भूकम्प प्रभावितलाई आवासीय कर्जा

सुर्खेत: जाजरकोटमा गएको भूकम्पबाट प्रभावितले क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि आवासीय घर कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको आवासीय घर कर्जा दिने जनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत् गत कार्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गरेको हो । यो प्रयोजनका लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ ।

भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाइ खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था पनि गरिनेछ ।

साथै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई एक सय २५ प्रतिशत कायम गरेको छ । साथै ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ ६० प्रतिशत कायम गरेको छ ।

समीक्षामा ननडेलिभरेबल फरवार्ड कारोबार र स्थानीय विप्रेषण कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख छ । लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरूले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरूको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था पनि समीक्षामार्फत गरिएको छ ।

प्रकाशित मितिः   २३ मंसिर २०८०, शनिबार ०५:०१