कर्णालीका पहुँचमार्ग–३

मध्यपहाडी राजमार्ग निर्माण अन्तिम चरणमा

सुर्खेत: राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा धमाधम कालोपत्रे भइरहेको छ । सडक फराकिलो बनाउने, टेवा पर्खालसहित पुल निर्माण र कालोपत्रेको काम भइरहेको हो ।

कर्णाली प्रदेशभित्र पर्ने खण्डको काम अन्तिम चरणमा पुगेको मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखकी प्रमुख कुशलता न्यौपानेले जानकारी दिइन् । रूकुम (पूर्व), रूकुम (पश्चिम), जाजरकोट, दैलेख र अछाम जिल्लामा पर्ने सडकको स्तरान्नति तथा कालोपत्रे गर्नेसम्मका काम धमाधम भइरहेका छन् । राजमार्ग योजना कार्यालय दैलेखले रुकुम (पूर्व) जिल्लाको पातिहाल्नेदेखि रूकुम पश्चिम, जाजरकोट र दैलेख हुँदै अछामको चौखुटेसम्मको चार सय ४० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिरहेको छ । न्यौपानेले भनिन्, ‘धेरै खण्डमा कालोपत्रेको काम सकिएको छ । बाँकी रहेको खण्डमा समेत काम भइरहेको छ ।’

 

अहिले दैलेख, जाजरकोट खण्डमा कालोपत्रे लगायतका काम धमाधम चलिरहेका छन् । निर्धारित समयावधिभित्रै निर्माण कार्य सम्पन्न गर्नेगरी द्रुत गतिमा काम अघि बढाएको छ । कालोपत्रेसँगै लामो समयदेखि कच्ची सडकमा यात्रा गर्दा झेल्नु परेको असहजता स्थानीयहरूमा हटेको छ ।

राजमार्गका धेरै सडक कालोपत्रे भइसकेका छन् । चार सय ४० किलोमिटरमध्ये तीन सय ६५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अब ७५ किलोमिटर सडक मात्र कालोपत्रे हुन बाँकी छ । दैलेख खण्डमा ९० प्रतिशत काम सम्पन्न भएको छ । एक सय २५ किलोमिटर लामो दैलेख खण्डमा करिब एक सय पाँच किलोमिटर कालोपत्रेको काम सकिएको छ । काम अन्तिम चरणमा पुगेको कार्यालयका ईन्जिनियर अमित मण्डलले जानकारी दिए । उनका अनुसार यो खण्डमा तीन वटा मोटरेवल पुल निर्माण सम्पन्न भएका छन् । यो वर्ष नै दैलेख खण्डको काम सकिनेछ ।

यस्तै एक सय सात किलोमिटर अछाम खण्डको सबै कालोपत्रे सकिएको छ । अहिले अछाममा कचरौटे खोलामा पुलको काम भइरहेको छ भने केही पहिरोग्रस्त खण्डमा मर्मत कार्य चलिरहेको छ ।

त्यसैगरी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा ८३ किलोमिटरमध्ये करिब ६० किलोमिटर कालोपत्रेको काम सकिएको छ । बाँकी कालोपत्रे र अन्य काम पनि धमाधम भइरहेको जनाइएको छ । रूकुम (पश्चिम) मा ७० किलोमिटरसडक पूरै कालोपत्रे गरिसकिएको छ । पुराना पुल मर्मत र पहिरो पन्छाउने लगायतका काम भइरहेका छन् ।

रूकुम (पूर्व)मा ५५ किलोमिटरमध्ये करिब ३० किलोमिटर कालोपत्रे सकिएको छ । अहिले कालोपत्रे र अन्य काम भइरहेका छन् । ‘सबै योजनाको काम द्रुत गतिमा भइरहेको छ’ इन्जिनियर मण्डलले भने, ‘विशेष गरेर दैलेख र जाजरकोट खण्डमा काम अघि बढेको छ । अन्य खण्डमा पनि काम भइरहेको छ ।’

राजमार्ग योजना कार्यालय दैलेखले उपलब्धि (प्रगति) देखिने गरी काम गरिरहेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत केहि जिल्लामा विगतमा स्थानीयको विवादका कारण काम ढिलो हुँदा प्रगति देखिएको थिएन । पछिल्लो वर्षमा विवाद समाधान भएसँगै ठेक्का प्रक्रियाका काम अघि बढ्दै गएको योजना कार्यालयले जनाएको छ । जसले गर्दा अधिकांश ठाउँको काम अघि बढेको हुँदा योजनाको प्रगति देखिन थालेको हो ।

सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको छ । अहिले मध्यपहाडी राजमार्गको आधाभन्दा धेरै काम सकिएको छ । सरकारले स्वदेशी पुँजीमा पूर्वपश्चिम राजमार्गकै विकल्पमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी मुलुककै दोस्रो लाइनफाइनको रूपमा मध्यपहाडी राजमार्ग निर्माण अघि बढाएको हो । यो राजमार्गले पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म छुनेछ ।

प्रकाशित मितिः   ७ मंसिर २०८०, बिहीबार ०५:०५