‘ड्युटी’का प्रहरीलाई मोबाइल चलाउन रोक
सुर्खेत: कार्यक्षेत्रमा क्रियाशील भएको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाउने भएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न युनिटहरूमा कार्यरत नेपाल प्रहरीहरूलाई ‘ड्यूटी’का क्रममा मोबाईल फोन चलाउन प्रतिवन्ध लगाइएको हो ।
यो नियम कर्णाली प्रदेश कार्यालय र मातहतका प्रहरी कर्मचारीहरूमा पनि लागू गरिएको छ । आफ्नो ड्युटिमा रहेका प्रहरीहरूले उक्त समयमा मोबाइल चलाउन पाउने छैनन् । तर आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागू गरिएको छैन । ड्युटि टिममा रहेका कर्मचारीलाई जरूरी भएमा कमाण्डरको फोनमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रमुख (डिआईजी) भिमप्रसाद ढकालले जानकारी दिए । ‘सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत गरून भन्ने उदेश्य हो,’ ढकालले भने, ‘ड्युटिको समयमा आफ्नो जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी निगरानी हुन सकोस र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन यो व्यवस्था लागू गरेका छौँ ।’
ड्युटीको समयमा मोबाईल नचलाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने र सामाजिक सञ्जालको दुरूपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने कार्यालयले जनाएको छ । प्रहरी कर्मचारी स्वयमको पनि मोबाईल खर्च बचत र यो नियमले प्रहरीप्रति नागरिक विश्वास पनि बढ्ने अपेक्षा गरिएको ढकाल बताउँछन् । कार्यक्षेत्रमा रहँदा मोबाइल नचलाउन÷नबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तलिम केन्द्र, ईलाका, चौकिसम्म परिपत्र गरेको छ । नियमको पालना भए नभएको प्रभावकारी रूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था कार्यालयले मिलाएको छ । अटेरी गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्ने कार्यालयको भनाइ छ ।
प्रकाशित मितिः १५ मंसिर २०८०, शुक्रबार ०५:०१
साझा बिसौनी ।