बजारको नियमन

तिहार सुरु भइसकेको छ । तिहारको रौनकले गाउँदेखि सहरसम्म चहलपहल बढाएको छ । केही दिनयता बजारमा किनमेल गर्नेको भिडभाड बाक्लो छ । भर्खरै दसैँलाई बिदाइ गरेका उपभोक्ताहरू फेरि लक्ष्मीपूजा र भाइटीकाका दिनमा आवश्यक पर्ने सामान खरिद गर्न जुटेका छन् । गाउँघर फर्कने र किनमेल गर्नेको घुइँचोले तिहारको रौनकता बढाएको छ । तिहारमा प्रयोग हुने सामग्रीले बजारका पसलहरू झकिझकाउ देखिन्छन् । यो समयमा झिलिमिली बत्ति, माला, भाइमसला तथा दैनिक उपभोग्य वस्तुहरूको माग पनि अधिक हुन्छ । यसैबेला हरेक सामानको भाउसमेत बढ्ने गरेको छ । कारोबार बढी हुने चाडपर्वका बेला बजार भाउ पनि आकाशिने गरेको हो । यसपटक पनि उपभोक्ताहरू महँगीको मारमा परेका छन् । तिहारमा चाहिने अत्यावश्यक वस्तुको मूल्य हरेक वर्ष बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

कर्णाली प्रदेशकै ठूलो व्यापारिक केन्द्र वीरेन्द्रनगर बजारमा तिहारले चहलपहल थपिएको छ । प्रदेश राजधानीको बजार भएकाले पनि यहाँ किनमेल गर्नेको धेरै भिड लाग्छ । तिहारका लागि लत्ताकपडा, माला, मसला, दुनाटपरी, रंगोलीलगायत सामानले बजार भरिभराउ भएका छन् । वीरेन्द्रनगर बजारमा बाहिरी जिल्लाहरूबाट समेत ग्राहकहरू आउने गरेका छन् । तर नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ । सरकारका सम्बिन्धत निकायहरूले प्रभावकारी काम र अनुगमन गर्न नसक्दा दाल दैनिक उपभोग्य सामग्री अस्वाभाविक रूपले महँगिएको छ । चाडपर्वमा बजार भाउ ह्वातै बढ्दा निम्न वर्गीय परिवारलाई निकै समस्या हुने गरेको छ । दसैँको भन्दा तिहारमा दैनिक उपभोग्य सामानको मूल्य झनै बढेको उपभोक्ताहरूको गुनासो छ । हरेक सामानमा परनिर्भर हुँदा पनि बजार भाउ आकाशिएको हो । तिहारका लागि आवश्यक भाइमसला, दुनाटपरी र मालासमेत भारतबाट बिक्रीका लागि ल्याइने गरिएको छ । आफ्नै गाउँघरमा सजिलै उत्पादन गर्न सकिने यस्ता सामानहरू पनि भारतीय बजारमा निर्भर हुँदा चाडपर्व निकै महँगिएका हुन् । यसले गर्दा चाडबाडको मौलिकतासमेत हराउँदै गएको छ ।

चाडपर्वको समयमा हरेक वर्ष यसैगरी दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिन्छ । यसको प्रत्यक्ष मारमा पर्छन् आम उपभोक्ता । तर पनि सम्बन्धित निकायबाट प्रभावकारी रूपमा बजारको अनुगमन र नियमन हुँदैछ । बेलाबखत बजार अनुगमन हुने गरेपनि त्यसैले कुनै प्रभाव पारेको देखिँदैन । बजारको अनुगमन र नियमन गर्ने निकायहरूको गैरजिम्मेवारीपन् र हेलचक्य्राइँका कारण मूल्य वृद्धि भइरहन्छ । यसलाई समयमै नियमन गर्न जरुरी छ ।

प्रकाशित मितिः   २६ कार्तिक २०८०, आईतवार ०५:०३