प्रहरीका चुनौती

कर्णालीमा अहिले पाँच हजार दुई सय ९७ जना प्रहरी कार्यरत छन् । जबकी प्रदेशभर ६ हजार दुई सय ७९ जनाको दरबन्दी रहेको छ । नौ सय ८२ जनाको दरबन्दी रिक्त रहेको पाइएको छ । दरबन्दीअनुसार जनशक्ति नहुँदा प्रहरीको कार्यसम्पादन अपेक्षाकृत रूपमा प्रभावकारी हुन सकेको छैन । सामान्यतयाः एक जना प्रहरीले तीन सय ७७ जनालाई सेवा दिनुपर्ने मानिन्छ । तर कर्णाली प्रदेशको एक जना प्रहरीले पाँच सय जनालाई हेर्नु परेको छ । एकातिर जनशक्ति अभाव भइरहँदा अर्कोतर्फ पर्याप्त भवनको समेत अभाव देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा प्रहरीका लागि भौतिक संरचनाको उपलब्धता सन्तोषजनक छैन । कर्णालीका अधिकांश प्रहरी कार्यालय र एकाइहरूको आफ्नै भौतिक संरचना छैनन् भने भएकाहरूमध्ये पनि धेरैजसो जीर्ण र पुराना छन् । कतिपय प्रहरी एकाइका संरचना मर्मतसम्भारको अभावमा बस्न योग्य समेत छैनन् । भूकम्पीय जोखिम र प्राकृतिक प्रकोपजन्य खतराले कर्णालीमा प्रहरीको भौतिक संरचना बस्न र कार्यालय सञ्चालन गर्न उपयुक्त छैनन् ।

कर्णालीमा प्रहरीले सामना गर्नुपरेको मुख्य चुनौती भनेकै सुरक्षित, सुविधायुक्त र पर्याप्त भौतिक संरचनाको अभाव हो । प्रदेशमा प्रहरीका झन्डै ४५ प्रतिशत एकाइसँग भौतिक संरचना निर्माणका लागि आफ्नो जग्गा छैन । २५ प्रतिशत प्रहरी एकाइका लागि मात्र भवनहरू निर्माण भएका छन् । कर्णालीमा रहेका तीन सय आठ प्रहरी एकाइमध्ये एक सय ७२ एकाइमा जग्गा छ, एक सय ३६ प्रहरी एकाइमा जग्गा छैन । आफ्नै भवन भएका एकाइहरू ७९ वटामात्रै छन् भने दुई सय २९ वटा प्रहरी एकाइहरूमा आफ्नै भवन छैनन् । भवन नभएका दुई सय २९ वटा प्रहरी एकाइहरूमध्ये एक सय एक वटा भाडामा सञ्चालनमा छन् भने एक सय १५ वटा प्रहरी एकाइहरू दाताको सहयोगमा बसिरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र मातहतका एकाइ गरी हाल ११ वटा भवन निर्माणाधीन अवस्थामा छन् । अघिल्लो आर्थिक वर्षमा हुम्ला, मुगु, दैलेख र डोल्पामा गरी ६ वटा अस्थायी प्रहरी पोस्टहरू स्थापना गरिएको छ । जाजरकोट र कालीकोटमा अघिल्लो आर्थिक वर्षमा सात वटा प्रहरी एकाइका लागि १७ रोपनी जग्गा प्राप्ति भएको कार्यालयले जनाएको छ ।

कर्णालीको प्रहरी विभिन्न बाधाहरूसँग जुधिरहेको छ । प्रविधिसँग जोडिएका अपराध अनुसन्धान गर्न दक्ष जनशक्तिको समेत कमी रहेको छ । कर्णालीमा साधन स्रोत, जनशक्ति अभावसँगै तालिम प्राप्त दक्ष जनशक्ति अभाव रहेको हो । बढ्दो जनसंख्या, सहरीकरण, पूर्वाधार निर्माण, बढिरहेको अपराधिक गतिविधिका कारण दक्ष जनशक्ति नहुँदा काम गर्न समस्या भइरहेको छ ।

प्रकाशित मितिः   २४ मंसिर २०८०, आईतवार ०५:०२