त्रिपालमा स्वास्थ्य संस्था
सुर्खेत: भूकम्पले क्षति पु¥याएका जाजरकोटका आधा दर्जन स्वास्थ्य संस्थाले त्रिपालबाट सेवा दिइरहेका छन् । गत कार्तिक १७ गतेको भूकम्पबाट भत्किएका स्वास्थ्य संरचनाको पुनर्निर्माण नहुँदा स्वास्थ्य सेवा त्रिपालबाटै प्रवाह भइरहेको हो ।
नलगाड नगरपालिका वडा नं. ३ स्थित कैन स्वास्थ्य चौकीले टेन्टबाटै सेवा दिइरहेको छ । पूर्वाधार अभावमा स्वास्थ्य संस्थाको सेवा टेन्टबाट दिइरहँदा समस्या भइरहेको स्वास्थ्य चौकी प्रमुख हेमा पुनले बताइन् । उनका अनुसार चिसोका कारण निमोनिया, श्वासप्रश्वास, दम, रुघाखोकी र सिजनल झाडापखालाका बिरामी ह्वात्तै बढेका छन् । यसरी सेवा दिइरहँदा प्रभावकारी हुन नसकेको उनको भनाइ छ । पुनले भनिन्, ‘कहिलेकाही रातीमा सेवा दिनुपर्ने हुन्छ, बिरामी राख्ने ठाँउसमेत हुँदैन । समस्या नै समस्या छ ।’ मौसमी रोगका बिरामीको चापसमेत बढ्दा सेवा प्रवाहमा असहज हुने गरेको उनले बताइन् । प्रसूति सेवा र निमोनियाका बिरामीको उपचारमा थप समस्या भइरहेको छ । साँघुरो ठाउँबाट धेरैलाई सेवा दिँदा समस्या हुनेगरेको हो ।
नलगाड नगरपालिका वडा नं. ३, ४, १३ र नगर अस्पतालको भवनमा पूर्णरूपमा क्षति पुगेको छ । अन्य स्वास्थ्यका संरचनामा आंशिक क्षति पुगेको छ । नगरपालिकामा सात वटा आधारभूत स्वास्थ्य केन्द्र, पाँच वटा सामुदायिक स्वास्थ्य चौकी, पाँच वटा हेल्थ पोष्ट र एक नगर अस्पताल छ । सबै स्वास्थ्यका संरचनामा आशिंक रूपमा क्षति पुगेको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव मोहन खड्काले बताए । उनका अनुसार नगर अस्पतालको भवन र तीन वटा वडाका स्वास्थ्य चौकीमा पूर्णरूपमा क्षति पुगेको छ । भूकम्पले भवन भत्किएपछि टेन्टमा पुगेका स्वास्थ्य संस्थाले सबैभन्दा बढी घामपानी र चिसोको समस्या झेल्दै आएका छन् । जसले गर्दा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा समेत समस्या बढ्न थालेको छ ।
यस्तै, कुशे गाउँपालिका वडा नं. ४ मा रहेको अरछाम स्वास्थ्य चौकी पनि टेन्टबाटै सञ्चालन भइरहेको छ । संरचना पूर्णरूपमा क्षति भएकाले डेढ महिनादेखि टेन्टबाटै सेवा प्रवाह भइरहेको स्वास्थ्य चौकी प्रमुख दिर्घराज पुनले बताए । टेन्टबाट सेवा प्रभाव गर्न समस्या भइरहेको जनाइएको छ । पानी चुहिने र औषधी मुसाले खाने, बिरामी राख्ने ठाउँ समेत नहुँदा समस्या हुनेगरेको हो । सबैभन्दा ठूलो समस्या प्रसूति सेवा सञ्चालन गर्न हुनेगरेको जनाइएको छ । चिसोका कारण सेवा प्रवाहमा समस्या हुनेगरेको हो । कुशे गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकी र चार वटा आधाभूत स्वास्थ्य केन्द्र रहेका छन् । टेन्टमा रहँदा स्वास्थ्य संस्थामा उपलब्ध हुने औषधिलाई निश्चित तापक्रम मिलाएर राख्न समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।
गाउँपालिकाका अन्य स्वास्थ्य चौकीमा पनि समस्या उस्तै छ । ती स्वास्थ्य संस्थाले समेत चर्किएको भवनबाट सेवा दिइरहेका छन् । भूकम्प गएको डेढ महिना बितिसक्दा समेत भवन बन्ने प्रक्रिया सुरु नहुँदा स्वास्थ्य संस्थाका समस्या दिनहुँ थपिँदै गएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अमरजंग शाहले बताए । ‘टेन्टमा रहेका स्वास्थ्य संस्थाले सधैँ समस्याका कुरा सुनाइरहन्छन्,’ उनले भने, ‘समस्याबारे पालिकासँग समन्वय भइरहेको छ ।’
जाजरकोटमा आधा दर्जन स्वास्थ्य संस्थामा पूर्णरूपमा क्षति पुगेको छ । यसैगरी २२ वटा स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा पनि बिरामीको चाप बढेको छ । दम, रुघाखोकी, सिजनल झाडापखालाका बिरामी बढेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतिक्षा भारती बताइन् । उनका अनुसार दिनप्रतिदिन बिरामीको संख्या बढिरहेको छ । उनले भनिन्, ‘प्रदेशले पनि जनशक्ति पठाएको छ । औषधि उपलब्धता पनि भएकाले सहज रूपमा सेवा प्रवाह भइरहेको छ ।’ चिसोका कारण एउटै समस्या भएका धेरै बिरामी आउने गरेको उनले बताइन् । विशेष गरी दमका बिरामी अस्पतालमा आउने गरेका छन् । जिल्लाका आधा दर्जन स्वास्थ्य संस्था टेन्टबाट सञ्चालन भइरहेको र अन्य स्वास्थ्य संस्थाले समेत चर्किएका तथा पुराना भवनबाट सेवा दिइरहेको भन्दै उनले चिसो मौसम सुरु भएकाले सेवा प्रवाहमा समस्या हुनेगरेको हो ।
प्रकाशित मितिः १ पुष २०८०, आईतवार ०५:०५
रजनी याेगी ।