र तयारी विना नै त्यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेका छन् । आफ्नै प्रदेशमा आयोजना हुने खेलका लागि तयारी गर्ने खुला मैदानसमेत छैन । भौगोलिक रूपमा विकट रहेको मुगुमा सरकारले खेलपूर्वाधारमा ध्यान दिएको छैन । पूर्वाधार नहुँदा तयारी विना नै प्रतियोगितामा भाग लिने गरेको खेलाडीहरू बताउँछन् ।
राष्ट्रिय प्रतियोगिताका कुनै खेल जिल्लाहरूले आयोजना गर्नका लागि मात्रै होइन प्रदेशस्तरीय प्रतियोगितामा सहभागीताका लागि खेलाडी उत्पादन गर्ने पूर्वाधारको समेत अभाव छ । हुम्ला जिल्लामा दशौँ राष्ट्रिय प्रतियोगिता अन्र्तगतको हक्की खेल खेलाउने तयारी छ । तर अहिलेसम्म खेलमैदान निर्माण हुन सकेको छैन । सरकारले प्रदेशको रंगशाला निर्माणलाई मात्र प्राथमिकतामा राख्दा जिल्लाका खेलपूर्वाधार ओझेलमा परेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहोराले पूर्वाधार निर्माणको काममा ढिलाइ भइरहेको बताए । उनले भने, ‘हक्की खेल खेलाउने भनिएको छ । हिजो मात्र खेल मैदान निर्माणका लागि टेण्डर भएको छ । फागुनसम्म चिसोले काम गर्न सकिँदैन । कहिले मैदान बनिसक्ला ? जिल्लामा निर्माणधिन कभर्ड हल पनि अधुरै छ ।’
कभर्ड हल निर्माणको कामसमेत रोकिएको अध्यक्ष बोहोराले जानकारी दिए । उनका अनुसार २०७७ मा निर्माण थालिएको कभर्ड हलको हालसम्म ४० प्रतिशत मात्र काम भएको छ । तीन आर्थिक वर्षमा गरी सरकारले डेढ करोड बजेट मात्र पठाएको उनले बताए । ‘एक आर्थिक वर्षमा सरकारले बजेट नै पठाएन । यो वर्ष ५० लाख विनियोजन गरेको छ । काम सुरु भएको छैन’ अध्यक्ष बोहोराले भने ।
पूर्वाधारविना खेलकुद प्रतियोगिता सञ्चालन गर्न सम्भव छैन । तर अहिलेसम्मको अवस्था हेर्दा वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा बाहेक अन्य पूर्वाधारमा उल्लेख्य प्रगति भएको छैन । दैलेख जिल्लामा रहेको कभर्ड हलको स्तरोन्नति गर्नका लागि सरकारले चासो दिएको छैन । दैलेखमा कुनैपनि पुर्वाधार खेल खेल्नका लागि योग्य नरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । तीन वर्षअघि मात्र निर्माण सम्पन्न गरिएको कभर्ड हलसमेत मर्मत गर्नुपर्ने देखिएको छ । तीन वटा खेलमैदान र एउटा कभर्डहल मर्मतका लागि बजेट माग गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोपाल विसीले बताए । उनले भने, ‘जिल्लामा खेलपूवाधारको बिजोग छ । सरकारले ध्यान नै दिँदैन । बनेको कभर्ड हलसमेत मर्मत गर्नुपर्ने अवस्थामा छ ।’ सरकारको ध्यान प्रदेश रंगशाला निर्माणमा रहेकाले जिल्लाका पूर्वाधार निर्माणका काम ओझेलमा परेको उनले बताए ।
जुम्लामा समेत नयाँ खेलपूर्वाधार निर्माण र स्तरोन्नति लगायतका कुनैपनि काम भएका छैनन् । पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले प्राथमिकता नदिँदा काम सुरु नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताए । राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुन एक वर्ष मात्र बाँकी रहँदा जुम्लामा कुनैपनि पूर्वाधार निर्माण भएका छैनन् । पाण्डेले भने, ‘प्रदेश सरकारलाई मात्र १७ चोटि कभर्ड हल मर्मत र खैलमैदान निर्माणका लागि बजेट माग ग¥यौँ तर, सुनुवाइ नै भएन ।’
तीन वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कालीकोटस्थित कभर्ड हल निर्माणको कामसमेत सुरु भएको छैन । बजेट सुनिश्चित गरेर टेण्डर गर्ने तयारी भइरहेको जिल्ला खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेश शाहीले बताए । पूर्वाधार निर्माण गर्ने समय निकै कम रहेको भन्दै उनले सरकारको तर्फबाट ढिलाइ भइरहेको जनाए ।
जाजरकोटमा प्रस्तावित कभर्ड हल निर्माणको काम पनि सुरु भएको छैन । बजेट नै अपुग भएकाले काम अघि बढ्न नसकेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरेको छ । तर उक्त बजेटमा पूर्वाधारको कुनै काम गर्न नसकिने जनाइएको छ । जिल्लामा कभर्ड हल निर्माणका लागि २०७२ सालमा डीपीआर निर्माण भएको छ । उक्त डीपीआर अनुसार करिब ६ करोड लागत अनुमान रहेको छ ।
रुकुमपश्चिममा पनि नयाँ खेलपूर्वाधार निर्माणका काम सुरु भएका छैनन् । पुराना भएका संरचनाको मर्मत कार्य भइरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जाजरकोट र कालिकोटमा नयाँ कभर्ड हल निर्माणका लागि बहुवर्षीय स्वीकृति नआउँदा काम अघि बढ्न नसकेको खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । अन्य जिल्लामा स्तरोन्नतिका काम अघि बढाउनका लागि लागत अनुमान राष्ट्रिय खेलकुद परिषद्मा पठाइएको उनले बताए ।
संघीय सरकारसँग जिल्लाका पूर्वाधार निर्माणका लागि थप बजेट माग गरिएको छ । जिल्ला–जिल्लाका पूर्वाधार ओझेलमा परेको भन्दै संघीय सरकारसँग बजेट माग गरिएको सदस्य सचिव सञ्ज्यालले जानकारी दिए । स्तरोन्नति र खेल पूर्वाधार निर्माणका लागि थप बजेट माग गरिएको हो ।
यसैबीच वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाको काम भने ७० प्रतिशत सम्पन्न भएको छ । यस्तै, वित्तिय प्रगति ६५ प्रतिशत हासिल भएको छ । हालसम्म ९२ करोड खर्च भइसकेको छ । रंगशाला निर्माण सम्पन्न गर्नका लागि एक अर्ब ४७ लाख ४७ हजार ६ सय रूपैयाँ लागत लाग्ने छ । प्रदेश रंगशाला २०८१ जेठ ११ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
क्रिकेट मैदान शिलान्यास
दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा क्रिकेट मैदान निर्माण गरिँदैछ । प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सोमवार मैदानको शिलान्यास गरेका छन् ।
शिलान्यास गरिएको कालिञ्चोक क्रिकेट मैदान आगामी चैत ३० गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । यसका लागि केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच निर्माण सम्झौता भएको छ । ७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दुबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने काम हुने जनाइएको छ ।
मैदान शिलान्या गर्दै मुख्यमन्त्री शर्माले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताएका छन् । खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने क्रममा क्रिकेट मैदानको शिलान्यास हुनु कर्णाली समृद्धिको अङ्गका रूपमा लिन सकिने उनले बताए । ‘कर्णाली खेलकुदका क्षेत्रमा विस्तारै माथि उठ्दै छ । पूर्वाधार निर्माण र खेल प्रतियोगितामा हासिल गरेको प्रगतिले एकदिन कर्णालीको राष्ट्रिय पहिचान बनाउने विश्वास छ’ मुख्यमन्त्री शर्माले भने ।
प्रकाशित मितिः ३ पुष २०८०, मंगलवार ०५:०५
साझा बिसौनी ।