जलवायु परिवर्तनको प्रभाव
जलवायु परिवर्तन विश्वव्यापी समस्या बनेको छ । यसको प्रत्यक्ष र बढी असर कृषि क्षेत्रले बेहोरिरहेको छ । मौसममा आएको परिवर्तनसँगै कृषि उत्पादनमा ह्रास आएको छ । उत्पादन घटेसँगै कृषकहरू निराश बनेको छन् भने यसले मुलुककै अर्थतन्त्रमा नकारात्मक असर पु¥याइरहेको छ । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिको उत्पादकत्व पूर्णरूपमा मौसम, जलवायु तथा पानीको उपलब्धतामा निर्भर हुन्छ । तर त्यसैमा आएको परिवर्तन र प्रतिकुलताले कृषि उत्पादन प्रभावित भइरहेको छ । त्यसैले पनि जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमा परिराखेको छ ।
कर्णाली प्रदेशले पनि जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव महसुस गर्न थालेको छ । कृषि उत्पादनमा पछिल्ला वर्षहरूदेखि कमी आएको छ । त्यसैको उदाहरण हो, दैलेखको सुन्तला खेतीको घट्दो उत्पादन । पाँच वर्षअघिमात्र संघीय सरकारले दैलेखको दुल्लूलाई ‘सुन्तला जोन’ घोषणा गरेको थियो । यसले कृषकहरू उत्साहित थिए । सुन्तला जोन अन्तर्गत दुल्लूमा ६ सय ५९ हेक्टर क्षेत्रमा सुन्तला खेति गरिएको छ । त्यसमध्ये तीन सय हेक्टरमा फल दिने सुन्तलाका बोटहरू छन् जसबाट २७ सय मेट्रिक टन सुन्तला फल्ने अनुमान गरिएको छ । तर, दुल्लू नगरपालिकाको वडा नं. ११ का तीन सय घरपरिवारले लगाएका सुन्तला अहिले संकटमा छन् । सुन्तलाका हाँगा र डाठ सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या भएको कृषकहरू बताउँछन् । किसानहरूको अनुभवले मात्र हैन, तथ्यांकले समेत दैलेखमा बर्सेनि सुन्तला उत्पादन घटेको देखाउँछ । कृषि विकास कार्यालय दैलेखका अनुसार चालु आर्थिक वर्षमा ६ सय १४ हेक्टर क्षेत्रफलमा पाँच हजार नौ सय मेट्रिक टन सुन्तला उत्पादन गर्ने लक्ष्य रहेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा ६ सय १२ हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय ७६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ६ सय ११ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा पाँच हजार नौ सय ८५ मेट्रिक टन उत्पादन भयो । प्रत्येक वर्ष सुन्तला क्षेत्र बिस्तार गरिएपनि उत्पादन भने घटिरहेको छ ।
सुन्तलाको व्यावसायिक विकास हुने क्रममै जलवायु परिवर्तनको असरले नोक्सानी पु¥याउँदा कृषकहरू हतोत्साही बनेका छन् । एकातिर जलवायु परिवर्तनको असर देखिएको छ भने अर्कोतिर मौसमको अनुकूलताअनुसार सुन्तलालाई मलजल, सिँचाइ, काटँछाट र उचित स्याहारसुसार नहुँदा उत्पादनमा कमी आएको विज्ञहरू बताउँछन् । बदलिदो मौसकको अनुकूलतासँगै बगैँचाको पुनःसंरचनाका लागि कृषकहरूलाई प्रोत्साहित गर्नुपर्ने देखिएको छ । जसले घट्दो क्रममा पुगेको कृषि उत्पादन वृद्धिमा सघाउ पुग्नेछ ।
प्रकाशित मितिः १ पुष २०८०, आईतवार ०५:०३
सम्पादकीय ।