चिसोबाट जागाऊ
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरूको आवास बनेको छ त्रिपाल । बढ्दै गएको चिसो मौसममा त्रिपालको बास कष्टपूर्ण हुँदैछ । भूकम्पपीडितहरूलाई यतिबेला चिसोले सताएको छ । मानिसहरू बिरामी परिरहेका छन् । बिरामी मात्रै होइन चिसोकै कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्ला दिनहरूमा लगातारजसो पीडितहरूले ज्यान गुमाइरहेका छन् । पछिल्लो तीन दिनभित्रमा रूकुमपश्चिममा पनि तीन जनाले ज्यान गुमाएका छन् । दुई सातायता दैनिकजसो मृत्यु हुनेहरूको संख्या बढेको छ । चिसोका कारण बालबालिकालाई निमुनिया र सुत्केरीलाई ज्वरो, रुघाखोकी तथा वृद्धवृद्धालाई दमजस्ता रोग बढी देखिएको छ ।
गत कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । घरमा क्षति पुगेपछि त्रिपालमा बसिरहेका भूकम्प प्रभावितहरू दिनदिनै बढिरहेको चिसोका कारण थप समस्यामा परेका हुन् । समयमै अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको छ । अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनेको रकमसमेत पीडितहरूले पाउन सकेका छैनन् । कार्यविधि बनिसकेपनि रकम निकासा भइसकेको छैन । कार्तिक २६ गते नै आवास निर्माणको कार्यविधि पास गरेको सरकारले भूकम्पपीडितलाई दिनुपर्ने ५० हजार रकम वितरण गर्न सकिरहेको छैन । दुई किस्तामा वितरण हुने भनिएको उक्त रकमको पहिलो किस्ता पनि सबैले प्राप्त गर्न सकिरहेका छैनन् । जसका कारण भूकम्पपीडितहरू त्रिपालको भरमा गुजारा गरिरहेका छन् । तर त्रिपालले चिसो थेग्न नसकेको गुनासो उनीहरूको छ ।
कुनै पनि प्राकृतिक प्रकोपमा परेका नागरिकहरूको उद्दार, राहत तथा पुनस्र्थापनामा सधैँ ढिलाइ हुँदै आएको छ । विगतमा बाढीपीडितहरू पनि यस्तै समस्याबाट गुज्रिए । बाढीका कारण विस्थापित भएका सुर्खेतका थुप्रै नागरिक झण्डै एक दशकदेखि अस्थायी शिविरमै छन् । त्रिपालकै भरमा बसोबास गरिरहेका छन् । उनीहरूको व्यवस्थापन हुन सकिरहेको छैन । जाजरकोट र रुकुमपश्चिमका भूकम्पप्रभावितहरूको अवस्था पनि त्यस्तै नहोला भन्न सकिदैन । यदी राज्यले समयमै ध्यान दिएर व्यवस्थापन गर्न नसकेको खण्डमा समस्या झन जटिल बन्नेछ । त्यसैले तत्कालका लागि पीडितहरूलाई चिसोबाट जोगाउन अस्थायी भएपनि आवासको व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा उनीहरूको व्यवस्थित बसोबासको योजना बनाएर कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः १५ मंसिर २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।