जीर्ण बन्दै रत्न राजमार्ग

दुई लेन बनाउने योजना अलपत्र

कर्णालीका पहुँचमार्ग–१०


 

सुर्खेत: रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग बरु दिनप्रति दिन जीर्ण बन्दै गएको छ । दोहोरो गाडी चल्न सक्नेसम्म कालोपत्रे नहुँदा यात्रु तथा सवारीसाधनले सास्ती खेप्दै आएका छन् ।

चार दशकभन्दा पुरानो सडक साँघुरो छ । ‘वान–वे’ कालोपत्रे गरिएको छ, साढे पाँच मिटर मात्रै । सडकैभरी खाल्डाखुल्डी छन् । तर सुधार र स्तरोन्नति हुन सकेको छैन । समयमै मर्मत नगर्दा जीर्ण बन्दै गएको छ । सवारी साधनको चाप बढिरहेको बेला सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम समेत बढेको सवारी चालकहरू बताउँछन् । ‘वान–वे’ कालोपत्रेका कारण यो सडकमा सवारी ठोक्किने, पल्टने र आवतजावतमा समस्या हुने गरेको उनीहरूको अनुभव छ । सवारी चालक टोपराज बनले गाडी क्रस गर्दा कालोपत्रे गरेको भाग छोडेर कच्चि सडकमा पुग्नुपर्ने बाध्यता रहेको बताए । उनले दुर्घटनाको जोखिमका साथसाथै सवारी साधन छिटो बिग्रने समस्यासमेत निम्त्याउने गरेको जनाए । यसले पैदल यात्रुहरूलाई समेत त्रसित बनाउने गरेको छ । थुप्रै स्थानमा कालोपत्रे नै उप्किएको छ ।

कर्णाली प्रदेशको मुख्य प्रवेशमार्ग नै स्तरोन्नति हुन सकेको छैन । तत्कालिन केपी ओली नेतृत्वको सरकारले रत्न राजमार्गलाई स्तरोन्नति गर्दै दुई लेन बनाउने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’मा स्तरोन्नति गर्नका लागि सात अर्ब बजेट विनियोजन भएको थियो । यसले यहाँका नागरिकमा उत्साह थपिएको थियो । तर उक्त योजना कार्यान्वयन हुन सकेन । बजेट कार्यान्वयन नभएरै फ्रिज भयो । त्यसपछिका वर्षहरूमा पनि सरकारले दुई लेनको बनाउने योजना आफ्ना बजेट भाषणसहित नीति तथा कार्यक्रममा छुटाउँदैन । तर कार्यान्वयनमा पनि आउँदैन ।

दुई लेन योजना कार्यान्वयन नभएपनि सडक सुधारका लागि बेलाबखत काम भने हुने गरेका छन् । तर निकै सुस्त । बाँकेको जमुनाहादेखि सुर्खेतको हर्रेसम्म ६८ किलोमिटर सडक विस्तारका लागि सडक डिभिजन कार्यालय नेपालगञ्जले काम गरिरहेको छ । यता हर्रेदेखि सुर्खेतको बाङ्गेसिमलसम्म ४४ किलोमिटर सडक विस्तारको काम सडक डिभिजन कार्यालय सुर्खेतको जिम्मामा छ ।

कार्यालयहरूले सामान्य मर्मत गरी कामचलाउ बनाउने गरेका छन् । बजेट न्यून हुँदा काम गर्न नसकिएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलले बताए । उनका अनुसार आर्थिक वर्ष २०४८/०४९ मा तीन मिटर सडक कालोपत्रे गरिएको थियो भने आर्थिक वर्ष २०५४/२०५५ मा बढाएर साढे पाँच मिटर पु¥याइएको हो । त्यसपछि भने सामान्य मर्मतबाहेक सडक विस्तारको काम नभएको उनको भनाइ । चालु आर्थिक वर्षमा प्रदेश राजधानी जोड्ने सडक स्तरोन्नति कार्यक्रमअन्र्तगत दश करोड बजेट विनियोजन भएको छ ।

अहिले राजमार्गअन्र्तगतका सडकमा आवधिक मर्मतको काम सञ्चालन गरिएको छ । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैंकको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मत सुरु गरिएको हो । आगामी असार मसान्तसम्ममा मर्मत गरिसक्ने गरी सम्झौता भइ काम सुरु भएको छ । यसका लागि गत असोज १५ गते तिरूपाते निर्माण सेवा घोराही दाङसँग ठेक्का सम्झौता भएको हो । भ्याटबाहेक नौ करोड २५ लाख बजेटमा ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार आउँदो असारसम्ममा आवधिक सडक मर्मतको काम गरिसक्नुपर्नेछ ।

सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्नका लागि सडक मर्मत गर्न लागिएको हो । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको कार्यालयका इन्जिनियर रामकिशुन थारुले बताए । अहिलेलाई चार किलोमिटर सडकको आवधिक मर्मत गर्न लागिएको हो ।

यसैबीच सोही राजमार्गअन्र्तगत पर्ने साढे दुई किलोमिटर सडक चार लेनको बनाउने काम पनि सुरु भएको छ । भेरीगंगा नगरपालिका वडा नं. १० को टोलिखोला पुलदेखि वडा नं. १२ को छिन्चु बसपार्क चोकसम्म चार लेनको बनाउन लागिएको हो ।

छिन्चु बजार क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि सडक विस्तारसँगै साढे दुई किलोमिटर सडक चार लेनको बनाउने काम सुरु भएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार दुई वर्षभित्रै उक्त योजना सम्पन्न हुनेछ । २०८० असार ३ गते श्री श्याम एण्ड शंकर–अन्शुबी जेभीसँग २०८२ असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । नाला निर्माण, फुटपाथ निर्माण, रेलिंग पोष्ट निर्माणको काम हुनेछ । अहिले नाला निर्माणको काम धमाधम भइरहेको कार्यालयका इन्जिनियर थारुले बताए । उनका अनुसार सम्झौता भइ काम धमाधम अघि बढेको हो । निर्माण कम्पनीसँग २८ करोड ८१ लाख ४४ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको छ ।

प्रकाशित मितिः   १८ मंसिर २०८०, सोमबार १०:३२