प्रहरीसामू चुनौतीका चाङ: दक्ष जनशक्तिको अभाव, दरबन्दी नै रिक्त

सुर्खेत: कर्णालीमा अहिले पाँच हजार दुई सय ९७ जना प्रहरी कार्यरत छन् । जबकी प्रदेशभर ६ हजार दुई सय ७९ जनाको दरबन्दी रहेको छ । नौ सय ८२ जनाको दरबन्दी रिक्त रहेको पाइएको छ ।

दरबन्दीअनुसार जनशक्ति नहुँदा प्रहरीको कार्यसम्पादन अपेक्षाकृत रूपमा प्रभावकारी हुन सकेको छैन । प्रदेश प्रहरी प्रमुख भिमप्रसाद ढकालले जनशक्ति कम हुँदा नयाँ रणनीतिले काम गर्दै आएको बताए । सामान्यतयाः एक जना प्रहरीले तीन सय ७७ जनालाई सेवा दिनुपर्ने मानिन्छ । तर कर्णाली प्रदेशको एक जना प्रहरीले पाँच सय जनालाई हेर्नु परेको ढकालले जानकारी दिए । यद्यपि, न्यून जनशक्तिलाई परिचालन गरेर भएपनि प्रदेशमा प्रहरीले उत्कृष्ट काम भर्न सफल भएको दाबी ढकालको छ । उनले राम्रो काम गर्ने प्रहरीलाई सम्मानित र गलत काम गर्नेलाई दण्डित गरेको जनाए ।

पर्याप्त छैनन् भवन

एकातिर जनशक्ति अभाव भइरहँदा अर्कोतर्फ पर्याप्त भवनको समेत अभाव देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कमा प्रहरीका लागि भौतिक संरचनाको उपलब्धता सन्तोषजनक छैन । कर्णालीका अधिकांश प्रहरी कार्यालय र एकाइहरूको आफ्नै भौतिक संरचना छैनन् भने भएकाहरूमध्ये पनि धेरैजसो जीर्ण र पुराना छन् । कतिपय प्रहरी एकाइका संरचना मर्मतसम्भारको अभावमा बस्न योग्य नरहेको महानिरीक्षक ढकाल बताउँछन् । ‘भूकम्पीय जोखिम र प्राकृतिक प्रकोपजन्य खतराले कर्णालीमा प्रहरीको भौतिक संरचना बस्न र कार्यालय सञ्चालन गर्न उपयुक्त छैनन्’ उनी भन्छन्, ‘कर्णालीमा प्रहरीले सामना गर्नुपरेको मुख्य चुनौती भनेकै सुरक्षित, सुविधायुक्त र पर्याप्त भौतिक संरचनाको अभाव हो ।’

प्रदेशमा प्रहरीका झन्डै ४५ प्रतिशत एकाइसँग भौतिक संरचना निर्माणका लागि आफ्नो जग्गा छैन । २५ प्रतिशत प्रहरी एकाइका लागि मात्र भवनहरू निर्माण भएका छन् । ‘कर्णालीमा रहेका तीन सय आठ प्रहरी एकाइमध्ये एक सय ७२ एकाइमा जग्गा छ, एक सय ३६ प्रहरी एकाइमा जग्गा छैन’, प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, ‘आफ्नै भवन भएका एकाइहरू ७९ वटामात्रै छन् भने दुई सय २९ वटा प्रहरी एकाइहरूमा आफ्नै भवन छैनन् ।’

भवन नभएका दुई सय २९ वटा प्रहरी एकाइहरूमध्ये एक सय एक वटा भाडामा सञ्चालनमा छन् भने एक सय १५ वटा प्रहरी एकाइहरू दाताको सहयोगमा बसिरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र मातहतका एकाइ गरी हाल ११ वटा भवन निर्माणाधीन अवस्थामा छन् । अघिल्लो आर्थिक वर्षमा हुम्ला, मुगु, दैलेख र डोल्पामा गरी ६ वटा अस्थायी प्रहरी पोस्टहरू स्थापना गरिएको छ । जाजरकोट र कालीकोटमा अघिल्लो आर्थिक वर्षमा सात वटा प्रहरी एकाइका लागि १७ रोपनी जग्गा प्राप्ति भएको कार्यालयले जनाएको छ ।

दक्ष जनशक्तिको कमी

कर्णालीको प्रहरी विभिन्न बाधाहरूसँग जुद्दिरहेको छ । प्रविधिसँग जोडिएका अपराध अनुसन्धान गर्न दक्ष जनशक्तिको समेत कमी रहेको छ । कर्णालीमा साधन स्रोत, जनशक्ति अभावसँगै तालिम प्राप्त दक्ष जनशक्ति अभाव रहेको हो ।

ढकाल भन्छन्, ‘अहिले घटनाहरू नयाँ–नयाँ प्रकृति छन् । सोहीबमोजिम तालिम प्राप्त जनशक्ति अभाव छ । जसले गर्दा कार्यसम्पादनमा ढिलाइ भइरहेको छ ।’ बढ्दो जनसंख्या, सहरीकरण, पूर्वाधार निर्माण, बढिरहेको अपराधिक गतिविधिका कारण दक्ष जनशक्ति नहुँदा काम गर्न समस्या भइरहेको उनको भनाइ छ ।

सिसी क्यामेरा नहुँदा चुनौती

यसैगरी पर्याप्त सिसी क्यामेरा नहुँदा सुरक्षामा चुनौती थपिएको प्रहरीको भनाइ छ । दैनिकजसो सडक दुर्घटना, चोरी, लुटपाटलगायतका घटना हुने गरेका छन् । तर पछिल्लो समयमा भएका सिसी क्यामेरा बिग्रिएसँगै सुरक्षामा पनि चुनौती थपिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सिसी क्यामेरा बन्द हुँदा अपराध र विभिन्न घटनाहरूको अनुसन्धानमा ढिलाइ हुने गरेको छ । ‘प्रहरीलाई कुनै घटना, दुर्घटना भयो भने सिसी क्यामेराबाट पत्ता लगाउन सजिलो हुन्छ’ महानिरीक्षक ढकालले भने, ‘भएका सिसी क्यामेरा बिग्रिएकाले अनुसन्धानमा ढिलाइ हुने र प्रहरीको कार्य सम्पादनमा समेत प्रश्न पैदा भइरहेका छन् ।’ उनले सिसी क्यामेरा सञ्चालन नहुँदा अपराध गर्ने व्यक्तिहरूको खोजी गर्न समस्या हुनेगरेको बताएका छन् । पर्याप्त जनशक्ति, साधन स्रोत, आवश्यक सूचना प्रविधिसम्बन्धी तालिम नहुँदा थप समस्या भइरहेको जनाइएको छ । सिसी क्यामेरा सञ्चालन भए जनशक्ति कम परिचालन गर्नुपर्ने तथा अपराध गर्ने व्यक्तिहरूको खोजी गर्न सहज हुने ढकालले बताए ।

प्रकाशित मितिः   २३ मंसिर २०८०, शनिबार ०५:०५