विद्यार्थीलाई टेन्टमा राखेर पठनपाठन

सुर्खेत: भूकम्पले विद्यालयमा क्षति पु¥याएपछि टेन्टमा कक्षा सञ्चालन भइरहेका छन् । सल्यानको दार्मा गाउँपालिकाका नौ वटा विद्यालयका बालबालिका खुला चौर र टेन्टमा पढ्न बाध्य भएका हुन् ।

भूकम्पले क्षति पु¥याएको भवन तत्काल मर्मत तथा पुनर्निर्माणको सम्भावना नभएको र कक्षाकोठामा समेत बसेर पढन सक्ने अवस्था नभएपछि विद्यार्थी खुला चौर तथा टेन्टमा बसेर पढ्न बाध्य भएका हुन् । दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रोमु पाण्डेका अनुसार भूकम्पले पालिकाभरी एक हजार एक सय बस्नै नमिल्ने र एक हजार बढी आशिंक गरी दुई हजार बढी घर क्षति पु¥याएको थियो । पालिकाका विभिन्न स्थानमा रहेको २१ विद्यालयमा क्षति पुगेको थियो । नौ वटा कक्षा सञ्चालन गर्न नमिल्ने र १२ आशिंक क्षति भएका छन् ।

अहिले नौ विद्यालयका बालबालिका खुला चौर र टेन्टमा पढ्दै आएका छन् । दार्मा गाउँपालिका भरी ३४ विद्यालय छन् । जसमा ६ हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् भने दुई हजार पाँच सय बालबालिका प्रत्यक्ष प्रभावित भएका छन् । भूकम्पले भवन क्षति पु¥याएपछि अहिले पालिकाले विद्यालयमा ६ वटा टेन्ट निर्माण गरेको र त्यसमा बालविकास, कक्षा १, २ र ३ का २ सय विद्यार्थी पढ्दै आएका र कक्षा १२ का एक सय ५० विद्यार्थी खुला आकाशमुनि नै पढ्दै आएका जनज्योति मावि फारुलाका प्रधानाध्यापक मीनबहादुर ओलीले बताए ।

खुला आकाश र टेन्टमा फर्निचर राख्न नमिल्ने भएकाले म्याटमा बस्नु पर्दा जमिनबाट आउने चिसोले बालबालिका प्रभावित भएका उनले जानकारी गराए । ‘बालबालिकाको पठनपाठन प्रभावित नहोस भनेर वैकल्पिक रूपमा कक्षा सञ्चालन गरियो तर नाम मात्रको छ,’ उनले भने, ‘लेख्नका लागि बोर्डलगायतका सामग्री छैन, एकातिर पढाएको अर्कोतिर आवाज आउने भएकाले बालकालिकाको ध्यान पढाइमा खासै छैन । पढाउनु, नपढाउनु बराबर छ।’ बालविकासदेखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा एक हजार ६ सय विद्यार्थी रहेकामा एक हजार तीन विद्यार्थी चर्किएको भवनको कक्षाकोठामा बसेर पढ्दै आएका उनको भनाइ छ ।

नवचेतना प्रावि मूलपानीका प्रधानाध्यापक धनराज खडकाले कक्षा ५ सम्म सञ्चालित विद्यालयको एक भवन भूकम्पका कारण क्षति भएपछि अहिले ४ र ५ का ३० बढी विद्यार्थी खुला चौरमा बसालेर पढाइएको बताए । कक्षा ५ सम्म सञ्चालित विद्यालयको १, २ र ३ का सय बालबालिका भने चर्केको कक्षाकोठामा बसेर पढिरहेका उनले जानकारी गराए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीले भूकम्पपीडितको लागि भन्दै ५० थान घर आकारको टेन्ट आएको र वडा कार्यालय र स्वास्थ्यचौकीमा जडान गर्दा नौ विद्यालयमा ४० वटा मात्र जडान गर्न सकिएको बताए ।

प्रकाशित मितिः   ७ मंसिर २०८०, बिहीबार ०५:०१