विवादले विद्युत विस्तार अवरुद्ध

१३२ केभीए प्रसारण लाइनको काम ठप्प

सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारको काम फेरि अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो ।

निकुञ्ज क्षेत्रभित्रका रुख कटानको आदेश नहुँदा र स्थानीयको अवरोधका कारण काम रोकिएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए । उनका अनुसार विवादरहित क्षेत्रमा काम सकिएको छ । अहिलेसम्म २२ किलोमिटरसम्म तार तान्ने काम भइसकेको छ । ९५ वटा फाउन्डेसन निर्माण गरिएको छ भने ६० वटा टावरसमेत तयार भइसकेका छन् । ८० वटा पोल पनि गाडिएको चौधरीले जनाए । अब बाँकी रहेका काम अघि बढाउन मुआब्जा विवाद र रुख कटानको समस्या समाधान गर्नुपर्ने हुन्छ ।

कर्णालीमा बिजुली पुग्ने एउटै आधार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारणलाइनलाई १३२ केभीको बनाउन काम थालिएको हो । तर निकुञ्जले रुख कटान अनुमति दिएको छैन । रुख कटानको अनुमतिको फाइल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा थन्किएको छ । विभागबाट अनुमति प्राप्त नहुँदा निकुञ्ज क्षेत्रमा काम अघि बढ्न सकेको छैन ।

आयोजनाका अनुसार निकुञ्ज क्षेत्रभित्रका करिब ६ हजार रुख कटानका लागि अनुमति मागिएको छ । आयोजना प्रमुख चौधरी भन्छन्, ‘ठेकेदारले काम गर्ने ठाँउ दिनुस् भनेर पत्राचार गरिरहेको छ । अब काम गर्न बाँकी क्षेत्रमा विवाद नै विवाद छ । त्यसैले काम ठप्प भएको हो ।’

विद्युत विस्तार क्षेत्रमा पर्ने व्यक्तिको स्वामित्वमा रहेका जग्गा मुख्य समस्या बनेका छन् । मुआब्जाको विषय नटुँगिएकाले उक्त जग्गा आयोजनाको नाममा बनाउन समस्या भइरहेको छ । यसका साथै सरकारी वन क्षेत्र प्रयोग गर्न पनि अनुमति नपाउँदा काम गर्न सकस भएको हो । निर्माण कम्पनीले काम गर्छुभन्दा पनि काम गर्ने क्षेत्र नहुँदा हात बाधेर बस्नु परिरहेको प्रमुख चौधरी बताउँछन् । आयोजनाको ठेक्का सम्झौता भएसँगै कानुनी प्रक्रियामै झन्झट व्यहोर्नु परिरहेको उनको भनाइ छ । कानुनी उल्झन र विभिन्न अवरोधहरूका कारण आयोजनाको काम रोकिएको भन्दै उनले सरोकारवालाले चासो दिनुपर्ने बताए ।

 

सुल्झिएन विवाद

सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद कायमै रहेको छ । विवाद नै विवादका कारण आयोजना निर्माणको काम ठप्प भएको हो । ‘बैजनाथमा विवाद समाधान नहुँदा तीन वर्षदेखि लाइन विस्तार कार्यमा अवरोध भइरहेको छ’ चौधरीले भने, ‘सुब्बाकुनामा पनि विवाद सुल्झिएको छैन ।’

विद्युत लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । पछिल्लो समय यो विवाद थप पेचिलो बन्दै भएको आयोजनाले जनाएको छ ।

लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । आयोजनाको ७० प्रतिशत प्रगति हासिल भएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । २०८० चैतमा आयोजनाको सम्झौता सकिँदैछ । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको हो । जनशक्ति र उपकरण पर्याप्त भएपनि आयोजना निर्माण क्षेत्रमा विवाद हुँदा काम रोकिएको हो ।

प्रदेश सरकारले भने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले विद्युत प्रसारण लाइन विस्तारमा देखिएका समस्या सुल्झाउन पहल भएको बताएकी छिन् । उनले भनिन्, ‘आयोजना प्रमुखले मलाइ बारम्बार यसबारे ध्यानाकर्षण गराउनु भएको छ । मैले सम्बन्धित ठाउँमा पत्राचार गर्न लगाएको छु ।’ प्रदेशको गौरवको आयोजना विवादले रोकिन हुँदैन भन्ने मान्यतामा आफू रहेको र केन्द्रीय तहलाई समेत यस विषयमा जानकारी गराउने उनले बताइन् । काम गर्छु भन्दा भन्दै काम गर्ने वातावरण नहुँनु दुखद भएको उनको भनाइ छ ।

प्रकाशित मितिः   २९ मंसिर २०८०, शुक्रबार ०५:०५