चिसोले लग्दैछ भूकम्पपीडितको ज्यान

त्रिपालमूनिको बास कष्टकर, बिरामीको संख्या पनि बढ्दै

चिसो बढेसँगै भूकम्पले प्रभावित क्षेत्रका नागरिकहरू पालमुनि कष्टकर दैनिकी गुजारिरहेका छन् । समयमै अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको छ । अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनेको रकमसमेत पीडितहरूले पाउन सकेका छैनन् । कार्यविधि बनिसकेपनि रकम निकासा भइसकेको छैन ।

सुर्खेत: मंगलवार जाजरकोटको बारेकोट गाउँपालिका–७ सुवाकोटका ६५ वर्षीय हरियो दमाइको मृत्यु भयो । कार्तिक तेस्रो साता गएको भूकम्पले घरमा क्षति पु¥याएपछि उनी त्रिपालमा बस्दै आएका थिए । एक सातादेखि ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दै गर्दा मंगलवार उनको ज्यान गएको हो ।

मंगलवार नै भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको पनि मृत्यु भएको थियो । उनी सुत्केरी भएको करिब महिना हुन लागेको थियो । त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोका कारण मृत्यु भएको जनाइएको छ ।

जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडितहरूलाई यतिबेला चिसोले सताएको छ । पछिल्ला दिनहरूमा लगातारजसो पीडितहरूले ज्यान गुमाइरहेका छन् । पछिल्लो तीन दिनभित्रमा रूकुमपश्चिममा पनि तीन जनाले ज्यान गुमाएका छन् । आठविसकोट नगरपालिका–१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी, ६४ वर्षीय टिके जैसी र सोही नगरपालिका–११ डाँडागाउँका ७५ वर्षीय नौले पुनमगरको मृत्यु भएको हो ।

भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलवार साँझ ५ बजेतिर ज्यान गएको हो । दमका रोगी टिकेको आइतवार राति साढे ९ बजेतिर मृत्यु भएको थियो । यस्तै पेट र दमका बिरामी मगरको सोमवार राति ९ बजेतिर ज्यान गएको स्थानीय दिपक बाह्रघरेले जानकारी दिएका छन् । भूकम्पपछि उनी पनि परिवारसँगै पालमुनी बसिरहेका थिए ।

दिनदिनै बढिरहेको चिसोका कारण यतिबेला भूकम्प पीडित नागरिकको दैनिकी निकै कष्टकर भइरहेको छ । आठविसकोट १४ स्थित स्वास्थ्यचौकी प्रमुख देवबहादुर चन्दले चिसोका कारण बिरामी भएर स्वास्थ्य संस्था आउने सर्वसाधारणको संख्या दिनानुदिन बढिरहेको बताए । ‘महिला, बालबालिका, ज्येष्ठ नागरिकमा विभिन्न समस्या देखा परिरहेको छ,’ उनले भने, ‘महिलामा पनि गर्भवती तथा सुत्केरी र ज्येष्ठ नागरिकमा समस्या बढ्दो छ । साथै दिर्घरोगीहरूमा श्वासप्रश्वासको समस्या देखिएको छ ।’

दुई सातायता दैनिकजसो मृत्यु हुनेहरूको संख्या बढेको छ । अस्थायी टहरोहरूमा बसिरहेका भूकम्पपीडितहरू धमाधम बिरामी समेत पर्न थालेका छन् । चिसोका कारण बालबालिकालाई निमुनिया र सुत्केरीलाई ज्वरो, रुघाखोकी तथा वृद्धवृद्धालाई दमजस्ता रोग बढी देखिएको छ ।

चिसो बढेसँगै भूकम्पले प्रभावित क्षेत्रका नागरिकहरू पालमुनि कष्टकर दैनिकी गुजारिरहेका छन् । समयमै अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको छ । अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनेको रकमसमेत पीडितहरूले पाउन सकेका छैनन् । कार्यविधि बनिसकेपनि रकम निकासा भइसकेको छैन । कार्तिक २६ गते नै आवास निर्माणको कार्यविधि पास गरेको सरकारले भूकम्पपीडितलाई दिनुपर्ने ५० हजार रकम वितरण गर्न सकिरहेको छैन । दुई किस्तामा वितरण हुने भनिएको उक्त रकमको पहिलो किस्ता पनि सबैले प्राप्त गर्न सकिरहेका छैनन् । जसका कारण भूकम्पपीडितहरू त्रिपालको भरमा गुजारा गरिरहेका छन् । तर त्रिपालले चिसो थेग्न नसकेको गुनासो उनीहरूको छ ।

गत कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

प्रकाशित मितिः   १४ मंसिर २०८०, बिहीबार १०:११