सुन्तला उत्पादन बर्सेनि घट्दै
सुर्खेत: दैलेखको दुल्लू नगरपालिका वडा नं. ११, कालभैरवका जगत पन्तले २०५३ सालमा पाँच रोपनी जग्गामा सुन्तला खेती सुरु गरे । २४ वर्षपछि नै उनले आफ्नो सुन्तला खेती १५ रोपनीमा विस्तार गरे । खेती सप्रेका बेला उनको वार्षिक आम्दानी पाँच लाखसम्म हुन्थ्यो जसबाट पाँच जनाको उनको परिवारको गुजारा चल्थ्यो । सुन्तलाको बगैँचा नै बगैँचा थियो । बोटभरि लटरम्म फल्थे । जता हे¥यो उतै पहेँलपुर देखिन्थ्यो ।
तर, ती दिन अहिले उनलाई सपनाजस्तो लाग्छ । केही वर्षदेखि सुन्तलाको उत्पादन घट्दै गएकोले पन्तको मनमा निराशा छाएको छ । करिब दुई वर्षयता सुन्तलाको बोटमा फल लाग्न छाडेको, दाना सानो भएको र पहिलाजस्तो मिठो पनि नहुने उनको अनुभव छ । भन्छन्, ‘कतै रोग लागेर समस्या छ । बचेका ठाउँमा पनि असिनाजन्य प्रकोपले समस्या पारेको छ ।’
उनको बगैँचामा रहेका डेढ सय सुन्तलाको बोटबाट उत्पादन बर्सेनि घट्दो छ । आर्थिक वर्ष २०७५/०७६ मा ४० क्वीन्टल सुन्तला फलेको थियो भने २०७६/०७७ मा २७ क्विन्टर फलेको थियो । त्यसपछि आर्थिक वर्ष २०७७/०७८ मा उत्पादन अझै घटेर १३ क्विन्टलमा झ¥यो भने २०७८/०७९ मा ११ क्वीन्टल सुन्तला मात्रै उत्पादन भयो । यसरी हरेक वर्ष सुन्तलाको उत्पादन अनपेक्षित रूपमा घट्दै गइरहेको छ ।
जगतको परिवारको रोजीरोटीसमेत सुन्तला खेतीबाट चलेको थियो । घरखर्च मात्र नभइ बालबालिकाको शिक्षा दिक्षासमेत सुन्तला उत्पादनबाट चल्दै आएको थियो । तर अब उनी सुन्तला खेतीबाट जीविका चल्नेमा ढुक्क छैनन् । भन्छन्, ‘अब के गरेर जीवन चलाउने ? मेरो त व्यावसाय र पेसा नै संकटमा पर्न लाग्यो ।’
पाँच वर्षअघिमात्र संघीय सरकारले दैलेखको दुल्लूलाई ‘सुन्तला जोन’ घोषणा गरेको थियो । आफ्नो वडासमेत सुन्तला जोनका लागि छनोट भएकोमा उनी उत्साहित थिए । सुन्तला जोन अन्तर्गत दुल्लूमा ६ सय ५९ हेक्टर क्षेत्रमा सुन्तला खेति गरिएको छ । त्यसमध्ये तीन सय हेक्टरमा फल दिने सुन्तलाका बोटहरू छन् जसबाट २७ सय मेट्रिक टन सुन्तला फल्ने अनुमान गरिएको छ । तर, दुल्लू नगरपालिकाको वडा नं. ११ का तीन सय घरपरिवारले लगाएका सुन्तला अहिले संकटमा छन् । सुन्तलाका हाँगा र डाठ सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या भएको कृषक छविलाल बोगटीले बताए । गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
किसानहरूको अनुभवले मात्र हैन, तथ्यांकले समेत दैलेखमा बर्सेनि सुन्तला उत्पादन घटेको देखाउँछ । कृषि विकास कार्यालय दैलेखका अनुसार चालु आर्थिक वर्षमा ६ सय १४ हेक्टर क्षेत्रफलमा पाँच हजार नौ सय मेट्रिक टन सुन्तला उत्पादन गर्ने लक्ष्य रहेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा ६ सय १२ हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय ७६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ६ सय ११ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा पाँच हजार नौ सय ८५ मेट्रिक टन उत्पादन भयो । प्रत्येक वर्ष सुन्तला क्षेत्र बिस्तार गरिएपनि उत्पादन भने घटिरहेको छ ।
सुन्तला बगैँचाको व्यवस्थापन राम्रो नहुनुका साथै बोट बूढो भएकोले उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले बताए । सुन्तलाका बोटहरू बूढो हुँदै जाँदा उत्पादन क्षमता पनि कम हुने उनको भनाइ छ । ‘सुन्तलालाई मलजल, सिँचाइ, काटँछाट र उचित स्याहारसुसार नहुँदा उत्पादनमा कमी आएको हो,’ उनले भने । बगैँचाको पुनःसंरचना गर्न सकेमा सुन्तला खेतीको विकास र बिस्तार गर्न सकिने उनले बताए ।
किसान छविलाल बोगटीका अनुसार सुरुमा सुन्तलाका जरा, बोट सुकेर मर्ने रोग, औँसे किरा, दानामा दाग लगायतले सुन्तला खेतीमा क्षति पु¥यायो । फल लाग्ने बेलामा रुख नै पहेँलो हुने, फल पाक्ने समय नभई पहेँलो हुने समस्या देखियो । ‘सुन्तलामा रोग देखिएको छ, उपचार विधि छैन,’ बोगटीले भने, ‘सुन्तलाको लोकल (पुरानो) जातमा बढी रोग देखापरेको छ ।’ एक हजार बोट सुन्तला लगाएका उनको अहिले आठ सय बोटमा मात्र सुन्तला फल्छ ।
नयाँ रोग किरा लाग्नु र बाढी पहिरोले सुन्तला खेतीमा क्षति पुग्नुका साथै जलवायु परिवर्तनका कारण देखिएको मौसमी बदलाव पनि एउटा कारण हुनसक्ने कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाया बताउँछन् । भन्छन्, ‘फल्ने समयभन्दा अगाडि नै फलफूल फूल्ने, दाना लाग्ने भइरहेको छ । जसले गर्दा उत्पादन र गुणस्तर कम हुन्छ ।’ विज्ञहरूको यस्तो सुझावका बावजुद बर्सेनि घट्दो उत्पादनबाट किसान झनै पिरोलिएका छन् ।
रजनी याेगी ।