भूकम्पको प्रभाव: अझै खुलेनन् विद्यालय

सुर्खेत: जाजरकोटको भेरी नगरपालिका वडा नं. १ मा रहेको दिपेन्द्र प्राथमिक विद्यालय रावत गाउँमा एक महिनादेखि पढाइ ठप्प छ । कार्तिक १७ गते गएको भूकम्पका कारण विद्यालय भवनहरूमा क्षति पुगेपछि पठनपाठन प्रभावित भएको हो । त्यसयता विद्यालय पुनः सञ्चालनमा आउन सकेको छैन ।

विद्यालयका भवन पूर्णरूपमा क्षतिग्रस्त भएकाले पठनपाठन सञ्चालन हुननसकेको प्रधानाध्यापक ध्रुवजङ्ग शाहले बताए । अस्थायी सिकाइ केन्द्रसमेत नहुँदा पढाइ सुरु हुन सकेको छैन । भूकम्पका कारण विद्यालयमा भएको क्षतिले विद्यार्थीको भविष्य अन्योलमा परेको उनी बताउँछन् । शिक्षा विकास तथा समन्वय इकाईसँग अस्थायी सिकाइ केन्द्र निर्माण गरिदिन अनुरोध गरेपनि सुनुवाई नभएको शाहले जनाए । ‘विद्यालय भवनमा पूर्णरूपमा क्षति भएको छ,’ उनले भने, ‘कतैबाट सहयोग नहुँदा विद्यार्थी पढाइबाट वञ्चित हुनुपरेको हो ।’

चिसो मौसमका कारण खुला चौरमा पठनपाठन सुरु गर्न सम्भव नहुँदा थप समस्या भएको छ । विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थी भूकम्पमा परेर ज्यान गुमाए । केही विद्याथी घाइते भएका छन् । विद्यालयमा पूर्वाधार अभाव र आवश्यक त्रिपाल पनि नहुँदा पठनपाठन सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक शाह बताउँछन् । ‘दिन चिसिँदै गएका बेला खुला चौरमा राखेर पढाइ सुरु गर्न सकिएको छैन,’ उनले भने, ‘समस्या नै समस्या छ, विद्यालयसँग पैसा छैन । सरकारले जतिसक्दो छिटो अस्थायी छाप्रा बनाएर पठनपाठनमा सघाउनुपर्छ ।’

 

विद्यालय खुले, आएनन् विद्यार्थी

जाजरकोटका कतिपय विद्यालय सञ्चालन हुन सकेका छैनन् भने कतिपय विद्यालय सञ्चालनमा आएपनि विद्यार्थी नै नआउने गरेको पाइएको छ । भेरी नगरपालिकाको वडा नं. १ मै रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालय सञ्चालन भइरहेको छ । भूकम्पले भवनहरू क्षतिग्रस्त बनाए पनि न्यूनतम् पूर्वाधार जुटाउँदै पठनपाठन सञ्चालन गरिएको हो । तर विद्यार्थीको ठूलो संख्या विद्यालय नै आउँदैनन् ।

हिजोआज आधाभन्दा कम मात्र विद्यार्थी मात्रै नियमित विद्यालय पुग्ने गरेका छन् । प्रधानाध्यापक प्रेमबहादुर पुनले विद्यालय सञ्चालन भएपनि आधा विद्यार्थी पढ्न नआएको बताएका छन् । ‘हाम्रो विद्यालयमा अध्ययनरत ४० प्रतिशत विद्यार्थी छिमेकी पालिका र छिमेकी जिल्लाका छन् । उनीहरू यहाँ कोठा भाडामा लिएर अध्ययन गर्थे,’ उनले भने, ‘भूकम्पले घरहरू भत्काएकाले अत्यन्तै न्यून विद्यार्थी मात्र विद्यालयमा आउने गरेका छन् दुई सय विद्यार्थी विद्यालय बाहिर छन् ।’

अनुकूल वातावरण नहुनु, पढाइप्रति ध्यान नजानु, धेरै बालबालिका विद्यालय क्षेत्रभन्दा टाढा रहनुजस्ता समस्याले उनीहरू विद्यालयमा नआएको बताइएको छ । भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले सिर्जना गरेको असहज परिस्थितिबीच बालबालिकाको पढाइलाई निरन्तरता दिइरहेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर पुनले बताए । विद्यार्थीलाई चौरमा टिनको छानामुनि म्याटमा बसेर पढ्नुपर्ने बाध्यता रहेको छ । ‘एउटा कक्षामा पढाउँदा अर्को कक्षामा प्रष्टै सुनिन्छ,’ प्रधानाध्यापक पुनले भने, ‘धेरैजसो बालबालिकामा भूकम्पका कारण साथी, परिवारजन, आफन्त गुमाउँदाको पीडा छ । त्यसैले विद्यार्थी संख्या न्यून छ ।’

 

साढे चार सय ५३ सिकाइ केन्द्र आवश्यक

विद्यालय भवनमा भूकम्पले क्षति पुर्‍याएपछि पठनपाठन सञ्चालन गर्न ठूलो संख्यामा अस्थायी सिकाइ केन्द्र निर्माण गर्नुपर्ने भएको छ । कतिपय विद्यालयमा अस्थायी सिकाइ केन्द्र स्थापना गरिसकेको भएपनि अझै साढे चार सय केन्द्र आवश्यक पर्ने देखिएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रमेशबहादुर मल्लले अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सुरु गरिएको बताए । ‘केही दिनअघि प्रधानाध्यापकसँगको बैठकमा अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन सुचारु गरिएको छ,’ उनले भने, ‘यसका लागि सामग्रीहरू आएका छन् । केही अस्थायी सिकाइ केन्द्र बन्दै छन् । अझै चार सय ५३ वटा सिकाइ केन्द्र अझै आवश्यक छ ।’

शिक्षा शाखा प्रमुख मल्लका अनुसार भेरी नगरपालिकामा ५१, छेडागाड नगरपालिकामा ५१, नलगाड नगरपालिकामा ५४, बारेकोटमा एक सय ४३, कुशे गाउँपालिकामा ९७, जुनिचादे गाउँपालिकामा ११ र शिवालय गाउँपालिकामा ४६ अस्थायी सिकाइ केन्द्र आवश्यक छ । ‘आंशिक क्षति पुगेका कक्षाकोठामा पनि विद्यार्थी राखेर पढाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘पहिले अस्थायी सिकाइ केन्द्र निर्माण गरेर मात्रै विद्यार्थी विद्यालयमा बोलाउँछौँ ।’ जाजरकोटकै केही पालिकामा भने अझै पठनपाठन सुरु भएको छैन ।

 

प्रकाशित मितिः   १९ मंसिर २०८०, मंगलवार ०५:०५