‘एमालेको नेतृत्वमा एकल सरकार अपरिहार्य’

सुर्खेत: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट बहुमतसहित एकल सरकार सञ्चालन गर्ने गरी ‘मिसन–८४’ सुरु गरिएको बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा सोमवार सुर्खेतमा आयोजित आसभालाई सम्बोधन गर्दै ओलीले एमालेको नेतृत्वमा एकल सरकार नबनेसम्म देश समृद्ध हुन नसक्ने जिकिर गरेका हुन् । त्यसैका लागि ‘मिसन–८४’ सुरु गरिएको उनको भनाइ थियो ।

‘देशलाई अब गरिब भइरहन नदिनका लागि हाम्रो पार्टीले अगुवाई गर्नैपर्ने अवस्था आएको छ’ सभामा ओलीले भने । एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि एमालेकै नेतृत्वमा सरकार बन्नुपर्नेमा उनको जोड थियो । राष्ट्रिय एकता कायम गर्दै देशको स्वाधीनता र सार्वभौमिकतालाई जोगाउन एमालेले अभियान सुरु गरिसकेको भन्दै त्यसैका लागि मध्यपहाडका जनताको सुझाव संकलन गरेर हिँडिरहेको बताए ।

‘मिसन–८४’ का लागि कार्यकर्ताहरूलाई तयार हुन आग्रह समेत गरे । उनले भने, ‘अबको निर्वाचनबाट हरेक वडा, पालिका र प्रदेश हुँदै देशभर नै एमालेको बहुमत आउनुपर्दछ, त्यसका लागि तपाईंहरू सबैले आ–आफ्नो ठाउँबाट आजैदेखि काम थाल्न जरुरी छ ।’ एमालेले बहुमत नपाए देश बर्बाद हुने दावी ओलीको थियो । देशमा व्याप्त राजनीतिक अस्थिरताले मौलाएको भ्रष्टाचार र दण्डहीनताले देशको अस्तित्व संकटमा पुग्दासमेत गठबन्धनमा संलग्न पार्टी समस्या हल गर्नतर्फ गम्भीर नभएको उनको भनाइ थियो । एमाले नेतृत्वको तीन वर्षे सरकारले समृद्धि र विकासको लहर चलाएको उल्लेख गर्दै वर्तमान समस्याको हल एमाले विना सम्भव नरहेको दावीसमेत उनले गरे ।

प्रकाशित मितिः   १९ मंसिर २०८०, मंगलवार ०५:०१