धर्मसम्बन्धी केही वैज्ञानिक विचारधारा

 

समाजमा मिलेर बस्ने मानवीय गुणलाई सबैभन्दा पहिले धर्मले नै अतिक्रमण गर्‍यो । मानिसमा विद्यमान प्रेम, करुणा, दया, सहयोगजस्ता अति सुन्दर गुणहरू जातीयता, धर्म, साम्प्रदायिकताजस्ता कारणले गर्दा लोपोन्मुख अवस्थामा पुग्न थालेको आभास भइरहेको छ । अहिलेको युग मानवीय चरित्रको उच्च जोखिमको युग हो भन्दा फरक नपर्ला । विभिन्न बहानामा राष्ट्रिय स्वार्थको टक्करले कथित धर्मयुद्वका नगराहरू बजिरहेका छन् ।

पूर्वीय समाज, जसलाई हामी प्राचिन भारतका नामले चिन्दछौँ, त्यतिबेला पनि धार्मिक पाखण्डवादमाथि चार्वाकजस्ता ऋषिमुनिहरूले लोकायतजस्तो मत अगाडि सारेर अन्धभक्तिवादमाथि निकै ठूलो प्रहार गरेको प्रमाण पाउँछौँ । त्यही मतलाई केही फरक शैलीमा गौतम बुद्धले पनि अनिश्वरवादको नाममा सविस्तार गरे । त्यो क्रम पूर्वीय–पाश्चात्य दुवै महाद्वीपमा अद्यावधिक नै चलिरहेको छ, तर केही पाश्चात्य वैज्ञानिकहरू पनि छन् जसलाई १९÷२०औँ शताब्दीका समीक्षकहरूले धर्मको विरोधमा स्वतन्त्र वैज्ञानिक चिन्तनका लागि उच्च वलिदानको आदर्श स्थापित गर्ने महान् शहिदका रूपमा सम्मान दिएका छन् । त्यस्तो सम्मान पाउने वैज्ञानिकका रूपमा जियोर्दानो ब्रुनो ( सन् १५४८–१७ फेब्रुअरी १६००) लाई लिने गरिन्छ । ब्रुनो ती व्यक्ति हुन् जसले ‘आकाश केवल उत्ति छैन जत्ति हामीले देखेका छौँ, त्यो अनन्त छ, जसमा असंख्य विश्व छ । धर्ती मात्रै हैन, सूर्य पनि आफ्नो कक्षमा घुम्छ’ भन्ने कोपर्निकसको विचारलाई दह्रो समर्थन गर्दै त्यसको प्रचारप्रसारमा जीवनपर्यन्त लागे, फलस्वरूप उनलाई इटालीमा समर्थन र विरोध दुवै मिले पनि अन्ततः कैथोलिक चर्चका पादरीहरूले उनलाई धार्मिक सिद्धान्तको विरोधी ठहर गर्दै आठ वर्षसम्म कडा यातनाका साथ जेलमा राखे । यसैबीच उनलाई माफी मागेमा जीवनदान दिने सर्त अगाडि सारियो, त्यसलाई ब्रुनोले सहजै अस्वीकार गरिदिएपछि १७ फेब्रुअरी सन् १६०० का दिन ५२ वर्षको उमेरमा रोमको खुला चउरमा सारा मानिसहरूको उपस्थितिका बीच खाँबोमा बाँधेर शरीरभरि मट्टीतेल छर्केर ज्यूँदै आगो लगाएर मारे । मानव सभ्यताको निम्ति योभन्दा क्रुर, निन्दनीय र धार्मिक आतंकवादको उदाहरण अरु के हुनसक्छ र ?

त्यसको असर युरोपेली समाजका कुनाकुनासम्म फैलियो र फ्रान्सिस बेकन (१५६१–१६२६) जस्ता नयाँ वैज्ञानिकहरू तुरुन्तै देखा परिहाले । प्राचिन ग्रीकको भौतिकवादलाई नयाँ व्याख्या दिने क्रममा बेकनको उदय भयो । यसपछि ग्यालिलियो ग्यालिली (१५ फेब्रुअरी १५६४–८ जनवरी १६४२)को युग प्रारम्भ भयो । ग्यालिलियो ग्यालिलीले हाम्रो सौर्य मण्डलको सातौं ग्रह ‘युरेनस बी’ को खोजलाई ब्रुनोको हत्याको दुई सय वर्षपछि पुष्टि गरिदिए । अब पोपले ग्यालिलियोलाई पनि लखेट्न थाल्यो र उनलाई पनि लामो समयसम्म जेलमा यातना दिएर राखियो । ईश्वर छैनन्, यो पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहेको छ भन्ने मत अगाडि सारेर ग्यालिलियो पनि इटालीमा विवाद र समर्थनको केन्द्रविन्दु बन्न पुगे । त्यसरी ग्यालिलियोको युगसम्म आइपुग्दा धर्मका ठेकेदारहरूको गोरखधन्धा युरोपभरि विवादको घेराभित्र पर्न थाल्यो र पुनर्जागरणकालको शीर्षस्थानमा रहेर उनले वैज्ञानिक विचारधारालाई अझ स्थापित गर्न सफल भए । त्यसपछि स्पिनिजा (१६३२–१६७७) ले झनै ठूलो क्रान्तिकारी धक्का दिदै धर्मको विरुद्धमा सृष्टिको व्याख्यासँगसँगै मानव जीवनको उत्पत्तिसम्बन्धी मतलाई अगाडि सारे । यिनले मानव जीवनको सृष्टि भन्दा पहिल्यै पदार्थको जन्म भएको हो भनेर नवीन खोजलाई स्थापित गरेपछि अब फेरि ईश्वरीय देनको रूपमा सृष्टिको अस्तित्वमाथि प्रश्न खडा भयो ।

महान् जर्मन दार्शनिक जर्ज विल्हेम फ्रेडरिख हेगेल (२७ अगस्त १७७०–१४ नोभेम्बर १८३१) ले वस्तुको अस्तित्व त्यहाँसम्म रहन्छ जहाँसम्म अन्तरविरोध रहन्छ । अन्तरविरोध नहुनु भनेको अस्तित्व नै समाप्त हुनु हो भन्दै निराकारमय ईश्वरीय लीलाको धज्जी उडाउने काम गरे । हेगेलको द्वन्द्ववाद आजको माक्र्सवादी द्वन्द्ववादको जननी हो भन्ने कुरामा दुईमत छैन । हेगेलका विचारलाई अगाडि बढाउने क्रममा अठारौं शताब्दीका महान् विचारकहरू इम्मानुअल कान्ट, मिखाइल लामोनोसोव, अलेक्ज्यान्डर–याडिश्वेव, दिदेरो, हेल्वेटिस आदिको पनि ठूलो योगदान छ, यिनीहरूले ईश्वरीय अन्धविश्वास र अवैज्ञानिक चिन्तनमाथि कडा र निर्मम ढंगले प्रहार गरे । हेगेलपछि जर्मन दार्शनिक लुडविख फायरबाख (१८०४–१८७२) ले शास्त्रीय भौतिकवादलाई अझै मूर्तरूप दिने काममा जीवनपर्यन्त लागिपरे । यिनले हेगेलकै मतलाई अझै परिष्कृत गर्दै भौतिकवादी चिन्तनलाई व्यवस्थित गरे । फायरबाखले भौतिकवादी अवधारणालाई विज्ञानसम्मत ढंगबाट व्याख्या गर्दै समाज विकासमा ईश्वरीय अस्तित्व कतै नभएको भनेर आलोचना गरे ।

धर्म र ईश्वरको अस्तित्वमाथि प्रश्न खडा गर्दै जीवनको उत्पत्तिसम्बन्धी सबैभन्दा प्रमाणित व्याख्यासहित महान् जीव वैज्ञानिक चार्ल्स डार्बिन (१२ फेब्रुअरी १८०९–१९ अप्रिल १८८२) ले विकासवादी सिद्धान्त प्रतिपादन गरे । यिनको उदयले बाँदरहरूको पुर्खालाई चर्चामा मात्रै ल्याइदिएन अपितु मानव जातिको उत्पत्तिको शाखासन्तान नै बाँदर हो भन्ने विचारलाई स्थापित पनि गरिदियो । यहीँबाट मानव जातिको शाखाको पहिचान भयो र ईश्वरको कृपाले मानव जीवन पाएको व्याख्या गर्ने धर्मान्धहरू थला परे । यसलगत्तै हेगेल र फायरबाखको विचारलाई अर्का महान् जर्मन दार्शनिक कार्ल माक्र्स (५ मे १८१८ – १४ मार्च १८८३) ले संयोजन गर्दै आफ्नो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको सिद्धान्तको रूपमा नयाँ व्याख्यासहित समाजको क्रान्तिकारी व्याख्या अगाडि सारे । माक्र्सले धर्मलाई अफिमको संज्ञा दिँदै यसको विरोधमा वैज्ञानिक साम्यवादको विभिन्न चरणको व्याख्या पनि गरे । यिनले आजसम्मको सबैभन्दा पुरानो इतिहास वर्गसंघर्षको इतिहास हो भन्दै समाज विकासको वैज्ञानिक भौतिकवादी व्याख्या गरे । यिनीसँग मिलेर फ्रेडरिख एङ्गेल्स (२८ नोभेम्वर १८२०– ५ अगस्त १८९५) ले पनि थुप्रै क्रान्तिकारी कामहरू गरे । यसक्रममा एङ्गेल्सले बाँदरबाट मानिसमा रूपान्तरणका क्रममा श्रमको भूमिका तथा परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिलगायत थुप्रै कृतिमा धर्मको कुपमण्डुकतामाथि हमला गरेका छन् । माक्र्स, एङ्गेल्सपछि युरोपेली समाजमा धर्मका विरोधमा वैज्ञानिक विचारधाराको बाढी नै आयो भन्दा पनि हुन्छ । यसै क्रममा फ्रेडरिख नित्से (१५ अक्टोबर १८४४– २५ अगस्त १९००)ले त मेरा हात ईश्वरको रगतले लतपतिएको छ भन्दै ईश्वरलाई आफूले हत्या गरेको विचार अगाडि सारे । आज संसारभर नित्सेको दर्शनलाई जीवनदर्शन पनि भनिन्छ । उनले मानव समाजको विकासमा ईश्वर र देवीदेवताले धेरै नोक्सान पु¥याएको र धर्मले मानिसलाई दासताको जञ्जिरमा राखेको समेत उल्लेख गरेका छन् । यसरी ईश्वर र धर्मका नाममा सृष्टि गरिएका पाखण्डवादमाथि अनेकौं वैज्ञानिक दिशाबाट प्रकाश पार्ने काम समय–समयमा भइरहेको छ । पछिल्लो चरणमा अल्वर्ट आइन्स्टाइन, स्टेफिन हकिङलगायतका वैज्ञानिकहरूले पनि धर्मको पाखण्डवादमाथि कडा प्रहार गरेका छन् ।

अब अलिकति हाम्रो सामाजिक रीतिरिवाज, परम्परा र धर्मसंस्कृतिमाथि पनि चर्चा गरौँ । यहाँका धार्मिक संघ–संस्थामा बसेका पण्डित, पुरोहितहरूले कर्मकाण्डका माध्यमबाट अझैसम्म पनि स्वर्गको टिकट बेच्न बन्द गरेका छैनन् । युरोपबाट स्वर्गको टिकट बेच्न सुरु भएको लीलाक्रम नेपालजस्ता गरिब देशमा अहिलेसम्म पनि अद्यावधिक नै छ । यहाँका पुजाआजा, विवाह, व्रतबन्ध, मृत्यु संस्कार सबैतिर बाहुनवाद लादिएको छ । कसैले विरोध गरेको अवस्थामा पनि गाली बेइज्जती भोग्नुपर्ने र समाजबाट बहिस्कृत हुनपर्ने बाध्यकारी अवस्था छ । तर ठाउँ–ठाउँमा यसको विरोध हुँदै आएको पनि छ । यसैक्रममा नेपाली राजनीति र साहित्यका स्वनामधन्य व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाले आफ्ना बाबुको किरिया कर्म कर्मकाण्डीय शैलीमा गरेनन् र उनले धर्मको पाखण्डी चरित्रमाथि प्रहार गरे । यसलाई निरन्तरता दिँदै नेपाली कम्युनिष्ट आन्दोलनका शीर्षस्थ व्यक्तित्व मोहनविक्रम सिंहले पनि बाबुआमा दुवैको किरिया गरेनन् । यो क्रम अहिले बढ्दैछ र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो छोरा र श्रीमती दुवैको किरिया कर्म गरेनन् । यस्ता अनेकौं उदाहरण छन् र भर्खरै केही समयदेखि सुर्खेतमा पनि बाहुन नराखी श्रद्धाञ्जली समारोहका रूपमा शोक मनाउने अभियान बढ्दैछ । झन्डै दुई दशक अघि वीरेन्द्रनगर–४, सुर्खेतका लोकप्रसाद पन्त र लीलाधर गौतमले पनि आमाको किरिया नगरी श्रद्धाञ्जली समारोहका रूपमा शोक मनाउने परम्परालाई अगाडि बढाएको पाइन्छ । अहिले भर्खरै पनि निर्मल मानवका सबै परिवार मिलेर बाहुनको पुरेहित्याइको लुट खसोटलाई विरोध गर्दै आफ्नी आमाको किरिया कर्म परम्परागत भन्दा भिन्दै शैलीमा, सामान्य पहिरन र विना पुजाआजा वा पण्डित नराखेरै नित्य शोकका काम गरिरहेका छन् । उनीहरूले धार्मिक परम्परालाई झण्डै दुई वर्षअघि आफ्ना बाबुको मृत्युको बेला पनि तिरस्कार गरे र अहिले आमाको मृत्युमा पनि त्यही नयाँ परम्परालाई अगाडि बढाइरहेका छन् । यसबाट धर्मका ठेकेदार पण्डित, पुरोहित र पाखण्डीहरूलाई गहिरो आघात पुगेकाले विरोध पनि भइरहेको छ । यस्तो विरोध हुनु पुरातनवादी एवम् यथास्थितिवादी चिन्तनकै उपज हो भन्ने कुरामा दुईमत छैन ।

यसरी समाजमा व्याप्त धार्मिक अन्धविश्वासलाई विरोध गर्नेहरू ब्रुनोले जस्तो मृत्युवरण गर्नु नपरे पनि समाजबाट अझैसम्म पनि बहिष्कृत हुनुपर्ने स्थिति अवशेषका रूपमा छदैछ तर त्यसको निर्ममतापूर्वक विरोध गर्दै यस्ता अनेकौं अभियानहरूलाई जोड्दै निरन्तरता दिनु वैज्ञानिक दृष्टिकोणले अपरिहार्यसमेत छ । यस्तो अभियान ब्रुनोको शहादतप्रतिको सम्मान हो र धार्मिक अन्धविश्वासमाथिको हमला पनि हो भन्ने मलाई लागिरहेको छ ।

 

प्रकाशित मितिः   ३० मंसिर २०८०, शनिबार ०५:०४