कृषिमा लगानी

कर्णाली प्रदेशमा कृषक परिवारको संख्या बढे पनि कृषि गरिने जमिनको क्षेत्रफल भने घटेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार प्रदेशमा कृषकको संख्या बढेको हो । जसअनुसार कर्णालीमा कृषि गरिरहेको परिवार संख्या तीन लाख दुई हजार ६ सय ४० छ । यो कूल परिवार संख्याको ८२ दशमलव ६३ प्रतिशत हो । उनीहरूले एक लाख १७ हजार चार सय ११ हेक्टर जमिनमा कृषि गरिरहेका छन् । प्रदेशमा सबैभन्दा बढी सुर्खेत जिल्लामा ६२ हजार पाँच सय २६ कृषक परिवारले २४ हजार एक सय ३९ हेक्टरमा कृषि कार्य गर्ने गरेका छन् । जिल्लामा पाँच हजार नौ सय ५५ कृषक परिवार संख्या बढेको छ भने तीन हजार एक सय दुई हेक्टर क्षेत्रफल घटेको छ । सुर्खेत जिल्लामा ६३ दशमलव ८७ प्रतिशत कृषक परिवार रहेको गणनाले देखाएको छ ।

कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भएपनि सिँचाइको भने अभाव छ । हालसम्मको तथ्यांकले कूल सिँचित क्षेत्रफल २८ दशमलव आठ प्रतिशत मात्रै देखिएको छ । सुर्खेतमा ४५ दशमलव पाँच प्रतिशत रहेको देखिन्छ । प्रदेशभर ५६ दशमलव आठ प्रतिशतले सिँचाइ सुविधा लिएको तथा सुर्खेतमा ६६ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् । कृषि गणनाअनुसार कर्णाली प्रदेशमा मुख्य गरेर धान, मकै र गहुँको खेती बढी हुन्छ । २९ हजार दुई सय ४१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भइरहेको छ । सुर्खेत जिल्लामा नौ हजार चार सय ३२ हेक्टर धान बाली, आठ हजार सात सय ५५ हेक्टरमा मकै बाली र ११ हजार तीन सय ४१ हेक्टर क्षेक्रफलमा गहुँ बाली लगाउने गरिएको छ । प्रदेशमा पछिल्लो समय फलफूल क्षेत्र विस्तार भएको छ । कार्कीका अनुसार तीन सय १२ हेक्टरमा आँप, चार सय ७२ हेक्टरमा केरा, आठ सय ९२ हेक्टरमा सुन्तला र दुई हजार एक सय ९७ हेक्टरमा स्याउ लगाइएको छ ।

नागरिकलाई कृषिकर्ममा आकर्षित गर्न कृषि बिमा र अनुदानलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । तर कर्णाली प्रदेशमा तीन दशमलव पाँच प्रतिशत कृषक परिवारले मात्र कृषि बिमा गरेका छन् भने सरकारी अनुदान पाउने कृषकको संख्या पनि न्यून देखिएको छ । प्रदेशभर चार दशमलव चार प्रतिशतले मात्र सरकारी अनुदान लिएका छन् । अनुदानका नाममा बर्सेनि खर्च हुने ठूलो बजेट वास्तविक कृषकसम्म पुग्न नसकेको देखिन्छ । यसले गर्दा कृषिको व्यावसायिक विकासमा समेत अपेक्षित प्रगति हुन सकेको छैन ।

प्रकाशित मितिः   २९ मंसिर २०८०, शुक्रबार ०५:०३