समृद्धिसँग जोडिएको सडक

त्रिदेशीय नाका जोड्ने भेरी करिडोर निर्माणको काम भइरहेको छ । भेरी करिडोरको सडकले तिब्बतको मरिम्ला र भारतको रूपैडियाबीच सिधा सम्पर्क जोडिने छ । जाजरकोट, रूकुम र डोल्पाको भूगोललाई राष्ट्रिय राजमार्गको अवधारणाअनुरूप निर्माण कार्य अघि बढेको छ । सडक निर्माणले डोल्पामा उत्पादन हुने बहुमूल्य जडिबुटीले बजार र उचित मूल्य पाउने लक्ष्य राखिएको छ । रूकुमको चौरजहारी र जाजरकोट सदरमुकामलाई २०६५ मा सडक सञ्जालसँग जोडेसँगै जाजरकोट–डोल्पा सडक निर्माणको काम सुरू भएको थियो । सडक निर्माण थालिएको डेढ दशक पुगेको छ । सडकलाई तीन खण्डमा बाँडेर धमाधम काम अघि बढाइएको हो । कर्णाली प्रदेशलाई चीन र भारतीय नाकासँग जोड्ने सडक सञ्जालको रूपमा यो करिडोर अघि बढाइएको हो ।

करिडोर अन्तर्गत अहिले जाजरकोटको पासागाडदेखि रिम्नासम्मको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । उक्त खण्डमा ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । १५ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ भने एक किलोमिटर सडक मात्र कालोपत्रे हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७६÷०७७ बाट ठेक्का सम्झौता भइ काम सुरु भएको थियो । दिवा–यति विल्र्डस जेभीसँग करिब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि मुआब्जा विवादले काम रोकिएको छ । भेरी करिडोर अन्तर्गतको यो पहिलो खण्ड हो । उक्त खण्डमा हालसम्म २५ करोड बजेट खर्च भइसकेको छ । करिडोरको दोस्रो खण्ड रिम्नादेखि तल्लुबगरसम्मको ४० किलोमिटर सडकमा समेत काम धमाधम भइरहेको छ । यो खण्डमा आर्थिक वर्ष २०७७÷०७८ मा ठेक्का सम्झौता भइ काम सुरु भएको थियो । यस्तै आयोजनाको तेस्रो खण्डको रूपमा रहेको डोल्पा जिल्लाको सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको निर्माण कार्य पनि भइरहेको छ । यस सडकखण्ड निर्माणका लागि २०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । १३ करोड ४१ लाखमा ठेक्का सम्झौता गरिएकोमा अहिलेसम्म ९९ लाख बजेट मात्र खर्च भएको छ । २० किलोमिटर सडक चौडा गर्ने कार्यका लागि ठेक्का सम्झौता भएको हो । २०८२ चैत्रसम्ममा काम सम्पन्न गरिसक्नुपर्नेछ ।

करिडोरको समग्र भौतिक प्रगति २५ प्रतिशत भएको छ । हालसम्म वित्तीय प्रगति २० प्रतिशत भएको छ भने तीन खण्डमा छुट्टाछुट्टै रूपमा काम भइरहेका छन् । दुई खण्डमा कालोपत्रे र एक खण्डमा सडक चौडा गर्ने कार्य भइरहेको छ । भारतसँग सिमाना नजोडिएको कर्णाली प्रदेशको विकासका लागि यो सडक महत्वपूर्ण हुने आकलन गरिएको छ । यसलाई प्रदेशको समृद्धिसँग जोडेर हेर्ने गरिएको छ ।

प्रकाशित मितिः   ७ मंसिर २०८०, बिहीबार ०५:०३