सडकमा चासो

पश्चिम सुर्खेतका तीन वटा पालिका जोड्ने मूख्य सडक नै सुधार हुन सकेको छैन । सडक स्तरोन्नतिको योजना बनाइए पनि लामो समयदेखि काम हुन नसक्दा अलपत्र पर्दै आएको छ । पछिल्लो समय मदन भण्डारी राजमार्ग अन्तर्गत राखेर काम थालिएको छ । राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरिएको छ । तीन खण्डमध्ये बड्डीचौर–खब्बागाडे खण्डको कामले गति पाउन सकेको छैन । सडक सुधारका लागि काम भने भइरहेको छ । तर निकै सुस्त गतिमा । समयमा निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ । ठाउँ–ठाउँमा जीर्ण सडकलाई निर्माण कम्पनीले फोडेर ग्राभेल गरेपछि सर्वसाधारणले झनै सास्ती खेप्न बाध्य छन् ।

हालसम्म उक्त सडक खण्डको १८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १३ प्रतिशत हासिल भएको छ । साढे १२ किलोमिटरमा सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको थियो । २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ । हालसम्म कामको प्रगति निकै न्यून छ । सम्झौता अवधि सकिन केही समय मात्र बाँकी रहँदा ८२ प्रतिशत काम गर्न बाँकी नै छ । अहिले सम्म साढे दुई करोड बजेट मात्र खर्च भएको छ । बाटो फराकिलो बनाउने, नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको छ तर लक्ष्य अनुसार काम अघि बढ्न सकेको छैन । यो सडक खण्डमा सात किलोमिटर जंगल क्षेत्र परेको छ । रूख कटानको अनुमति नआएकाले उक्त क्षेत्रमा काम गर्न नसकिएको जनाइएको छ । यहि गतिमा काम भए निर्माण अवधि थप दुई वर्ष पर धकेलिने देखिन्छ । विद्यापुर–बल्दे सडक खण्डमा अहिले बाटो कटिङ्क, स्टक्चर निर्माणको काम धमाधम भइरहेको छ । राजमार्गको जंगल क्षेत्रमा पर्ने रुख कटानका लागि अनुमति आइसकेको छ । खम्बागाडे–विद्यापुर सडक खण्डको काम भने अघि बढ्न सकेको छैन । उक्त खण्डमा कामको सम्झौतासमेत भएको छैन ।

सिँगै पश्चिम क्षेत्रलाई जोड्ने सडकमै बेवास्ता भएको छ । सबैखाले पूर्वाधार विकासमा पछि परेको यो क्षेत्र विगतदेखि नै राज्यद्धारा उपेक्षित हुने गरेको छ । सडक निर्माणमा भइरहेको ढिलाइ र हेलचक्य्राइँ पनि त्यसैको उदाहरण हो । नागरिकलाई सहज यातायातको सुविधा पु¥याउने दायित्व राज्यको हो । त्यसैले पश्चिम क्षेत्रको सडक स्तरोन्नतिको योजनालाई समयमै सम्पन्न गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   १८ मंसिर २०८०, सोमबार १७:०६