दुई लेन राजमार्ग
रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग बरु दिनप्रति दिन जीर्ण बन्दै गएको छ । दोहोरो गाडी चल्न सक्नेसम्म कालोपत्रे नहुँदा यात्रु तथा सवारीसाधनले सास्ती खेप्दै आएका छन् । चार दशकभन्दा पुरानो सडक साँघुरो छ । ‘वान–वे’ कालोपत्रे गरिएको छ, साढे पाँच मिटर मात्रै । सडकैभरी खाल्डाखुल्डी छन् । तर सुधार र स्तरोन्नति हुन सकेको छैन । समयमै मर्मत नगर्दा जीर्ण बन्दै गएको छ । सवारी साधनको चाप बढिरहेको बेला सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम समेत बढ्दो छ । ‘वान–वे’ कालोपत्रेका कारण यो सडकमा सवारी ठोक्किने, पल्टने र आवतजावतमा समस्या हुने गरेको हो । यसले पैदल यात्रुहरूलाई समेत त्रसित बनाउने गरेको छ । थुप्रै स्थानमा कालोपत्रे नै उप्किएको छ ।
कर्णाली प्रदेशको मुख्य प्रवेशमार्ग नै स्तरोन्नति हुन सकेको छैन । तत्कालिन केपी ओली नेतृत्वको सरकारले रत्न राजमार्गलाई स्तरोन्नति गर्दै दुई लेन बनाउने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’मा स्तरोन्नति गर्नका लागि सात अर्ब बजेट विनियोजन भएको थियो । यसले यहाँका नागरिकमा उत्साह थपिएको थियो । तर उक्त योजना कार्यान्वयन हुन सकेन । बजेट कार्यान्वयन नभएरै फ्रिज भयो । त्यसपछिका वर्षहरूमा पनि सरकारले दुई लेनको बनाउने योजना आफ्ना बजेट भाषणसहित नीति तथा कार्यक्रममा छुटाउँदैन । तर कार्यान्वयनमा पनि आउँदैन । दुई लेन योजना कार्यान्वयन नभएपनि सडक सुधारका लागि बेलाबखत काम भने हुने गरेका छन् । तर निकै सुस्त । बाँकेको जमुनाहादेखि सुर्खेतको हर्रेसम्म ६८ किलोमिटर सडक विस्तारका लागि सडक डिभिजन कार्यालय नेपालगञ्जले काम गरिरहेको छ । यता हर्रेदेखि सुर्खेतको बाङ्गेसिमलसम्म ४४ किलोमिटर सडक विस्तारको काम सडक डिभिजन कार्यालय सुर्खेतको जिम्मामा छ । कार्यालयहरूले सामान्य मर्मत गरी कामचलाउ बनाउने गरेका छन् ।
अहिले राजमार्गअन्र्तगतका सडकमा आवधिक मर्मतको काम सञ्चालन गरिएको छ । सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्नका लागि सडक मर्मत गर्न लागिएको हो । रत्न राजमार्गमा दैनिक ठूलो संख्यामा सवारी साधन सञ्चालन हुन्छन् । जसले गर्दा दुई लेनमा स्तरोन्नति गर्ने योजना कार्यान्वयन हुन जरुरी भइसकेको छ । प्रदेशकै प्रवेशमार्गको स्तरोन्नतिमा बेवास्ता हुँदै आएको छ । तत्कालका लागि सडकका खाल्डाखुल्टी पुर्नेलगायतका नियमित काम गरिए पनि दीर्घकालीन योजनासहित दुई लेन सडक विस्तार गर्न ढिला गर्नु हुँदैन ।
प्रकाशित मितिः १९ मंसिर २०८०, मंगलवार ०५:०३
सम्पादकीय ।